कविता :- ‘म एउटा सडक’

– जानु काम्बाङ्ग लिम्बू

हल्लाहरू बिनाको शहर
कोलाहल बिनाको बस्ती
हिजो र अस्ति भन्दा फरक परिवेश बीच
म, आवाजविहीन एउटा सुनशान सडक
अनगिन्ती मृत्यु बोकेर
पर …….पर ……..दौडी रहेछु

मेरा ओरिपरिका निरस अनि नाङ्गो रुखहरू
मलामी बनेर
सोक धुन सुसेल्दै
हल्लाउछन् बिदाईका पातहरू

मैले ओढेको आकास
र टेकेको धर्ती चिच्याउँदै रुन्छन्
स्तप्ध छन् तारा जून

दृश्य उही छ, हेराई उही छ
खोला नाला र ताल तलैया सबै, सबै उस्तै छन्
मात्र मृत्युका छायाँहरू बढेकाछन् अचेल

लाग्छ !
मृत्यु आफै चिसो भैसकेको छ
ऊ मान्छेका ताता छाती टेकेर
आफैलाई तताउन चाहान्छ

जीवन र जगत फ़ेरिएपछि
चिस्सिएका मान्छेहरू
आफ्नो मलामी आफै बनेर गैरहेकाछन्
एक्लै पर.… पर….

मात्र थोपा थोपा आँसु झार्दै
श्रदान्जली अर्पण गरिरहेछन्
जिउँदाहरू बन्द कोठाबाट

उनीहरूको अघि
रोकिएकोछ समयको गति
अनौठो सोकधून बीच

म सडक,
अनिँदोछु सदियौं देखि
अनभिज्ञ छु ती लाखौं चित्कारहरूदेखि
जुन, सल्बलाउँछन् मेरो नजिक
चिसो पदचापहरूले
मेरो तातो छाती टेक्दै
म, भागिरहेछु पर… पर…

थाहा छैन, कहाँ जाँदैछु म
यो अनौठो सोकधून पछ्याउंदै
सन्तानले छुन नमिल्ने लास बोकेर

लाग्छ ! सारा युग उचालेर सारिरहेछु
एक ठाउँबाट अर्को ठाउँ

हिजो सारेको युग र आज सारेको युग
कुन चाँही तेज दौडी रहेछ ?
जपेर राम नाम सत्य हो …….

– ताप्लेजुङ्ग हाल युके

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार