मलेशियामा हृदयघात (हर्टअट्याक) भएका कृष्णले पाए उपचारखर्च

खोटाङ । वैदेशिक रोजगारका लागि मलेशीया पुुगेका कृष्ण कुमार विश्वकर्मालाई एक्कासी हृदयघात (हर्टअट्याक) हुन्छ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका वडा नम्बर ७ मा बस्ने विश्वकर्माको हृदयघात (हर्टअट्याक) पछि भविष्य त अन्धकार हुने नै भयो । आफ्नै घरको गर्जो टार्न तथा आफ्नो भविष्यलाई सुन्दर बनाउने सपनामा तुुषारापात मात्र होईन उनको मुटुुको दुुइवटै भल्भ फेर्नुपर्ने अर्को जटिल समस्यामा आएपछि विश्वकर्माको परिवार चिन्तित् हुने नै भए ।

२०७९ सालको फागुन २ गते वैदेशिक रोजगारको शिलसिलामा मलेशिया उडेको उनि टिएमआईएडको फोरजिन एसडिएन विएचडी (TMID 4GIN Sdn.Bhd) मा काम गर्दै आएका थिए । काम गर्ने शिलसिलामै उनको २०८० साल असोज १० गतेका दिन एक्कासी हर्टअट्याक हुनु पुुग्यो । यसपछि उनको बालबच्चा, घरपरिवारलाई सुख दिने सपनामा ठेस लाग्न पुग्यो । मलेशियामा नै हरसम्भव हुन सक्ने उपचारको विधिहरु खोजियो सम्भव रहेन । यसपछि उनलाई २०८० को कातिक ३० गते नेपाल ल्याईयो ।

नेपालमा ल्याउन साथ गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचार गराउन थालियो । दुईवटै मुटुको भल्भमा समस्या भएका उनको उपचारमा खर्चको अभाव थियो । त्यही समयमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्र्तगतको आप्रवासी श्रोत केन्द्र खोटाङ बजारमा यस सम्बन्धि गुनासो आयो । गुनासो लिएर आएका उनको परिवारसँग उनको सम्पुर्ण विवरण सहित निवेदन समेत आप्रवासन केन्द्रले माग्यो ।

प्राप्त बिरामीको आवश्यक सम्पुर्ण कागजपत्र सहित केन्द्रले आवश्यक प्रक्रिया अगाडि बढाउँदै नेपाल सरकारको वैदेशिक रोजगार बोर्डमा पठायो । वैदेशिक रोजगार बोर्डमा आवश्यक कागजात सहितका सम्पुर्ण प्रमाणहरु पुरा गरेपछि बिरामी कृष्ण कुमार विश्वकर्माले १ लाख ७५ हजार रुपैयाँ उपचार खर्च प्राप्त गर्न सफल भएका छन् ।
‘सुरक्षित रुपमा सम्पुर्ण प्रकृया पुरा गरेर वैदेशिक रोजगारमा गएकै कारण बिरामी विश्वकर्माले उपचार खर्च पाउन सम्भव भएको हो ।’ सुरक्षीत आप्रवासन श्रोत केन्द्र खोटाङका युवराज कालिकोटेले सुनाए । ‘हामीले त पहल गरेको हो । उहाँको सबै कागजात र प्रमाणहरु कानुुनि प्रवाधान पुग्ने भएकाले उपचार खर्च पाउनु भयो ।’

उता कृष्णले भने आप्रवासनका कर्मचारी तथा आप्रवासन परिवारलाई धन्यवाद दिएका छन् । उनले हालपनि पुर्णरुपमा स्वस्थ नभएपनि अब बाँच्ने आशा पलाएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार