खाेटाङमा लालुपाते सहकारीले बचतकर्तालाई लन्ड्यायाे


दिक्तेल
माघ, ९ साेमबार । खाेटाङकाे लालुपाते  सहकारी सँस्थाले लन्ड्याएकाे भन्दै बचतकर्ताहरु आन्दाेलनमा उत्रेका छन् ।लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङका बचतकर्ताहरुले आफुहरुलाई लालुपातेले फसाएकाे भन्दै चरणबद्व आन्दोलनमा उत्रिएका हुन ।

सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि बन्द रहेको सहकारीले आफूहरुको रु सात करोड बढी बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ताहरु आज (सोमबार)देखि चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरु सहितका विभिन्न प्लेकार्ड सहित उनिहरुले बजारमा र्याली तथा सम्बन्धित सराेकारवाला कार्यलयहरुमा धर्ना दिएका हुन् ।

आफूहरुको बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि सङ्घर्ष समिति गठन गरेर चरणवद्ध आन्दोलनमा उत्रिएको समितिका सदस्य एवम् बचतकर्ता धनीराम नछुङले बताउनुभयो । “आफूहरुको बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन । सम्बन्धित निकायले चासो नदिएपछि हाम्रो अन्तिम विकल्प आन्दोलन बाहेक रहेन”, उहाँले भन्नुभयो, “सङ्घर्ष समितिले घोषणा गरेको चरणवद्ध आन्दोलन अन्तरगत सञ्चालक समितिको घर घेराउ गर्ने, ठगी मुद्दा हाल्ने र उनीहरुको चलअचल सम्पत्ति रोक्का गर्नेसम्मको कार्यक्रम छ ।”

चार हजार ५०० बचतकर्ता रहेको सहकारीका बचतकर्ताले सोमबार नारा/जुलुससहित दिक्तेल बजार परिक्रमा गर्नुका साथै सहकारीको कार्यालय, जिल्ला प्रशासन र नगरपालिकाको कार्यालयमा धर्ना दिए । ‘हाम्रो बचत फिर्ता गर, सञ्चालक समिति भाग्न पाउँदैन, ऋणिहरु होसियार, सहकारीका प्रबन्धक रुकु जोशीलाई सार्वजनिक गर, अध्यक्ष अनिल जोशी मर्दा संस्था मर्दैन’ जस्ता प्लेकार्डसहित बचतकर्ताहरु आन्दोनमा उत्रिएका हुन् ।

बित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्ने नाराका साथ वि.सं.२०७२ मङ्सिर–१० गते दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार शुरु गरेको सहकारीमा रु ५१ लाखसम्म बचत गर्ने बचतकर्ता रहेका छन् । आफूले जम्मा गरेको बचत रकम फिर्ता माग्नका लागि बचतकर्ताहरु दैनिकजसो सहकारीको ढोका ढकढकाउन सहकारीको कार्यालय पुग्ने गरेका छन् ।

घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न रु ५१ लाख रकम सहकारीमा जम्मा गरेर राखेको केही समयपछि सहकारी नै डुबेपछि परिवारमा समस्या भएको बचतकर्ता लेखनाथ आचार्यले बताउनुभयो । “आफूहरुले दैनिक थोपाथोपा गरेर सहकारीमा जम्मा गरेको बचत रकम डुबेकाकाले अन्तिम विकल्पको रुपमा आन्दोलनमा उत्रनु परेको छ”, उहाँले भन्नुभयो, “बचत फिर्ता गर्ने विषयमा तत्काल सम्बन्धित निकायले चासो नदिएको खण्डमा ठूलो समस्या सिर्जना हुने अवस्था आएको छ ।”

सहकारीका कारण कतिपयको परिवार नै बिखण्डन हुने अवस्थामा पुगेको बचतकर्ता एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पूर्व वडाध्यक्ष टंक आचार्यले बताउनुभयो । “श्रीमानले दश÷पन्ध्र वर्षसम्म विदेशमा कमाएर पठाएको पैसा श्रीमतीले सहकारीमा जम्मा गरेका छन्”, उहाँले भन्नुभयो, “अहिले विदेशबाट घर फर्केर आउँदा आफूले पठाएको पैसा नहुँदा धेरैको घरमा झगडा भएको छ ।”

जिल्ला सहकासी सङ्घ खोटाङका अध्यक्षसमेत रहेका जोशीको विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण वि.सं. २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिर आएको थियो ।

तत्कालीन अध्यक्ष जोशीको निधन भएपछि वि.सं. २०७८ वैशाख–१६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । हाल आक्रोशित बचतकर्तालाई निमित्त व्यवस्थापक सुमिना राईले ‘बचत फिर्ता गरिदिने’ भन्दै सम्झाइबुझाइ फर्काउने गरेका छन् ।

मृतक जोशीले सहकारीको नाममा खरिद गरिएको जग्गासमेत परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ । बचतकर्ताको रकम फिर्ता गर्न तत्कालीन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी संस्थाका सदस्य तुलसीराम आचार्यले बताउनुभयो ।

बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत रकम फिर्ता गर्ने प्रकृया अघि बढाएको थियो । ऋण असुल गर्नका लागि ऋणीलाई ३५ दिने, १५ दिने र ७ दिने पत्र पठाएर ताकेता गर्दा केही बाहेक अधिकांश ऋणीले ऋण भुक्तान गर्न नआएको सहकारीले जनाएको छ ।

सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिन्छ । तर, उनीहरुमध्ये अधिकांशले मृतक जोशीलाई आफूले लगेको ऋणबापतको रकम फिर्ता गरिसकेको बताउने गरेको स्रोतले जनाएको छ ।

सहकारीको जग्गा बाहेक सावा ब्याजसहित करिब रु दश करोड ऋण लगानी रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्तालाई सावाँब्याजसहित करिब रु सात करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । तर, अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको सञ्चालक समितिले जनाएको छ ।

सहकारीबाट भएका ऋण लगानी उठाउन सके बचतकर्तालाई उनीहरुको बचत फिर्ता दिएर केही रकम बच्ने अवस्था रहेको सदस्य आचार्यले बताउनुभयो । चल अचल सम्पत्ति हेर्दा सहकारी डुबेको नभै सङ्कटमा फसेको देखिन्छ ।

अधिकांश ऋणीहरु मृतक अध्यक्ष जोशीका परिवार तथा आफन्त, दिक्तेल बजारका प्रतिष्ठित व्यापारी र एकजना पोखराका व्यक्तिसमेत देखिएका छन् । उनीहरुले सञ्चालक समितिको निर्णय बिना नै विभिन्न समयमा ऋण लगेको तर, हालसम्म फिर्ता नगरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।

सहकारीमा देखिएको समस्या समाधानका लागि आफू सक्रियताका साथ लागिपरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभयो । सहकारीका कारण धेरैको घरबार सङ्कटमा परेकाले सबैभन्दा बढी सञ्चालक समितिले चासो दिनुपर्ने न्यायिक समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार