सप्ताह पुराणभित्र राजतन्त्रको मलामी

–भीम राई
असार २३ गतेबाट दिक्तेल बजारको माटीकोरे खेलमैदानमा हिन्दुधर्मावलम्बी केन्द्रित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । धार्मिक शुद्धताको लागि त्रिशक्ति शिद्धबाबा आध्यात्मिक केन्द्र, काठमाडौँको हवला दिँदै शुरु भएको महायज्ञमा विभिन्न किसिमका धार्मिक अनुष्ठानको कार्यक्रमहरु रहेका छन् । देशव्यापी धार्मिक अनुष्ठानको महाअभियान १०८ भागवत सङ्कल्पको ३६ औँ भागवत खोटाङ जिल्लामा भइरहेको हो ।

सारमा हिन्दुधर्मवालम्बीहरुलाई जम्मा गर्ने र उनीहरुबाट दान दक्षिणा सङ्कलन गर्ने कार्यक्रम रहेको देखिन्छ । तर, यसको भित्री तारतम्य भने एकदमै फरक पाइएको छ । बजारको ठाउँ–ठाउँमा राखिएको प्रचार सामग्रीहरुको एउटा कुनामा ‘स्वामी त्रिशक्ति सिद्धबाबा गुरु महाराजको चाहना, हिन्दु राष्ट्र नेपाल पुनः स्थापना’ उल्लेख गरिएको छ ।

धार्मिक अनुष्ठान गर्ने नामबाट राजतन्त्रको भ्रुण उमार्न महाअभियानको नाटक गर्दै शिद्धबाबा भनिएका जोगीको यो जालमा खोटाङका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुसमेत फसेका छन् । सारमा राजतन्त्र पुनः स्थापना शिद्धबाबाको चाहाना पुरा गरिदिन महायज्ञमा सबैले दान दिनुपर्ने परिकल्पना आयोजकले गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकका सम्पूर्ण भक्तजनहरुलाई मुल आयोजक संज्ञा दिएर शुरु भएको यो महायज्ञमा को कहाँबाट कति सहभागी रहे यी सबै इच्छाको विषय रह्यो । तर, स्थानीय राजनीतिककर्मीहरुका लागि भने यो सुखद खबर होइन ।

नेपालमा २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन र यस अघि परिवर्तनका पक्षमा भएका सम्पूर्ण राजनीतिक विद्रोहको उपलब्धिका रुपमा आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको धज्जी उडाउने गरी यी कामहरु भइरहेका छन् । हिन्दुधर्मको आड लिएर भड्काउ सिर्जना गर्नेगरी आयोजना गरिएको यस्तो कार्यक्रमका बारेमा स्थानीय प्रशासन तथा राजनीतिक दलहरु रमित हेर्ने शिवाय अरु केही गर्न सकेका छैनन् ।

मुलुक सङ्घीयता र धर्म निरपेक्ष राष्ट्र भइसकेको छ । यसको संस्थागन विकास हुन बाँकी छ । धार्मिक स्वतन्त्रता सबैमा रहेको छ । पूजापाठ गर्न आफूले चाहेको धर्म सँस्कृतिको संरक्षण संवर्दन गर्न सबैमा छुट छ । हिन्दुधर्मावलम्बीहरुका लागि महायज्ञ निकै ठुलो कर्म हो । यसमा सबै हिन्दुधर्मावलम्बीहरुमात्र नभइ अरु पनि सहभागी हुन सक्दछन् । पाउँछन् ।

कथा वाचन गर्ने सुन्ने अनुशरण गर्ने अधिकार सबैमा हुँदा हुँदै पनि व्यवस्थापकीय हिसाबले वातावरणीय प्रदुशन बढेको छ । रात बिरात ‘खाए खा नखाए…’ भने झैँ गरी ठूलठूला आवाजमा माइक घन्काउनाले सर्वसाधरण नागरिकलाई दिक्दारी दिइरहेको छ ।

बालबालिका, वृद्धवृद्धालाई यसको प्रत्यक्ष असर छ । फरक किसिमका धर्मतथा सँस्कारमा भएकाले पनि हिन्दुधर्म प्रवचन सुनिदिनै पर्ने बाध्यकारी अवस्था सिर्जना गरिएको न प्रहरी प्रशासन न, स्थानीय सरकारलाई चासो न चिन्ता । यस्तो अवस्थाको नियन्त्रण तथा नियमन गर्न पर्दैन र ? कि सामाजिक हिसाबले धार्मिक सहिष्णुताको नाममा राजतन्त्रको वकालत गर्ने धर्मभिरुहरुको बक बक सुनिदिनै पर्ने ? धार्मिक हिसाबले सङ्घीयताको घाँटी रेट्ने अभियानलाई आँखा चिम्लेर सहि दिनैपर्ने हो र ?

स्थानीयलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ मा रहेको बुधेश्वर गुफाको प्रवेशद्धार तथा १०८ शिवलिङ्ग स्थापना र माटीकोरे खेलमैदानमा नागेश्वर महादेवको मन्दिर स्थापनाको आश्वासन बाडिएको छ । जनताको आँखामा धर्मको पट्टी बाँधेर राजतन्त्रको भुत सवार गर्दैमा के यी सबै योजनाहरु सम्भव होला त ?

हिन्दुधर्मले राजतन्त्रको भ्रुण जन्माउछ कि यसको मलामी जान्छ । हेर्न बाँकी छ ! अब सबै जाति, धर्म, लिङ्गका स्थानीय तथा सरोकारवालाहरुले यतातिर ध्यान दिनु पर्ला की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार