–गणेश कुमार राई
सिलिचोङको कुम टेकेर
हेत्छाकुप्पाहरुको आकाशमा
घाम जब उक्लिन्छ
सिमलको टुप्पोमा रोइरहेको
थ्युबीम्याको परेलीमा देखिन्छ
एउटा इन्द्रेणी ।
यसबेला मेरा प्रियजनहरु
इन्द्रेणीको सौन्दर्यको पक्षमा छन्
तर जुन इन्द्रेणीमा मेरो खोरियाको
बलौटे रंग छैन
ग्यल्जोङमाले हिमालमा लगाउने
दोचाको रंग छैन
च्यागी दोर्जेले सेलोमा बजाउने
डम्फुको रंग छैन
लुङाले पालममा लगाउने
मेख्लीको रंग छैन
सोल्टीले कौरामा घन्काउने
खैजडीको रंग छैन
किस्ने पहाडीले छलियामा नचाउने
तरबारको रंग छैन
किमोजोङले ल्होसारमा लगाउने
प्वाँलोको रंग छैन
सन्ते कामीले खेतबारी अर्जाप्ने
खलाँतीको रंग छैन
र अँध्यारोमा बाटो देखाउने
सपुरको रंग छैन । म इन्द्रेणीको पक्षमा कसरी उभिउँ ?
वृत्ताकार इन्द्रेणी कहिल्यै झर्दैन
मेरो आँगनको खाल्डा–खुल्डीसम्म
माटोको कुना–काप्चामा
कहिल्यै झर्दैन आफ्नो आकार बदलेर
र आकाशमा लठ्ठिएको सर्प झैं घामसँग बेरिएर
जहिल्यै जिस्काइबस्छ
हामीले हिँड्ने संघर्षको बाङ्गो गोरेटोलाई
जब्बर इन्द्रेणी
ऊ आफूबाहेकको रंग देख्दैन
आफूबाहेकको आकार देख्दैन
आफ्नोबाहेकको धरातल देख्दैन
यसर्थ इन्द्रेणीले आफूबाहेकको
हामीलाई पनि देख्दैन
मेरा प्रियजनहरु !
रोइरहुन् केही रात दुखिया मानिसहरु
जहाँबाट उडुन् आँसुका स–साना कणहरु
जो, दुबोमा अड्केका शीतका थोपा झैं
थ्युबिम्याको आँखीभौमा बसुन्, लहरै
र त्यहिनेर आविष्कार होस्
मौलिक कमटको अर्को एउटा इन्द्रेणी ।
०००
(हाम्रो समुदायमा इन्द्रेणीलाई अशुभको प्रतिकका रुपमा लिइन्छ । र अहिलेको संविधान हेर्दा रंगिन त छ, तर यथार्थमा यो रंगहिन छ ।)