चिसापानी, १६ फागुन। जन्तेढुँगा १ मैनाटार सिकिमटारका माझी समुदायले आफ्नाे साँस्कृतिक पर्व लदि पुजा मनाएका छन् । पछिल्लो समय लोप हुँदै गएको लदि पूजा खाेटाङका माझी समुदायले मंगलबार धुमधामसँग मनाएका छन्।
जन्तेढुँगा गाउँपालिका अध्यक्ष अरुणा राईकाे प्रमुख आथित्यतामा मनाईएकाे चाडमा वडाअध्यक्ष केदारमान राई विशेष अतिथि रहनु भएकाे थियाे । खाेलाकाे तिरमा बसेर मनाईने याे पर्व काेशिकाे तिरमा भएकाे छ।
सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेशा माछा मार्ने, डुंगा (नाउ) मा मानिसहरूलाई नदी तार्ने काम बन्द भएपछि लदि पूजा पनि बन्द भएको थियो।
अल्पसंख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायको परापूर्व कालदेखि नै खोलाको किनारमा बसि माछा मार्ने, डुंगा (नाउ) मा राखि मानिसहरूलाई नदी तारिदिने काम गर्थे। उनीहरू सधैँ खोला तथा नदीको नजिक हुने, त्यहीँ बस्ने र त्यसैमा आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहीआएको बताइन्छ।
लदी पूजा गर्नाले माझी समुदायको मुख्य पेशाको रुपमा परिचित पुर्ख्यौली पेशा नदीमा डुंगा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ।
साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यतासमेत रहेको छ। वर्षातको समयमा नदीले वर्षेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्याइरहेको छ। त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुर्याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीयले बताए।
माझी समुदायले मुख्य पर्वको रुपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ। माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ।