प्रविधि मैत्री शिक्षातर्फ मोडिदै जालपा मावि जालपा

किकोस ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ स्थित जालपा माध्यामिक विद्यालय जालपा प्रविधि मैत्री शिक्षातर्फ मोडिएको छ । विद्यालयको शैक्षिक सुधारसँगै विद्यार्थीहरुलाई स्मार्ट शिक्षा दिन गतबर्षबाट बनाएको योजना यो वर्षबाट कार्यन्वयनमा ल्याउदै विद्यालय त्यता मोडिएको हो ।

गएको बर्ष वडाबाट प्राप्त सिमित बजेटबाट एकथान स्मार्टबोर्ड खरिद गरेर शुरु गरेको अभियानलाई यसबर्ष थप गर्न लागिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर राईले जानकारी दिनुभयो । विद्यालयलाई स्मार्ट बोर्ड खरिदकै लागि दिपावलीको अवसरमा काठमाडौँमा देउसी खेलिएको थियो । काठमाडौमा खेलिएको देउसी कार्यक्रममार्फत बोलकबोल गरेको रकम सहित करिब १० लाख रुपैयाँ संकलन भएको प्रअ राईले जानकारी दिनुभयो । उहाँको अनुसार हाल ९ लाख रुपैया जम्मा भईसकेको छ ।

यस्तै दिपावलीकै अवसरमा गाउँमै खेलिएको देउसी भैलोमा करिब ३ लाख ७५ हजार रुपैया रकम संकलन भएको छ । यस मध्ये विद्यालयका शिक्षक शिक्षिकाहरुको तर्फबाट मात्र १ लाख ११ हजार १ सय ११ रुपैया संकलन गरिएको विद्यालयले जनाएको छ ।

हाल एक पटकमा १९ वटा कक्षा एकसाथ संचालन भईरहेको विद्यालयमा ऐच्छिक विषयको समेत जोड्ने हो भने एक पिरियडमा २३ वटा कक्षा संचालन हुने गरेको छ । आधारभुत तहका मसिना बालबालिकाहरुका लागि स्मार्ट टिभि समेत जडान गरिसकेको विद्यालयले यसै बर्ष प्रत्येक कक्षा कोठमा सिसि टिभि जडान समेत गर्ने तयारी गरेको प्रअ राईले जानकारी दिनुभयो । सिसि टिभि जडान भईसकेपछि विद्यालयमा प्रधानध्यापकको समय आधा बचत हुने तथा शिक्षक तथा विद्यार्थीहरुलाई अनुशासित बनाउन सहयोग पुग्ने अपेक्षा रहेको उहाँले बताउनु भयो ।

यतिका तयारीका साथ शिक्षालाई प्रविधि मैत्रि बनाउँदै विद्यार्थीहरुलाई समेत विज्ञान र प्रविधिको प्रयोग गराउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न कोशिस गरिने विद्यालयको सोच रहेको पूर्व प्रअ तेजबहादुर राईले जानकारी दिनु भयो । प्रविधिमैत्री शिक्षा अपनाउन विभिन्न किसिमका सामग्रीहरु जोडजाम गरिरहेको बेला विद्यालयको सुविधा सम्पन्न भवन नहुँदा भने अफ्ठ्यारो भएको उहाँको भनाई छ ।

वर्तमान प्रअ दिलबहादुर राईले भने अहिले भएको १ थान स्मार्टबोर्डमा अब केही थान स्मार्टबोर्ड (लगभग ४ वटा जति हुन्छ होला– प्रअ) थपिने बताउनु हुन्छ । ‘ती स्मार्टबोर्ड राख्नका लागि समेत भवनको कक्षा कोठाहरु त्यति उपयुक्त छैनन् । नया भवनका लागि पहल गरिरहेको भएपनि सन्तोष जनक जवाफ पाईएको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार