किताब ढुँगा पुरेर शिलालेख

bikas

भिम राई
विकास सबैलाई चाहिएको छ । सबै ठाउँमा सबै क्षेत्रको विकास हुनुपर्दछ । विकास सँगै केही न केही विनास पनि भएकै छन् । हामीले रोजेको विकासको मोडेलले हाम्रो समाजले चाँही खास केही पाएर धेरै गुमाउँदै छ । विकासको नाममा बनेका संरचनाहरुलाई हेर्ने हो भने उपलब्धी भन्दा बढी लगानी पो हुँदै छ की ? हाम्रो विकासले बाटो ल्याएको छ । बाटोले माटो बगाएको छ । माटोसँगै हाम्रो उत्पादनपनि बगेको छ । ग्रामिण भेगको कुनैपनि बारी खालि छैन । जताततै पहिरो भत्किएकै छ । खेतियोग्य जमिन स्काभेटरले भत्काएपछि गग्रौटे ढुँगाको चाङहरु थुप्रिएका छन् । पुराना हाम्रा निशानीहरु पुरीएका छन् ।

पिता पुर्खाहरुले रोपेको वरपिपलहरु ढलेका छन् । पानी पँधेरो सडक बनाउने बाहानामा पुरिएका छन् । खानेपानीका मुहानहरु सुकेका छन् । चिनो चौतारीहरुको कुनै निशानी भेटिदैनन । जताततै इतिहाँस नामेट हुँदै जाँदैछन् । गाउँ घरमा भनिदै आएको फलानोको चौतारो, तिलानाले रोपेको वरपिपल, पाटी पौवाहरु अब सम्झनामा मात्र हुन् । यसको संरक्षण गर्नु हाम्रो निम्ति हितकर थियो । तर यतातिर न समुदायको ध्यान जान सक्यो न सरकारको नजर प¥यो । यसले हाम्रो ऐतिहासिक तथा पुरातात्विक महत्वका चिनारीहरु नष्ट भईरहेका छन् । भावि पुस्ताकालागि हामीले हामीलाईनै पढ्ने आधारहरु नाश गरिरहेका छौँ । जसले हाम्रा भावि पुस्ताले आफु हुनुको अर्थ नै नचिन्ने अवस्थामा पु¥याउन लागि रहेका त छैनौँ सोच्ने बेला भएको छ ।

पछिल्लो समयमा चिनौ चौतारो बनाउने, वरपिपल रोप्ने जस्ता कामहरु प्राय ठप्प जस्तै भएका छन्् । यसको ठाउँमा हामीले अत्याधुनिक घरहरु बनाउँदै छौँ । गाडी नकुदेपनि सडक बनाउँदै छौँ । सर्वसाधरणको इच्छा र चाहानाले बनेका भौतिक पूर्वाधारहरु त ठिकै होलान तर केहीको उडन्ते सपना र निर्माण गरिएका भौतिक संरचना हेर्दा भने निकै निराश हुनुपर्ने अवस्था छ । हाम्रो पुर्खाले बनाएको चौतारोमा राखिएको किताब ढुँगा पुरेर हामी शिलालेख बनाएर भित्तामा टाँस्नकै लागि मात्र त विकासको नाममा दौडि रहेका छैनौँँ । अब एक चोटी प्रश्न गर्ने पर्ने पो हो की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार