हिमाल आरोहण गरी फर्केका राजकुमारलाई एनएमएद्वारा सम्मान तथा बधाई

नेपाल पर्वतारोहण संघ (एनएमए)ले बहराइनका राजकुमार शेख नसिर विन हमाद अल खालिफालाइ सम्मान तथा बधाई दिएको छ । राजकुमार र उहाँको दलले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका थिए ।

संघका अध्यक्ष शन्तवीर लामा र महासचिव कुलबहादुर गुरुङको नेतृत्वको टोलीले राजकुमार र उनको दललाई सम्मान गरेको हो । यो दलले मनास्लु आरोहण गर्नु अघि लोबुचेको आरोहण गरेका थिए ।

काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित कार्यक्रममा राजकुमार खलिफाले लोबुचे र मनास्लु आरोहणलाई सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिनुभयो । उहाँले आफू विश्वकै सर्वाेञ्च शिखर सगरमाथाको आरोहणका लागि फेरि नेपाल आउने पनि बताउनुभयो ।

 

यस्तै, उहाँले अरब राष्ट्रका इच्छुक आरोहीहरुलाई नेपाल ल्याउन आफूले पहल गर्ने बताउनुभयो । ‘म फेरि आरोहण लागि नेपाल आउन इच्छुक छुँ । सगरमाथाको आरोहण गर्ने मन छ’, राजकुमार शेखले भन्नुभयो, ‘त्यसका लागि फेरि नेपाल आउने छुँ । अरबका इच्छुक आरोहीहरुलाई नेपाल ल्याउन पनि मेरो पहल हुने छ ।’

 

राजकुमार शेख र उनको दललाई सरकारी निकाय नेपाल पर्यटन विभागले पनि स्वागत गरेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको यो संकटको समयमा पनि आरोहणका लागि नेपाल आएका राजकुमार शेख आवश्यक प्रकृयाका लागि आफै पर्यटन विभाग पुगेका थिए ।

सोही अवसरमा राजकुमार खलिफालाई पर्यटन विभागका महानिर्देशक रुद्रसिं तामाङ र पर्वतारोहण शाखाकी प्रमुख मिरा आचार्य ले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार