भाडादर कायम नहुँदा ऐसेलुखर्कमा यातायात व्यवसायीको मनपरी

’

ऐसेलुखर्क
माघ, २३ सोमबार । खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका भित्र चल्ने सवारी साधनले मनपरि भाडा उठाउँदा सर्वसाधरण मर्कामा परेका छन् । भर्खरै सडक सञ्जाल विस्तार भईरहेको गाउँपालिकाको विभिन्न वडा तथा टोलबाट यात्रुहरु बोक्ने टाटा सुमो तथा अटोले मनपरी भाडा उठाईरहेको गुनासो रहेको छ ।

लामोदुरीको सवारी भाडा समेत केही अनियमितता रहेको भएपनि बढी जसो पालिका केन्द्र सम्म आउजाउ गर्दा महंगो भाडा उठाउने गरेको स्थानीय यात्रुहरुले गुनासो गरेका छन् । पालिकाको केन्द्र सम्म वृद्धा वृद्ध तथा असहाय नागरिकहरुलाई आउजाउ गर्न शास्ती रहेको उनिहरुको गुनासो छ ।

सिट क्षमता भन्दा बढी यात्रु लगाउने तथा भाडा समेत अथाह लिन थालेपछि नियन्त्रणको आवश्यकता रहेको ऐसेलुखर्क गाउँपालिका २ बाकाचोलका मनकुमार राईले बताउनु भयो । उहाँले बाकाचोलबाट ऐसेलुखर्क हिँडेर जाँदा एक घण्टा लाग्ने दुरीमा ५ सय रुपैया सम्म लिने गरेको गुनासो सुनाउनु भयो ।

केही समय अगाडि ऐसेलुखर्क गाउँपालिकामा सामन्य छलफल भएपनि अहिले सम्म भाडादर कायम नभएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख गिरेन राईका अनुसार भाडादरमा एकरुपता नभएको गुनासो आफुकहाँ पनि आएको बताउनु भयो । उहाँले चाँडै सर्वदलिय सर्वपक्षिय बैठक बोलाएर सन्तुलित भाडा दर कायम गर्ने पहल भईरहेको बताउनु भएको छ ।

ऐसेलुखर्क गाउँपालिकाका पुर्व पालिका प्रमुख विश्वनाथ निरौलाले भने आफ्नो कार्यकालमा यातायात व्यवसायी, राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ प्रतिनीधिहरुको संयुक्त बैठक राखेर भाडा दर निर्धारण गरेको जानकारी दिनु भएको छ । उहाँका अनुसार ऐसेलुखर्कबाट काठमाडौँ सम्म सानो गाडी सुमोका लागि २ हजार ५० रुपैया र बसका लागि १७ सय रुपैया तोकिएको थियो । सानो अटोका बारेमा केही छलफल भएको थिएन ।

यस्तै ऐसेलुखर्कबाट राखा, बाकाचोल, बादेल, जलेश्वरी, महेश्वरी, माक्पा, ज्यामिरे सबै वडाहरुमा जाने भाडादर समेत कायम गरिएको थियो । तर अहिले त्यो नियम अनुसार नचलेर मनपरी बढेको उहाँले समेत अनुभव गरेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार