संस्मरण : त्रिकोणात्मक विवादसँगै सालपा सिलिचुुङको यात्रा


– रविन खम्बु

तीन दिन देखि निरन्तर बिग्रेको मौसमको कारण हामी चिन्तित थियौँ । राती बेला बेला उठेर मौसम खुल्छ कि खुल्दैन ? भनेर चियो गर्दै हेरिरहेका थियौँ । बिहानको ३ बजे नै उठेर हेर्दा मौसमले साथ दिएको रहेछ । हामी प्रफुल्ल हुँदै ज¥याक जुुरुक्क उठ्यौँ । यो २०७९ सालको असोज महिनाको २० गतेको दिन थियो ।
गाउँघरमा दँशै लागेर झकिझकाउ थियो हामी तीन प्राणी भने यात्रामा निस्केका थियौँ । साल्पा सिलिचुुङ हाम्रो गन्तव्य थियो । म फनिन्द्र राई र प्रदिप राई हाम्रो त्रिकोणात्मक सल्लाह अनुसार हिडेका थियौँ हामी ।
हेर्दा मौसम त्यतिको खुलेकै हो भन्ने ठानेर गोठस्टेमा भएको तातोपानी पिएर हिँड्ने तरखरमा लाग्यौँ । साथमा केही हल्का खानेकुराहरु बोकेर हतार हतार गर्दै सिलिचुङ चढ्न टोलि अगाडि बढ्यो ।


तीन जनाबिच यात्रामा प्राय तृकोणात्मक संवाद र विवादहरु भई रहने गजबको यात्रा थियो । मन नमिलेर त्यसो भएको भने हुँदै होइन । मन धेरै मिलेपछि पनि यस्तो भईरहन्छ । जो हामीमा भई रहन्थ्यो । त्यसले हाम्रो यात्रा अझ रोचक र स्मरणीय बनाउने नै भयो । अघिल्ला दिन जस्तै त्यो विहान पनि केही विवाद भयो । केही अगाडि पुगेपछि प्रदिप जी निकै ठुस्किनु भो । उहाँ त बिच बाटोबाटै झण्डै फर्किनै आँटी हाल्नु भो त । म र फनिन्द्रजी दुवैले प्रदिपजीलाई फकाउनु पर्ने अवस्था आयो । जसो तसो गरेर फकाएर कर गरेर सिलिचुुङको यात्रा अगाडि बढाईयो ।


यो भन्दा अघिल्लो दिन हामीले सिलिचुुङ जाने बाटो विराएका थियौँ । यसरी नभेटिएको सिलिचुङ जाने बाटो र नदेखिएको सिलिचुङ जसरी पनि भेट्नु र चढ्नु नै थियोे । साल्पा पोखरी बाट करिब २० मिनेट करैचे बाटो हिडेपछि हलचल नभै उभिएको एउटा कालो पहाड तिर चढ्न सुरु गरियो । केही माथि पुगेपछि धेरै टाढा टाढा झिल्ली मिल्ली झुप्रुक बत्ती बलेको बजार जस्तो हेर्दा रमाइलो लाग्ने गाउँहरु देखिन्थ्यो ।
विस्तारै, विस्तारै अन्धकारमय समय उज्यालोमा विलय हुँदै गयो । जति धेरै विहानीको किरण उज्यालोमा परिणत हुँदै गयो । त्यति नै धेरै सुन्दर हिमाल, पहाड हरियाली घना जंगल, सफा आकाशको सुन्दरता छाताछुल्ल पोखिदै गए ।
हाम्रो मनहरु त्यो सुन्दरतामा हिमालको सेताम्मे हिउँहरुमा लुटुपुट गर्दै छ जस्तै हुन्थ्यो । चहकिलो बादल संगै हाम्रो खुशीहरु उड्दै छ जस्तो हुन्थ्यो । सुनसान हरियाली बनजंगल भित्र थरी थरिका चराचुरुङ्गीको आवाज भित्रै हराए जस्तो हुन्थ्यो । त्यस्तो उकालो र अफ्ट्यारो बाटो पनि सहज लागि रहेको थियो हामीलाई । पहाडै ,पहाडले खप्टिएको कयौं डाँडाहरु पार गरि सकेको थियौँ । एउटा अग्लो डाडाँ आउथ्यो त्यहीँ होला सिलिचुङ जस्तो लागेर पुगे झँै हुन्थ्यो । जब त्यहाँ नजिक पुगेपछि अर्कै आग्लो डाँडा देखिन्थ्यो । धेरै वटा डाँडाहरु पार गरेपछि बल्ल देखियो सिलिचुङ ।
जब बिहानीको उज्यालो संगै माथि देखिएको पहाड अर्थात सिलिचुङ देखियो सुर्यको चहकिलो किरणहरुले सिलिचुङ्लाई चुमी नै हाल्यो । हिडिरहेको हाम्रो पाइलाहरु एक्कासि रोक्कियो । रोक्कीयो बादल संग उडिरहेको मनहरु । सबैभन्दा धेरै त हाम्रो रहरहरु रोकीयो जो सिलिचुङ पुगेर सुर्यदय हेर्नु थियो । तर परपर धेरै पर आखाँले नभ्याउने हरियाली बनजंल, पाखा पहराहरु सेताम्ये हिमशृखलाहरु, हामी भन्दा धेरै तल देखिने बादलहरुले हामी आनन्दी थियौँ ।
हामी त्यो सुन्दर दृश्यहरुमा हराएको थियौँ । प्रदिप जी म अघि फर्किएको भए यस्तो दृश्यहरु बाट छुट्थे रहेछु धन्न छुटिन भनेर खुशी बाटी रहनु भएको थियो । बाटोहरु यति अफ्ट्यारो रहेछ । बुडाबुढी, केटाकेटीहरु चढ्नै नसक्ने खाले । मुटु धेरै दरौँ बनाएर मात्रै जान सकिने । त्यहाँको भिडियोहरु समेत लिन कठिन हुने । मुटु घरीघरी कामेको जस्तो खुट्टाहरु लाराक लुरुक भए जस्तो । जीवनमा पहिलो पटक यति अफ्ट्यारो जोखिमपूर्ण र ठाडो बाटो हिड्दै थियौँ । मानौँ हामी जिवनको सफलताको सिडि चढ्दैछौँ । हामी केही नखाई चोखो मुखले सिलिचुङको दर्शन गर्ने भन्ने थियो । तर दर्शन गरेर खाने भनिएको केही खाजा नखाइ हिड्नै गाह्रो भएपछि पुग्न भन्दा अगाडि नै खाइयो । हाम्रो र वादलको प्रतिस्पर्धा चले जस्तो थियो । हामीलाई वादलले पछाई रहेकोे थियो । तलबाट विस्तारै मास्तिर आइ रहेकोे थियो । हामीलाई वादल भन्दा छिटो पुगेर सिलिचुङको दर्शन गर्नु थियो । बादल र हामीलाई एक्कीसिमको आ–आफ्नो हतार थियो । बल्ल ३ घण्टा पछी हामी सिलिचुङ पुगियो ।
हामी संगै बादलपनि आइपुगी हाल्यो । दर्शन गर्दा गर्दै बादलले हामीलाई नै छोप्ने गरि सबै छोपिदियो । हामी पनि छोपियौं । घरीघरी बादल हट्ने र फेरि छपक छोपी हाल्ने भइ रहेकोे थियो । हाम्रो करिब डेढ घन्टाको व्यग्र प्रतीक्षा पछि बादल हट्दै गयो । अनि मौसम खुल्दै गयो । त्यहाँ बाट देखिने मनोरम दृश्यहरुमा लठ्ठ पर्दै स्वर्गीय आनन्दको अनुभुति गर्दै प्राकृतिक सुन्दरतामा हामी हराउँदै गयौँ ।
सिलिचुङकै हाराहारीमा हिमालहरु देखिने,पहाडै पहाडले बनेको गाउँहरु धेरै तल तल, साल्पा पोखरी पनि धेरै सानो देखिने । करिब ४६ सय मिटर उच्चाईमा रहेकोे सिलिचुङ यो भन्दा पहिले यत्रो उच्चाइमा कहिले पुगे कै थिइन । यहाँ आएपछि हामीलाई त्यहीँ बसि रहौँ । सबै दृश्यहरु त्यहीँबाट हेरि रहौँ जस्तो भयो । केही समय बस्दा बस्दै, सुन्दरतामा लठिएको,खुशीले सिमा नाघेको ,आनन्दको चरम उत्कर्षमा पुगेको हामीलाई मौसमले फेरि धोका दियो । पानी छिटाउन सुरु गर्यो । बादलहरु फेरि सम्झेर हाम्रो खुशी देख्न नसकेर आए जस्तो गरि सबै आएर ढाकी दियो । अनि हामी सिलिचुङलाई ढोकेर । सुम्निमा, पारुहाङ सम्झेर बल मागेर साल्पा, सिलिचुङको सुन्दर यात्रा विर्सन नसक्ने पलहरुको थुप्रै इतिहास रचेर कठिन परिस्थितिमा पनि सफल पारेर फेरि अर्को पटक जाने गरि त्यो यात्रा त्यहीँ बाटो हुँदै फर्कनै प¥यो । हामी उहि लोसे पारामा विस्तारै फक्र्यौँ । उहि भञ्ज्याङका रसिलो शेर्पा काका, काकीको भावुक बिदाईलाई स्विकार्दै । यसरी पनि विताईयो जीवनको अविस्मरणीय क्षण ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार