मित लगाउने संस्कृतिको संरक्षण गरौँ ।

साथी शब्द त्यसै भनिएका होईनन् । साथी तथा मित्रताको साईनो सबैभन्दा महत्वपूर्ण मानिन्छ । पौराणीक कथाहरुमा उल्लेखित कृष्ण र सुदामाको कथा होस या राम र सुग्रिवको मित्रता । सबै ठाउँमा साथीको सम्बन्ध उतिकै महत्वपूर्ण रहेको पाईन्छ । साथीको सम्बन्धलाई अझबढी औपचारिकता दिएर पारिवारीक सम्बन्धमा विस्तार गर्न समाजले अर्को एक तह बढाएर मित लगाउने संस्कारको समेत विकास गरेको छ । कुनै गारो अफ्ठ्यारो परेमा साथ सहयोग आदान प्रदान गर्ने तथा दुई मित्रको परिवारलाई एक परिवार बनाउने सांस्कृतिप प्रचलन साथीको उच्च रुप हो भन्न सकिन्छ । साथीका निम्ति ज्यान दिनेसम्मको मानवीय स्वभावहरु विगतमा पनि थिए र अहिलेपनि रहेका छन् । यो समाज एककृत बनाउन र सम्बन्धहरु मजवुद बनाउने निकै राम्रो उपायपनि हो ।
हुन त अहिले साथीको कुनै दुख हुँदैन । सामाजिक सञ्जाल चलाउनेका लागि साथी भन्नु किरैसरी हुन्छन् । तर मिल्ने र पौराणिक कालको कथामा भएका जस्ता मित्रता पाउन भने एकदमै मुस्किल छ । भनौ साथीहरुको हुलमा असल र मिल्ने साथी भने कमै हुन्छन् । खास गरेर अहिलेको समय र परिवेशले यस्तो एउटा कुनामा मानिसलाई सिमित बनायो जसले प्रत्यक्ष भेटघाट र आनीबानी रहन सहन थाहा नपाई नै साथी बन्ने र बनाउने अवसर छ । जसले मिठाकुरा गरेर साथी बनाउछन् । तर नदेखेको नभेटेका मानिसको साथीको साथीलाई सबैकुरा थाहा नै हुँदैन । फोन तथा म्यासेन्जरमा बोलेर च्याट गरेर बनेका साथीको भरमा अहिले समाज चल्न थालेको छ ।
यस्तो अवस्थामा विस्वास कसको गर्ने ? हामी सामाजिक प्राणी भएकाले साथी फेरीपनि चाहिन्छ । एक अर्काको माया प्रेम र सदभाव नभएमा बाँच्न त सकिएला टिक्न सकिन्न । मानिस मानिस विचको सम्बन्धमा शंका उपशंका र अंहकारहरु बाहेक मित्रताको भाव शुन्य हुँदै जाने छ । त्यसबेला चाहिने हो हाम्रो साथीको सामिप्यता । तर आफ्ना वरिपरि नजिकका सबै साथी गुमाईसकेपछि साथीको सामिप्यताको महशुस बाहेक केही नहुन सक्दछ । यसका लागि साँस्कृतिक हिसाबले साथी बनाउने प्रचलनलाई अब पुनःजागृत गराउनु पर्ने बेला भएको छ । अर्थात मित लगाउने संस्कृति अब जगाउनु पर्दछ । एकले अर्काप्रति लगाईने मितबुवा, मितआमा , मितदाई, मितदिदि जस्ता साईनोहरु क्रमश हराउँदै छन् । यी साईनो तथा सम्बन्धले पनि निकटतामा राख्ने भएकाले यसकोपनि संरक्षण गर्ने कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार