युवतीको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिएन : मृतकका आफन्त

दुरुत्साहन

चाैथाे अंग
खोटाङ, १० भदौ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राईको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको उनका आफन्तले गुनासो गरेका छन् । आफ्नै घरको बरण्दामा झुण्डिएको अवस्थामा भदौ–७ गते शव फेला परेकी शिक्षाको आफ्नै श्रीमानले हत्या गरेको भन्दै आफन्तले बिहीबार उनका श्रीमानविरुद्ध किटानी जाहेरी दिएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ माइती भएकी शिक्षाले वर्ष दिनअगाडि चिचिङ्गाका मनकुमार राईसँग प्रेम विवाह गरेकी थिइन् । बाम्राङ माइती घर बसेर दिक्तेलस्थित सरस्वती माविको कक्षा–१२ मा अध्ययनरत शिक्षा केही महिनाअघि मात्र चिचिङ्गा श्रीमानको घर गएकी थिइन् ।

घटना भएको खबर पाउनासाथ भोलिपल्ट बिहान माइतीपक्ष शिक्षाको घर पुग्दा उनको शव शंकास्पद अवस्थामा देखिएकाले उनको श्रीमानविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दाको किटानी जाहेरी दिइएको मृतकका काका ज्ञानबहादुर राईले बताउनुभयो । “मृतक शिक्षाको हात र निधारमा निलडाम देखिएको तथा अनुहार रगतपक्ष भएको देखेपछि उनका श्रीमानविरुद्ध कानूनी कारवाही गरी पाउँ भनेर प्रहरीमा किटानी जाहेरी दिएका हौँ”, उहाँले भन्नुभयो, “प्रहरीले यो आत्महत्या नै हो । हत्या होइन भनेर जाहेरी लिन अस्वीकार ग¥यो ! यस विषयमा प्रहरी नै पीडकको संरक्षणमा लागेको देखिएको छ ।”

प्रहरीले शिक्षाको हत्याको किटानी जाहेरी लिन अस्वीकार गरेपछि प्रहरीकै सल्लाहमा श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी लिएर गएको पीडित पक्षले बताएका छन् । कर्तव्य ज्यान सम्बन्धीको किटानी जाहेरी परिवर्तन गरेर पीडित पक्षले दिएको आत्महत्या दुरुत्साहन सम्बन्धीको जाहेरी भने प्रहरीले दर्ता गरेको बुझिएको छ ।

प्रहरीले आत्महत्या दुरुत्साहनको जाहेरीसमेत लिन आनाकानी गरेपछि आफूहरुले फोटोसहितको प्रमाण पेश गरिएको आफन्तले बताएका छन् । “हात र निधारको निलडाम तथा रगत देखिएको कुरा किन गरेको भन्दै हप्कायो”, ज्ञानबहादुरले भन्नुभयो, “आफूहरुसँग प्रमाण रहेको र यहाँबाट कानूनी उपचार नभए अन्यत्र जान्छौँ भनेपछि मात्र प्रहरीले आत्महत्या दुरुत्साहन सम्बन्धीको जाहेरी लिएको छ ।”

आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएसँगै मृतकको श्रीमानलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । “हामीले किटानी जाहेरी नै लिन नमानेको होइन”, उहाँले भन्नुभयो, “उहाँहरुले आत्महत्या दुरुत्साहनको जाहेरी लिएर आएपछि दर्ता गरेका छौँ । त्यही अनुसार अनुसन्धान अगाडि बढिसकेको छ ।”

घटनास्थलमा आफू स्वयम् पुगेर हेर्दासमेत उनको हत्या भएको नदेखिएको सूचना अधिकारी साहले दाबी गर्नुभयो । “नियन्त्रणमा लिइएका श्रीमानमाथि अनुसन्धानको क्रम शुरु भएको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानको क्रममा हत्या नै भएको रहेछ भन्ने पुष्टि भएमा हत्या गरेको किटानी जाहेरी मागेर कारवाहीको प्रक्रिया अगाडि बढाउछौँ ।”

मृतकका आफन्तले किटानी जाहेरी नै दिन नआएपनि प्रहरीको प्रतिवेदनकै आधारमासमेत ज्यान मुद्दा अगाडि बढाइने प्रहरीले जनाएको छ । आरोपित व्यक्ति आत्महत्या दुरुत्साहन सम्बन्धीको मुद्दामा दोषी ठहरिएमा कसुदारले पाँच वर्षसम्म कैँद र रु ५० हजार जरिवाना हुने कानूनी प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार