कथा कालापानीको

भुपेन्द्र सरकार की जय भन्ने रेला गर्दा दमन राईले हैट

भिम राई
कालापानी नेपालको चर्चित सिमा क्षेत्र । जसको नाम सुन्दामात्र देशभक्तिको मन्त्रणा उच्चारण गरे जस्तै लाग्छ । एक दिन पत्रकार महासंघ खोटाङका सचिव उत्तम चौलागाईले फोन गरेर भने, ‘दाई नमस्कार कालापानीबाट निम्ता आको छ ।’ हो न हो भर्खरै बिहे गरेको ठिटोले राम्रै रेला ग¥यो मसँग भन्ने लागी हाल्यो । मैले झटपट भने, ‘के रे भाई ?’ उनले फेरी भने ‘होईन दाई कालापानीमा एउटा खानेपानी लिफ्टीङको उदघाटनको निम्ता आको छ । एउटा गाडी रिर्जभ गरेर जानु पर्ने भयो । सके सम्म जिल्लाका सबै पत्रकारहरुलाई लिएर आउनु भन्या छन् । तँपाईको अभिभावकत्वमा जाउँ न भनेर फोन गरेको ।’

‘म त छक्क छु त उत्तम जी ! कसरी कालापानी पुगेर रिर्पोटिङ गरेर आउने ?’ मैले सोधेँ । ‘यो त कुरा गज्जब नै हो । तर रिपोर्टिङकै लागि कालापानी पुगि आउने बन्दो वस्ती चाँही कसरी गर्ने नि ?’ मेरो प्रश्नको उत्तरमा उनि भन्छन् , ‘ यो सब दिप्रुङ चुईचुम्माका पालिका अध्यक्षले मेसो मिलाउने कुरो छ । उनकै प्रस्तावमा हामी जाने हो ।’ बल्ल कुरा बुझियो । कालापानी जाने भनेको त । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका वडा नं ९ लिच्किराम्चेको कालापानी पो जानु पर्ने रहेछ । जहाँ सुनकोशी नदिको पानी काकाकुल कालापानीका समुदायलाई वितरण गर्ने योजनाको उद्घाटन कार्यक्रम रहेछ ।

रमाईलो संवाद पछि कालापानी गईने भो । जिल्लाको १० जना पत्रकारको टोली लिएर दिक्तेलबाट विहानै एउटा जिपमा यात्रा शुरु । मोटाघाटा र दुब्ला पाताला, अग्ला होचा र मात्ने छाद्ने । सबैको समुह हिँडेपछि विचमा नानाथरीको बहसहरु । जिप चालक सुनील । रफ्तारमा गाडी नुनथलामा चिया खान नपाउँदाको झोँक । बुईपाको पञ्चर दोबोटोमा थुक्पा र अण्डा । सुर्य तामाङको थपाई । मनग्गे रमाईलो भयो ।
गाडी हरर दौडिरहेको छ । सार्थी भेज र ननभेज गफमा व्यस्त छन् । छोरी चेलीहरु नहिँडेको गाडीमा साथीहरु यसको फाईदा उठाउँदैछन् । दोडिदै गरेको गाडि भंडारेघाटमा रोकिन्छ है । उत्तम आदेश ठोक्छन् । किन ? प्रश्नको उत्तर भंडारेघाट पुगेपछि पाईयो । त्याहाँ दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र नेपाली कांग्रेसका यूवा नेता अमृत गिरि हामीलाई कुरी रहेका रहेछन् ।

पालिका अधयक्षको गाडि देखेपछि गाडि भित्र भुपेन्द्र सरकार की जय भन्ने रेला गर्दा दमन राईले हैट । भनेर हाँस्छन् । गाडि रोकिन्छ । अध्यक्ष र अमृत जी सँग भलाकुसारी चल्छ । यस्तैमा एक भाँडा कपडा धुने आरीमा उसिनेको अण्डा आउँछ । सबैले अनिवार्य १ दाना उठाउनै प¥यो । तर सक्नेले ४ दाना सम्म तोडेको पनि हेरियो । त्यँही रोलकाल गर्छन उत्तम खाना रसुवामा हुने छ ।

पालिकाको गाडिमा खाली सिट छ भन्ने सुईको पाएका दमन र केदार स्कार्पियोमा हतार हतार छिरेर सिट कब्जा गर्छन । अरु सबै उहि जिपमा । स्कार्पियो अगाडि लाग्छ । जिप पछ्याउँछ । रसुवामा हामी भन्दा निकै अगाडि पुगेका साथीहरु खाना खानेठाउँमा हात पखालेर बसि सकेका छन् । भोक त सबैलाई उस्तै लाग्दो हो । तर होटलमा बस्ने ठाउँ छैन । नेताहरुसँग गफ गाफ हुने नै भयो । रसुवाघाट कालापानी लिफ्टीङ खानेपानी आयोजनाका अध्यक्ष कर्णबहादुर राउत ताउर माउर गरिरहेका छन् । उनले सबै सँग भलाकुसारी नि गर्दै छन् ।

पहिले रसुवाघाट पुल पारीपट्टी (उदयपुर तर्फ) मात्र बजार जस्तो बसेको थियो । तर अहिले फोक्सिङटारबाट गाडी तर्ने भएपछि पारीको बजार वारी सरेछ । घरहरु आरसिसि पनि बेछन् । सानो बजारबाट चोईटिएको कान्छी बजार जस्तो ।

खाना खानेहरुको हुल राम्रै भईएछ । खाना खाने हतारोले ३ चोटी हात धोएपनि खाने पालो नपर्नेहरुपनि त्यही थिए । खाना किन ढिलो भन्ने जिज्ञासा हुने नै भयो । होटल की साहुनीले पोल खोलिन् । ‘१५ जनालाई खानाको अडर दिएको हो । २० जनाले खाई सक्नु भो । त्यसैले पकाउनु पर्ने भो ।’ मन मनै हैट व्यवस्थापन भन्ने झोँक नचलेको त कहाँ हो र ? भनि हाल्न मन लागेन । तर उत्तमले अध्यक्ष कर्ण बहादुर राउतलाई झण्डै हप्काएको शैलिमा ‘के हो यस्तो’ भन्न भ्याए ।

बाटामा रसुवामा माछा खाने गफ थियो । त्यहाँ गएपछि माछा सुँघ्न सम्म उत्तम र मैले भ्यायौँ । अरुले कुखुराको ३ पिसमा चित्त बुझाएछन् । जो अगाडि भान्सा बसेका थिए । हामी पछि बसेकाले भने कुखुरा सुँघ्न पाएनन् ।

यसो यसै ढिला हुन लागेको थियो । हामी जुन कामका लागि गएका थियौँ । त्यसको शुरुवात त्यही नजिकै थियो तर सुनकोशीबाट १८०० मिटरमाथीको उचाईमा थियो गाउँ । हामीले लिफ्टिङ गरिएको ठाउँमा जाने भयौँ । गईयो । हेरियो । जमिनको सतहबाट पायक झण्डै ६८ मिटर तल गाडिएको रहेछ । यसबाट पानी पहिलो पटक तानेर अलिमाथी जंगलमा भएको १० हजार लिटरको ट्यांकमा रिजर्भ गरिदो रहेछ । त्यसपछि त्यो पानीलाई मोटरको सहयोगमा फेरी अर्को १० हजार लिटरको ट्यांकीमा फालिदो रहेछ । यसपछि मात्र बल्ल कालापानी पुग्दो रहेछ पानी ।

कालापानी गाउँको सिरानमा फाँटिलो जग्गामा ३५ हजार लिटर क्षमताको ट्याँकीमा पानी जम्मा भएपछि बल्ल त्यहँबाट वितरण हुने व्यवस्था रहेछ । त्यहाँ पानीको अभावको कथा निकै दर्दनाक सुनिएको थियो । ‘नानीको पेवा पानी’ शिर्षकमा कथा हाल्नेहरु थिए ।
सुनकोशीको पानीको मुहान हेरी सकेपछि टोली लाग्यो उकालो । अलि अलि गर्मि भएको महसुस भएपछि एकजना साथीको मोटरबाईकमा आफु बसेर साथीहरुलाई गाडि छाडेको कालापानी पुगेपछि पो थाहा भो पहाडको उकालोमा कच्चि सडकको धुलो । ज्याकेटको विजोग ।

कथा कालापानीको – २
कालापानी नाम नै काफी रहेछ । बस्तिहरु हेर्दा निकै लोभ लाग्दो ठाउँ । खोलाबाट उकालो लाग्दा जे सोचेको थियौँ त्यहा पुगेपछि त्यस्तो हैन रहेछ । खोटाङको लिच्किराम्चे भन्ने ठाउँ यातायातको सुविधा नहुने पनि साँच्चै नेपालको कालापानी सिमाना क्षेत्र जस्तै सदरमुकामबाट पुग्न निकै सास्ती हुने रहेछ । छिमेकी मुलुक भारत सँग महाकाली नदिले सिमाना छुट्ट्याए जस्तै सुनकोशी नदिले उदयपुरसँग छुट्ट्याउँदो रहेछ खोटाङलाई ।

हामी मध्ये बाईकमा चढ्ने भएकाले म हाम्रो पत्रकार टोलिहरुमध्ये सबै भन्दा अगाडि पुग्ने मैले शुरुमै त्यहाँ कोही चिनेका अनुहार छन कि भनेर खोँजे । यो भन्दा अगाडि पनि दुई तीन पटक लिच्किराम्चे मावि आसपास पुगेको थिएँ । त्यस भन्दा पारीको गाउँ मावेमा गएको छु । त्याहाको तत्कालिन एसडिसिको कार्यक्रम अन्तरगत जनसेवा समाज नेपाल जालपाको सामाजि परिचालक बहिनिको (नाम विर्से) घरमा बसेको छु । कालापानी भन्दा ठिक माथीको गाउँमा रमेश गाउँले (रमेश राई हाल अमेरीका छन्) उनको घरमा बास बसेको याद आयो । उहाँको बाबासँग कुरा गरेको आमाले खाना दिएको सम्झनु बाहेक केहीगर्न सकिन । आँखा डुलाउँदै जाँदा बल्ल एकजना वृद्दामा आँखा रोकियो । नजिकै उभिएका एक मित्रलाई सोँधे उनि कुलाबा होईनन् ? उनले हो भन्ने संकेत दिए ।

म नजिकै गएर भने सर नमस्कार !
उनले राम्ररी ठम्याउँदै बोले राम्ररी चिन्न मुस्किल भो ! मैले सहज बनाउँदै म भिम राई, पहिले हाम्रो भेट हजुरकै घरमा भएको थियो । हजुरले लेखेको कविता सुनेर गएको थिँए । उहाँले बल्ल चिने र मेरो काँधमा प्याट्ट हिर्काउँदै भने, हैट सर मैले त भुसुक्क विर्से छु । नभेटेको थुप्रो भयो । अब त बुढोपनि निकै भईयो । ८० उकालो लागेका कुलाबा अर्थात कुलप्रसाद घिमिरेले भने । केही छिन भलाकुसारी गर्दै गर्दा बल्ला रसुवाघाटमा छाडेको गाडिवाला टोली आईपुग्यो ।

कोदोबारी , नजिकै रसुवाघाट कालापानी लिफ्टीङ खानेपानी आयोजनाको ट्याङ्की, पालले ढाकेर बनाईएको सानो सानो मञ्च, पछाडि मकैको थाङ्ग्रा । उतापटी पोख्रेल बाजेको घर । यस्तै थियो कार्यक्रम स्थल । गाडिमा त्यस गाउँको खानेपानीको दाता अर्थात योजनाकार दिप्रुङ चुईचम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई पुगेपछि सबैसँग भेटघाट र भलाकुसारी चल्यो । उनलाई त्यहाँ भगवान नै मान्दा रहेछन् । हामीलाई पानी दिने भगवान भनेर गाउँलेले खासखुस कुरा गर्न थाले । कार्यक्रम शुरु भयो ।

कार्यक्रम शुरुवातमा संचालक भाईले अलि अतालिएर गज्याङ गुजुङ जस्तो भएपनि पछि काईदाले कार्यक्रम चलाए । त्यहाँ सम्बन्धित गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष पनि आउलान लागेको थियो । तर उनिहरु आएनन् । सम्बन्धित वडाका वडाध्याक्ष र छिमेकी वडाका वडाध्याक्षमात्र उपस्थित थिए । हाम्रो पत्रकार टोलिका टिभि रिर्पोटर साथीहरु क्यामेरो ट्राईपोर्ड ठड्याएर लाईन लाग्या छन् । नेपाल टेलिभिजनका रामधन राई, कान्तिपुर टिभिका उत्तम चौलागाई, अन्नपूर्ण टिभिका चिसाङ शेर्पा, माउन्टेन टिभिका सिताराम राई संजिव सबैले आफ्नो हतियार तेर्साएर रमित लाग्दो बनाए । खोटाङ खबरका दिलिप खत्री राससका केदार मगर, इमेज टिभिका दिवस रिजाल हातमा क्यामेरा राखेर खिच्न थाले ।

क्यामेरा हुनेहरु लाईनमा हामीसँगै गएका पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई अथिति भएर मञ्चमा बसेपछि मोवायलले काम चलाउने मित्र सुर्य तामाङ र म भने छेउ छाउमा उभिएर भाषण सुन्ने र नोट गर्नेमा सिमित भएर बसेका रहेछौँ । पाहुनको आसन ग्रहण हुँदै जाँदा पो अलि अलि लाग्न थाल्यो त्यहाँ त सबै कांग्रेसका कार्यकर्ता र नेताहरु मात्र आएका रहेछन् । कांग्रेसमा पनि यसो नियाली हेर्दा देखियो सबै भुपेन्द्र कांग्रेस मात्र छन् । अनि कुरा बुझियो । भुपेन्द्र राईको संगठनमा राम्रै पहुँच रहेछ । उनी स्वयम नेपाली कांग्रेसको खोटाङ भव्य युवा नेता हुन् । उनि सँगै गएका थिए अर्का युवा नेता अमृत गिरि । उनले भाषणमा राम्रै प्रगती गरेका रहेछन् । स्पष्ट वक्ताका रुपमा उनको भाषण सुनियो ।

प्राय सबै कार्यक्रममा प्रमुख अथिति पछि नै बोल्ने हो । यो कार्यक्रममा परम्परा तोडिएन । कार्यक्रममा स्वागत भाषण, पानीको औपचारिक उद्घाटन, मनत्व्यहरु हुँदै भुपेन्द्र राईलाई सम्मान जस्ता कार्यक्रमहरु निकै लामो हुने नै भयो । यस विचमा टिभि जर्नालिष्टहरु आफ्नो अनुकुल भक्स पप बटुल्न लागे ।

कालापानीमा सुनकोशिको पानीको फोहोरा छाडियो । तिन ठाउँ जम्मा भएर आएको पानी हो है यो भन्दै थिए उपभोक्ता समितिका अध्यक्ष कर्ण राउत । उनलाई पत्रकार साथीहरुले प्रश्नहरु सोधे (उनले दिएको उत्तर प्रशारण भईसकेको छ) ।

अन्तिममा बोले प्रमुख अथिती युवा नेता भुपेन्द्र राई । उनले भाषणमा राजनीतिक कुरा केही भनेनन् । उनले विकासको बारेमा प्रशिक्षणको शैलिले बोले । लोभ लाग्दो तरिकाले बोल्न सक्ने युवा नेता रहेछन् भन्ने मलाई लाग्यो । उनले आफ्नो पार्टीले गरेको भनेर पनि भनेनन् । ‘विकास पहिलो सर्त हो । कुन पार्टीको को नेतालाई भोट दिने भन्ने कुरा पछिको कुरा हो ।’ उनले भने, ‘पहलिो कुरा बाँच्नु पर्छ अनिमात्र राजनीति गर्न सकिन्छ हो ।’ उनको वैचारिक तर्क थियो । नेताका छोराछोरीहरु किन शहर जानु पर्ने ? भन्दै विकास र सुविधा खोज्न नेताहरुले आफ्ना छोराछोरी शहर राख्ने गरेको बताए । उनले विकाससँग जोडिएर मात्र राजनीति गर्नुपर्ने बताउँदै खानेपानी पाउनु नागरिकहरुको नैसर्गीक अधिकार भएको बताए ।

उनले विजुलीको मद्यतबाट पानी तान्नु पर्ने र सो विजुलीको विल तिर्न स्थानीय उपभोक्ताहरुलाई समस्या भईरहेको गुनासो आएको भन्दै चाँडै पानी तान्न सोलार सिस्टम वा वैकल्पि उर्जाको व्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता समेत जाहेर ग।े । उनले आफुलाई लगाईदिएको मालाको थुप्रोतिर देखाउँदै ‘जुन माला मलाइ आज गलामा लाईदिनु भएको छ । मलाई डर लागिरहेको छ । यसको बोझ म थाम्न सकुँला कि नसकुँला ।’ यस्तै उनले चुनावको बेलामात्र राजनीतिको कुरा गरिने अरुबेला राजनीति गर्नु भनेको भाँडनीतिमात्र हुने बताउँदै आफ्नो भाषण सकाए ।

सबै पत्रकारहरुले आफ्नो झोलि तुम्बा मिलाउन थाले । त्यहाँ आएका मान्छेहरु विस्तारै सल्बलाउँदै बाटो लाग्न थाले । प्रमुख अथिति भलाकुसारी र स्थानीय यूवाहरुसँग सेल्फि खिच्दै थिए । टोलि कमाण्डर उत्तमले भने अब ढिलो हुन्छ लागौँ । दिक्तेल पुग्नै छ । बाटामा खाउँला खाजा साझा ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार