भिम राई
माननीय पासाङ – भाउजु नमस्कार ! काङा रामकुमार पासाङ
घरछेउ आगनको डिलमा उधो फर्केर बस्नु भएको आमाले आँखा मिच्दै फर्केर हेर्नुहुन्छ अनि भन्नु हुन्छ, ‘ए..राम काईला मो ! देलो ताबा को ?’
आमाको आँखा रसिलो हुनु, आमालाई मनमा भएको उकुस मुकुसहरु उछिटिएर निस्कनु खोज्नु स्वभाविक देखिन्छ अनुहारमा । उमेर घर्किदै गएको छ । आगनको डिलमा बसेर एक्लै बसिरहने आमाको मनमा के लाग्दो हो ? दुई दुई लाठे छोराहरु मारिएको दुई दशक विति सक्यो । नाती नातिनिहरुपनि अब त ठुला भईसके । कोही कता पुगे कोही कता छन् ?
आमा विस्तारै उठेर घरभित्र जान ईसारा गर्नुहुन्छ । आमालाई सम्झाउदै माननीयले पिर नलिनु । बुढाबुढी हुनु भयो । विस्तारी गर्नु जस्ता सम्झाउने कोशिस गर्नुहुन्छ । तर आमाको मन न हो कसरी मान्दो हो ?
नजिकै धारामा शहिद पत्नि सन्देश कुमारी राई भाँडा वर्तन पखाल्दै हुनुहुन्थ्यो । उहाँले पनि केही बोल्नु खोज्दै हुनुहुन्छ तर ध्यान आमा सन्चमाया राई तीर छ सबैको ।
समय चरम द्धन्द्धको थियो । देशमा शसस्त्र संघर्ष चर्किदो थियो । २०५९ साल जेठ १४ गते शनिबारका दिन तत्कालिन रतन्छा गाविस पिनलाखाका ७ जना माछा मार्न नजिकै बगिरहेको साप्सु खोला जान्छन् । स्थानीय राजेन्द्र कुमार राई, रामकुमार राई, गोविन्द राई, हंसराज राई, रोशन राई, मनकुमार राई र नविन राईको समुहले माछा मार्ने जाल, ढडिया, माछा बोक्ने फुर्लुङ लगायतको समानसँग विहानै घर छाडेका थिए । बिहान हिँडेका उनिहरु कहिल्यै फर्केनन् ।
त्यस दिन उनिहरु पुगेको बाँझेच्यानडाँडा र रतन्छाको विचमा रहेको साप्सुखोला लप्से दोभानमा पानी बगेन रगत बग्यो । उनिहरुले माछा मारेनन् उनिहरुलाई नै माछा जस्तै मारियो । तत्कालिन शाहीसेनाको गस्ति टोलिले उनिहरुलाई तत्कालिन समयको विद्रोही करार गरेर निर्दोष ज्यानमाथी गोलि बर्षायो । उनिहरु कसैलाई बाँकी राखिएन । त्यस दिन देखि ती ७ जना निर्दोष व्यक्तिहरुका आमाहरुको मन उसैगरी एक रफ्तार एकोहोरि रहेको छ ।
आमा सन्चमाया राई ती ७ जना शहिदहरु मध्येका राजेन्द्र राई र रामकुमार राईको आमा हुनुहुन्छ । उहाँले यस्तै शोक त्यो पनि एउटा छोराको मात्र होईन दुईवटा छोरा एकसाथ मारिदाँको समय कल्पनु हुन्छ । उहाँको वाक्यहरुले यहि बताईरहेको थियो ।
उहाँको घरमाथी सडक खनिएको छ । सडकसँगै ७ जनाको नाममा लहरै किताब ढुँगा राखिएको छ । नजिकै विश्राम स्थल बनाईएको छ । विश्राम स्थलमा शिलापत्रमा सबै घटनाको वृतान्त सहित मृतकहरुको नाम उल्लेख गरिएको छ । २०५९ साल असोज ३ गते बिहिबार स्थापना गरिएको चौतारी किताब ढुँगा र विश्राम स्थलमा आमा सन्चमाया दैनिक जसो त्यही निस्कन्छिन र हेरेर चित्त बुझाउँछिन् । उहि कल्पना, उहि सपना छोराहरु त मरेर गए । तर उनको सन्तानहरुले कसरी पार पाउने हुन् ?
यहि परिकल्पनाको बिचमा आमासँग केही समय भलाकुसारी गर्दा आमाले भन्नु भयो, ‘नानी दे ङाल्मो आसो, आबो त बुढेस काल लाग्यो कानपुनि सुन्दिना’ । आमाले उसो बाटोमाथी देखाउँदै ‘उ त्यहाँ जान्छु चित्त बुझाङ्नु अनि फर्किन्छु ।’ माननीय ज्युसँग शहिद पत्नि सन्देशकुमारी राई र उनको छोरी (नाम सोधिन) बिच केही पढाईको कुरा भईरहेको थियो । समयले छाडिसकेकाले फेरी भेट्ने शर्तमा माओवादी केन्द्र खोटाङका संयोजक दिपक पाण्डे आकाश र माननीय ज्युको सचिवालय सदस्य अरुण चाम्लिङ हामी छुटियौँ । मनभरी शहिदप्रति श्रदाञ्जली दिँदै त्यहाँबाट विदा भईयो ।
जनयुद्धको राप र तापले आज यो मुलुक यतिसम्म आईपुग्दा ती शहिद परिवारलाई राज्य र सिँगो पार्टीले पनि के सम्मान गर्ने होला ? प्रश्नको जवाफ खोज्दै हिँडि रहेका छौँ ।