भत्किन थाल्यो रेछाकुलेको प्रतिमा

किरात राई समुदाय ??

चौथो अंग
खोटाङ, १५ माघ । हलेसी तुवाचुङ नगरपालिकामा रहेको किरात राईहरुको ऐतिहासिक उदगम स्थल तुवाचुङ जायजुम डाँडामा रहेको रेछाकुले (खक्चिलिक्पु) को प्रतिमा कमजोर निर्माण सामग्रीका प्रयोगका कारण भत्किन थालेको छ । २०७४ सालमा लोकार्पण गरिएको किरात राईहरुको आदर्श पात्र रेछाकुले (खक्चिलिक्पु)को प्रतिमा राखेको भागहरु फुटेर विस्तारै झर्न थालेको हो । यस्तै परिचयका लागि राखिएको बोर्डहरु समेत बाँसको खम्बामा बाँधिएकोले मक्किएर भाँचिन थालेको पाईएको छ ।

शुरुमा संरचना तयार गर्दा नै ध्यान दिन नसक्दा प्रतिमा बसाएको भागको छेउबाट आफै उप्किन थालेको छ । देश विदेशबाट किरात राई समुदायका व्यक्तिहरुबाट आर्थिक संकलन गरेर निर्माण गरिएको संरचनाहरुको संरक्षण अभाव रहेको छ । किरात राई समुदायले आफ्नो सृष्टिका शुरुवात पछि मानव सभ्यताको विकासको पर्याय मान्ने गरेको तुवाचुङ जायजुममा रेछाकुले, तायामा खियामाको प्रतिमा राखिएको छ ।

तुवाचुङ जायजुममा प्राकृतिक रुपमै ढुँगाको तान लगाउने ठाउँ, तायामा खियामा विसाउने लगायतका ठाउँहरु रहेका छन् । यस अघि सामाजिक सञ्जालमा तुवाचुङ जायजुममा रहेको प्रतिमा तोडफोड भएको भन्ने आशयको सूचना सम्प्रेशण गरिएको भएपनि त्यो हल्लामात्र रहेको प्रमाणित भएको छ ।

सामाजिक सञ्जालमा फोटोहरु भाईरल हुन थालेपछि विभिन्न देशमा रहेका किराती समुदायको मनमा आक्रोश उब्जेको थियो । चर्चित सेलिब्रेटी कलाकार देखि राजनीतिक कर्मी, किरात समुदायका विभिन्न संघ सँस्थाहरुले उक्त फोटो सार्वजनीक भएपछि उक्त घटनाको बारेमा गम्भिर चासोका साथ लिएका थिए ।

दुईदिन अगाडि मंगलबार सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि सबैतिर चासोको विषय बनेको थियो । माघ १४ गते बुधबार नै हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई, हलेसी विकास समितिका अध्यक्ष टंक राई लगायतको टोलीले सो क्षेत्रको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा मानव उपद्रो भएको नदेखिएको आंकलन गरिएको छ । संरचना निर्माण गर्दा ध्यान दिन नसकिएको साथै सुरक्षाको दृष्टिले भने जोखिमनै रहेको टोलीको निश्कर्ष रहेको थियो । यसको संरक्षण गर्नकालागि ध्यान दिन जरुरी रहेको र घेराबार लगाउन पर्ने साथै एकजना हेरालु राख्ने व्यवस्था गर्न सकेमा राम्रो हुने सबैको तर्क थियो ।

किरात राई समुदायले चन्दा संकलन गरेर त्यस क्षेत्रको जग्गा किन्ने तथा प्रतिमाहरु स्थापना गर्ने काम गरेको थियो । हाल तुवाचुङ जायजुम संरक्षण समिति नामको संस्था रहेको भएपनि संरक्षणको भुमिका प्रभावकारी नभएको गुनासो किरात राई यायोक्खा जिल्ला सचिव युक्सन राईले सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार