मुन्दुम चित्रकला प्रदर्शनीले पाएको पाँचवटा उपलब्धी :

भिम राई
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष मुन्दुुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम गरेकोमा सबैले आ–आफ्नै टिकाटिप्पणीहरु गरे । कसैले कहिँ नभएको काम गरेको भनेर कुरा काटे । कसैले नगरले पैसा स्वाहा बनायो समेत भन्न भ्याए । कसैले यसमा करोडौँ रकमको दुरपयोग गरिछाडे भन्न समेत भ्याएका छन् । आखिर के हो त वास्तिविकता त्यसको भरसिलो जवाफ पक्कै आउने नै छ । तर यति ग्यारेन्टीका साथ भन्न सकिन्छ यो एउटा ऐतिहासिक काम भएको छ । यसको नतिजा अहिले नै नदेखिएपनि कालान्तरमा भने निकै महत्वपूर्ण कार्य भएको मुल्यांकन हुनेछ ।

चित्रकला प्रदर्शनीको तयारी गरिरहँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग केही सम्पतिहरु थिए । जो खाटाङका मात्रै नागरिकको आँखामा देखिएका थिए । पछिल्लो समयमा खोटाङ जिल्लालाई विश्वमा चिनाउन चित्रकारहरुले कडा मिहेनत मात्र गरेनन् । खोटाङका बारेमा देशकै सर्वमान्य व्यत्तित्वहरुले नजिकबाट हेरेको यसै पटक होला । महामहिम राष्ट्रपति देखि प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुलाई खोटाङ जिल्लाको वास्तविकता बुझाउन यो कार्यक्रमले काफी काम गरेको छ । ५० वटा देशका वरिष्ठ चित्रकारहरुले खोटाङ जिल्लालाई क्यानभासमा उतारेर सबैका सामु उभ्याईदिएका छन् । जुन एक संयोगमात्रा होईन विशेष योजनाका साथ भविष्यमा समेत सुरक्षित राख्न मिल्ने बनेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नगरको नेतृत्व गरिरहनु भएको नगर प्रमुख तिर्थराज भट्टराई र उप–प्रमुख विसन राईको यो काम उल्लेखनीय रहेको छ । विगतमा पर्यटन प्रवद्र्धनका लागि बनाईएका भौतिक संरचनाहरु भन्दा यस पटक गरिएको प्रवद्र्धनको कामले निकै उचाई पाएको छ ।

आँखा पोखरी, पेनटावर, रुरु तालजस्ता भौतिक संरचनाहरुले गरेको प्रचारभन्दा फरक तर बौद्धिक तवरले गरिएको मुन्दम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनीले मुलत ः पाँचवटा कुरालाई राम्ररी स्थापित गर्न सफल भएको छ ।

पहिलो कुरा पर्यटन प्रवद्र्धन नै हो । खोटाङ जिल्ला हेर्न लायक जिल्ला हो । र यसमा ठाउमा रहेको मनमोहक गाउँघर रहेका छन् भन्ने कुराको पहिचान यस कार्यक्रमले स्थापित गरेको छ ।

दोस्रो कुरा मुन्दुम भन्ने शब्दलाई यसले दरो गरी स्थापित गरेको छ । जुन शब्दलाई किरात समुदायलाई मात्र जोडेर हेर्न चलनलाई यसले विस्थापित गरेको छ । मुन्दुम एक ऐतिहासक सभ्यता हो भन्ने कुरालाई अन्तरराष्ट्रियकरण गर्न सफल भएको छ । सभ्यताको विकास गर्न मुन्दुमको नाम जनसाधरण देखि उच्च पदस्थहरुलाई भन्न र बोल्न बाध्य बनाएको छ ।

तेस्रो कुरा चित्रकला भनेको व्यवसायीक पाटोपनि हो भन्ने मान्यतापनि यसले स्थापित गरेको छ । साहित्य र कलाका विभिन्न रुपहरु जस्तै यो पनि एउटा विधा हो भन्न अब जो कोहीलाई सम्झाई रहनु परेन । सामन्य विद्यार्थी तथा अभिभावकहरुले समेत कपि कलम किन खेर फालिस भनेर अब भन्दैनन् । राम्रो सुन्दर चित्रहरुको व्यवसायीक विक्रि वितरणपनि हुन्छ भन्ने कुरा सबैलाई ज्ञान भएको छ ।

चौथो कुरा भनेको साना विद्यार्थी देखि ठुला ठुला नीति निर्माताहरुलाई खोटाङ्को माटोप्रति मोह जन्माएको छ । प्राकृतिक चित्रहरुले खोटाङ चिनाउन मात्र होईन यस अघि १४ वटा देशका ख्याति प्राप्त चित्रकारहरु समेत उपस्थितिमा खोटाङमै गरेका कार्यक्रमको उपस्थितिले ऐतिहासिकता प्राप्त गरेको छ ।

पाँचौ कुरा रह्यो दस्तावेजीकरणको । नगरपालिकाले गरेको यो सम्पूर्ण चित्रहरु संग्राहलय बनाएर सुरक्षित गर्ने कुराले विशेष महत्व राख्ने छ । यो समयको खोटाङ जिल्लाको विशेष गरेर अझै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रको चित्रहरु सय बर्षपछि पनि हेर्न मिल्नेगरी सुरक्षित गर्दा भावि पुस्ताकोलागि यो एक शिक्षा हुनेनै छ । जहाँ संग्राहलय बन्नेछ त्यसले नगरपालिकालाई राम्ररी पहिचान गराउने छ ।

अत ः वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल देखि बहालवाला प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड सम्मले उद्घाटन र समापन गरेको कार्यक्रममा नेपालि कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमालेका पार्टी अध्यक्ष केपि शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका देशका उच्च पदस्त नेता तथा कर्मचारी, बौद्धिक व्यक्तिहरुको अवलोकन भ्रमणले केही न केही खोटाङलाई स्थापित गरेकै छ । भने खोटाङ जन्मथलो भई बाहिर कर्मगरी रहेका सबैलाई यसले सुखानुुभुति प्रदान गरेको छ ।

यी सबै कामहरुको हिसाब किताब यो बेला आर्थिक पाटोबाट कुनै समय सार्वजनिक हुने नै छ । तर यसको सैद्धान्तिक र ऐतिहासिकता हिसाबले नगरपालिकाले गरेको यो काम कोशेढुँगा नै हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार