दिक्तेल, दुम्लि, रतन्छा, मानेभञ्ज्याङ सडक र यातायात संचालनको कुरा

भिम राई
फागुन ७ गते मानेपनि नमानेपनि प्रजातन्त्र दिवस । उहिले २००७ सालमा राजा, राणा र कांग्रेस मिलेर ल्याएको प्रजातन्त्रको सम्झना गर्ने आजको दिन । हिजो शनिबारकै सल्लाह थियो । दिक्तेल सदरमुकामबाट साकेला गाउँपालिकाको नौलाखर्क सम्म जाने । प्रसँग थियो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमको रिपोटिङ । संयोगले खोटाङ जिल्ल्लाका माननीय रामकुमार राई पासाङ र उहाँको सचिवालय सदस्य अरुण चाम्लिङसँगैको यात्रा थियो । विहानै थाहा पाईयो जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईपनि त्यहि कार्यक्रममा जाँदै हुनुहुन्छ ।

दुवैजना साकेला गाउँपालिकाको जनप्रतिनिधी मात्र होईन एउटै गाउँ रतन्छाका नागरिक पनि । उहाँहरु बिच बिहान मात्रै फोनमा कुरा भएछ । कार्यक्रममा जाने विषयमा सल्लाहा भयो । एउटै गाडी प्रयोग गर्ने कि ? तर के तारतम्य मिलेन कुन्नी दुईवटा गाडीमा जाने तर सँगै सडक हेर्दै जाने । कुरा बिचमा थाहा लाग्यो । अब विशेष गरेर साकेला २ का नागरिकहरुलाई यातायातको सुविधा दिन सकिन्छ कि ? भन्ने रहेछ । उहाँहरुले प्रस्तावित दिक्तेल, नेर्पा, दुम्लि, लामीदुवाली, रतन्छा, माने भञ्ज्याङको सडक नयाँ रुढमा बस संचालन गर्न सकिन्छ कि सकिन्न अनुगमन गर्दै जाउँ भन्नु भएकाले त्यो बाटो लागियो ।

अगाडि माननीयसँगै हामी चढेको गाडिले बाटो ततायो पछि पछि समन्वय प्रमुख ज्युको गाडिले पछ्यायो । बाटो हेदैँ जाँदा सडक अच्छा बनेको रहेछ । नेर्पा क्षेत्रमा केही सरसफाई गर्दा बाटो राम्रो देखियो । नेर्पाको भु–भागको अन्तिम तिर बर्षायाममा अलि समस्या होला कि ? भन्ने केही शंका गर्नु बाहेक बाटो राम्रै छ । दोर्पा तरेपछि भने अलिकती सुधार गर्नु आवश्यक हो कि लाग्ने रहेछ । दुम्लि निस्कने बेलाको सानो खोल्सीमा सुधार गर्ने र उकालोलाई सफाई गर्दा दोर्पापनि ठिक । लामिदुवाली सम्म पहाडिबाटो त्यतिको दुख गर्न सकियला सबैको ठहर रह्यो । बिचमा माननीय ज्युले बाटो त गाडि हिँड्न थालेपछि पो बन्छ त भनेपछि झन आशा बढ्ने नै भयो ।

लामिदुवाली तरेपछि भने साकेलाको भागमा परेको बाटो थपियो । साप्सु खोला तर्नकै लागि केही मर्मत गर्नै पर्छ भन्ने भेटियो । उता लामी दुवालीको किनारमा सरसफाई गर्ने र बाटो सुधार गरिसकेपछिको उकालो भने राम्रै बाटो रहेछ । यसरी जाँदै गर्दा बाटोले पुरै गाउँ छुँदै अगाडि बढ्ने रहेछ । सबै गाउँघरको बाटो घुम्दै जाँदा भेटिने विभिन्न घरहरुसँगै माननीयको घरपनि पुगिदो रहेछ । तर माननीय ज्यु कै कुरालाई सापटी लिदै घर बाङगो भएकाले सडकमै घरचाँही रहेनछ । यसरी साकेला गाउँपालिकाको ५ शैयाको अस्पताल नजिक हुँदै साकेला थान, लङगला, ढिकुरथुङ समन्वय प्रमुख सनबहादुर राईको घर हुँदै मानेभञ्ज्याङ पुगिदो रहेछ ।

भु–बनोट र बाक्लो वस्तिहरु छोएको यो सडकमा यात्रुबाहक बस चल्दा निकै मानिसहरुलाई सहुलियत त हुने नै भयो । साकेला रतन्छाका धेरै मानिसहरुले उत्पादन गरेका सामग्रीले पनि दिक्तेल लगायतको बजार देख्ने रहेछ । दोर्पा र नेर्पाका तल्लो टोल तथा वस्तिका मानिसहरुको उत्पादन सहज हिसाबले बजार सम्म आईपुग्ने संभावना रहेकाले नै पो हो कि उहाँ नेताद्धयको यात्रुवाहक यातायात यो रुढमा चलाउने सल्लाह । मनमा यस्तै यस्तै सोच्दै बेलुकी अर्कै बाटो भएर दिक्ते आईपुगियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार