सरकारले बढायो पदयात्रा र प्रवेशाज्ञा शुल्क

काठमाडौं । सरकारले नेपाल भित्रने पर्यटकका लागि प्रवेश आज्ञा दस्तुर (भिजा फी) र पदयात्रा दस्तुर (ट्रेकिङ परमिट फी) बृद्धि गरेको छ । केहि महिना अघि पर्यटन मन्त्रालयले गरेको यस निर्णयप्रति पर्यटन व्यवसायीहरुले असन्तुष्टी व्यक्त गर्दै आएका छन् । सरकारको यस्तो निर्णयले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्रभावित हुने व्यवसायीहरुले बताएका छन् । सरकारले पर्यटकलाई भिजा फि र ट्रेकिङ फि निशुल्क गर्नुपर्ने व्यवसायीले बताउँदै आए पनि सरकाले सरकाले उक्त निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले यस अघि बिना शुल्क घुम्न पाइने केही क्षेत्रमा समेत सरकारले ट्रेकिङ फी लागू गरेको छ । मन्त्रालयले आफ्नो वेभसाईटमा उल्लेख गर्दै माथिल्लो डोल्पाको से–फोक्सुण्डो गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म, चक्र ताङसोङ गाउँपालिकाको वडा नम्बर १ देखि ६ मा जाने पर्यटकले अबदेखि शुल्क तिर्नुपर्ने उल्लेख गरेको छ । यी क्षेत्रमा यसअघि शुल्क थिएन । अब उक्त क्षेत्रमा १० दिनभन्दा बढि बस्ने पर्यटकले प्रतिव्यक्ति ५० डलर शुल्क तिर्नुपर्नेछ ।

यस्तै सरकारले भिजा फी र ट्रेकिङ परमिट फीमा पनि उल्लेख्य बृद्धि गरेको छ । यसअघि १५ डलर शुल्क तिरेर १५ दिनको भिजा लिने पर्यटकले अब सोही अवधिका लागि ३० डलर तिर्नुपर्ने छ । ३० डलर तिरेर ३० दिनको भिजा लिएर आउँने पर्यटकले अव सोही अवधिका लागि ५० डलर तिर्नुपर्ने छ । यस्तै, यसअघि १०० डलर तितेर ९० दिनको भिजा लिने पर्यटकले सो अवधिका लागि अब एक सय २५ डलर बुझाउनुपर्नेछ ।

गोरखा मनास्लु क्षेत्रमा एक साताभन्दा बढी समय बस्दा प्रतिव्यक्ति १० डलर तिरेका पर्यटकले अव प्रति व्यक्ति १५ डलर शुल्क तिर्नुपर्नेछ । डिसेम्बरदेखि अगष्टमा एक साता बस्न चाहने पर्यटकलाई यसअघि ५० डलर शूल्क लाग्ने गरेको थियो । अब यो शुल्क बढेर प्रतिपर्यटक ७५ डलर पुगेको छ । एक साताभन्दा बढी बस्ने प्रतिपर्यटक ७ डलर शुल्क लाग्ने गरेकोमा अब १० डलर लाग्ने भएको छ ।

हुम्लाको सिमिकोट गाउँपालिका क्षेत्रमा जाने पर्यटकले यसअघि पदयात्रा अनुमति दस्तुर २५ डलर बुझाउँदै आएका थिए । सरकारले बढाएर शुल्क ५० डलर पु¥याएको छ । नाम्खा गाउँपालिका लगायतका क्षेत्रमा एकसाताभन्दा बढी बस्ने प्रतिपर्यटकले ७ डलर दस्तुर बुझाउँदै आएकामा अब १० डलर बुझाउनुपर्नेछ ।

ताप्लेजुङको फान्टाङलुङ गाउँपालिका क्षेत्रमा यसअघि चार साताको १० डलर बुझाउँदै आएका पर्यटकले अब प्रतिपर्यटक २० डलर तिर्नुपर्नेछ । मिक्वाखोला, सिरिजुंंगा गाउँपालिका पदयात्रामा जाने पर्यटकले यसअघि चारसाताभन्दा बढी बस्ने प्रतिपर्यटकलाई १० डलर दस्तुर लाग्ने गरेकोमा अब २५ डलर तोकिएको छ ।

तल्लो डोल्पा ठूलीभेरी गाउँपालिका पदयात्रामा जाने प्रतिपर्यटक यसअघि १० डलर लाग्ने गरेपनि अब २० डलर पुगेको छ । तल्लो डोल्पाको पाँच पर्यटकीय क्षेत्रमा यसअघि दस्तुर नलाग्ने गरेपनि अब भने प्रतिपर्यटक ५ डलर लाग्ने भएको छ । सरकारी वेबसाईटमा उल्लेख गरेअनुसार उक्त शुल्क एकसाताभन्दा बढी बस्ने पर्यटकलाई तोकिएको हो ।
यस्तै, यसअघि शुल्क नलाग्ने दोलखाको गौरीशंकर गाउँपालिकाको पदयात्रामा जाने प्रतिपर्यटकका लागि पनि दस्तुर लाग्ने भएको छ । विघु गाउँपालिका पुग्ने पर्यटकले एकसाताका लागि यसअघि बुझाउँदै आएको १० डलर बाट बढेर २० डलर बुझाउँनु पर्ने भएको छ ।

गोर्खा क्षेत्रमा यस अघि ८ दिनको २० डलर शुल्क लाग्ने पर्यटकलाई अब भने एक साताको ४० डलर लाग्ने भएको छ । एकसाताभन्दा बढी बस्ने पर्यटकलाई प्रतिदिन ७ डलर दस्तुर लाग्नेछ । चुम्नुब्री गाउँपालिकाको सबै क्षेत्रमा डिसेम्बरदेखि अगष्टसम्म पुग्ने पर्यटकलाई एक साताको ३० डलर र त्योभन्दा बढी बस्नेले प्रतिदिन ७ डलर दस्तुर तिर्नुपर्ने छ । यसअघि उक्त क्षेत्रमा पदयात्रा निशुल्क थियो ।

संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका क्षेत्र र मकालु गाउँपालिका क्षेत्रमा यसअघि निशुल्क गएका पर्यटकले अब पदयात्रा शुल्क तिर्नुपर्ने भएको छ । भोटखोला क्षेत्रमा पुग्ने पर्यटकले शुरुको चार हप्ता बसेमा प्रतिपर्यटक २० डलर शुल्क तिर्नुपर्ने छ । मकालु गाउँपालिका क्षेत्रमा चार हप्ताभन्दा बढी बस्न चाहनेले २५ डलर शुल्क तिर्नुपर्नेछ ।
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा निशुल्क पदयात्रा गर्दै आएका पर्यटकले अब शुरुको चार हप्ताका लागि प्रतिपर्यटक २० डलर शुल्क तिर्नुपर्ने छ । चार हप्ताभन्दा बढी बस्न चाहनेले प्रतिपर्यटक २५ डलर शुल्क तिर्नुपर्नेछ ।
रसुवाको गोसाईकुण गाउँपालिका क्षेत्रमा यस अघि १० डलर पदयात्रा शुल्क तिर्दै आएका पर्यटकले अब एक हप्ताको प्रतिपर्यटक २० डलर तिर्नुपर्नेछ ।
मनाङ जिल्लाको नार्पा गाउँपालिका क्षेत्रमा पदयात्रा गर्ने पर्यटकले बुझाउँदै आएको ७५ डलर शुल्क बढेर प्रतिपर्यटक १०० डलर पुगेको छ । शुल्क नलाग्ने नासो गाउँपालिका क्षेत्रको पदयात्रामा पनि सरकारले एक हप्ताभन्दा बढी बस्ने प्रतिपर्यटकले १५ डलर शुल्क तिर्नुपर्ने भएको छ । डिसेम्बरदेखि अगस्ट सम्म एक हप्तासम्मको पदयात्रा गर्नेले यस अघि तिर्दै आएको ७५ डलर शुल्क बढेर प्रतिपर्यटक १०० डलर पुगेको छ । एक हप्ताभन्दा बढी पदयात्रा गर्ने पर्यटकले १० डलर तिर्दै आएकोमा अब १५ डलर तिर्नुपर्ने भएको छ ।
बझाङको साईपालमा पदयात्रामा जाने पर्यटकले तिर्दै आएको ७५ डलर शुल्क बढेर १०० डलर पुगेको छ । एक हप्ताभन्दा बढी पदयात्रा गर्दा यसअघि शुल्क नलागे पनि अव प्रतिपर्यटक १५ डलर शुल्क तोकिएको छ ।
मुगुको पदयात्रामा जाने पर्यटकले पहिलो एक हप्ताको प्रतिपर्यटक ७५ डलर शुल्क तिर्दै आएकोमा अब बढेर १०० डलर पुगेको छ । र, दार्चुलाको ब्यास गाउँपालिकामा पदयात्रामा जाने पर्यटकले एक हप्ताको पदयात्रामा यसअघि तिर्दै आएको ७५ डलर शुल्क बढेर ९० डलर पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार