किरात संस्कृतिमा आगोको माउ

आगो

भिम राई

किरात सभ्यतामा आगोको आफ्नै कथाहरु छन् । जब मानिस आदीम साम्यवादी युगबाट सृष्टिको शुरुवात गर्छ त्यसबेला आगोको आविष्कार भएको थिएन । मानिसहरु फलफूल र पानीको सेवन गरेर जीवन चलाउँथे । त्यसबेला आगोको कुनै परिकल्पना गरिइएका थिएनन् । आगोले पकाउने खाने भन्ने चलनको कुनै परिकल्पना थिएन । समुहमा बस्ने सामुहिक प्रयासबाट केही कामहरु गर्ने भन्ने कुराको शुरुवात नै नभएको त्यो समयमा आगोको कुनै प्रयोग भएनन् । ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादलाई मान्ने हो भने आदिम साम्यवादी युगबाट मानिसहरु जब ढुँगेयुगमा प्रवेश गरे त्यहिँबाट आगोको प्रयोग भएको हो । ढुँगेयुगलाई अर्को अर्थमा भन्दा शिकारी युगपनि भनिएको छ ।
शिकारी युगमा प्रवेश गरेका मानिसहरुले ढुँगाको प्रयोगबाट जंगली जीवजन्तुको शिकार गरेर काँचै मासु खाने गरेका थिए भन्ने ऐतिहासिक पुस्तकहरुमा हामीले प्रशस्त पढ्दै आएका छौँ ।

त्यही युगमा आएर आगोको प्रयोग भएको हुनसक्ने धेरै विद्धानहरुको मत रहेको छ । शुरुमा मानिसहरु आगो जान्दैन थिए । प्रकृतिमा हुने अनेक आकस्मिकताहरुसँग उनिहरु जुधीरहेका हुन्थे । कहिले हावा हुरी, कहिले झरी बादल । उनिहरुको वास ठुलठुला ओडारहरुमा हुने गर्दथ्यो । अहिलेकै जस्तै प्राकृतिक रुपमा मेघगर्जन हुने चट्याङ पर्ने काम त्यो बेलापनि नहुने कुरै भएन । यसरी नै उनिहरुले शिकार मारेर काँचै मासु खाईरहेका उनीहरुले चट्याङका कारण वन डढेलो लाग्दा आगोले भेटेका जनवारका मासुहरु फेला पार्न थाले । उनिहरुले यसलाई खान थाले । त्यसबेला उनिहरुलाई काँचै खाएको मासु भन्दा पोलेर पाकेको मास्ु मिठो लाग्न थाल्यो । फरक–फरक स्वादमा उनिहरुले चाख्न थालेपछि काँचो खानु भन्दा पकाएर खानु निकै उत्तम रहेको पत्ता लगाए ।
यसरी ढुँगेयुग अर्थात शिकारी युगमा आगोको प्रयोग भएको मासुहरु खान थालेपछि मानिसहरुमा एक प्रकारको जिज्ञासा पलायो कि आगोमा पोलेर खाँदा स्वादिलो हुने रहेछ । यसपछि उनिहरुले आगोको आविस्कार गरे । ढुँगामा ढुँगा रगडेर घर्षण गराउँदा आगो निस्कने कुरा पत्ता लाग्यो । यसपछि नियमित आगोको प्रयोग हुन थाल्यो ।

ठिक यहि विन्दुबाट आगोको आविस्कार भयो । यहि पेरीफेरीबाट उठ्छ किरात संस्कृतिमा आगोको माउको कथा । किरात सभ्यतामा हतियार प्रमुख मानिन्छ । छोरा जन्मदा खुकुरी वा धनुकाँड छोरी जन्मदा खुर्पा अहिलेपनि खोजिन्छ, राखिन्छ । यो पुस्तौँ देखि गरिदै ल्याईएको संस्कार हो । किरातहरु माध्येपनि राई समुदायमा अहिलेपनि पितृपुजा गर्न तीनचुलामा सुँगुरको मासु चढाउँदा पोलेरमात्र चढाईन्छ । पकाएको सुँगुरको मासु पितृमा चढाएको पाईदैन । विशेष गरेर यसरी चढाईने मासुलाई छोर्सु (भाषागत हिसाबले विभिन्न भाषी राईहरुले फरक फरक भन्ने गर्दछन्) भन्ने गरिन्छ । छोर्सु पोल्नलाई सुँगुर धनुषवाण नै प्रयोग गरेर मारिन्छ । यसबाट निकालिएको सात थान विभिन्न भागका मासुहरु पितृको नाममा तीनचुलामा पोलिन्छ । अर्थात आगोको माध्यामबाट पितृहरुलाई प्रदान गरिन्छ ।
यस्तै किरात राईहरु प्रकृति पुजक हुन् भन्ने बारेमा धेरै बहसहरु आईसकेका छन् । किरातीहरुले पुजापाठ गर्ने भनेको प्रकृतिलाई नै हो । उनिहरुले खोला नाला, भिरको, वनको, भुमिको, शिकारी लगायतको पुजा गर्छन् । पुजा गर्दा भोग दिने चलन जति रहेको छ । ती सबै चढाउने भनेको आगोमा पोलेर नै हो । बलिभोग दिँदा खुन चढाएपनि फेरी आगोमा पोलेर चढाउनै पर्दछ । पकाएर चढाउने संस्कार नै छैन । यसको अर्थ के हो भने किरात राई संस्कारमा आगोको माध्यामबाट पोलेर पितृ तथा आफ्ना देवदेवतालाई सम्मान गर्ने प्रचलन रहेको छ ।

आगोसँग यतिका नजिकका सम्बन्ध राखेका किराती समुदायको उत्पती कालदेखि नै आगोको माउ रहेको मानिन्छ । आगोको माउ रहेन भने घर उजाडीन्छ भन्ने भनाई छ । कुनै घरको तीनचुलामा आगो निभ्नु हुँदैन भन्ने मान्यता रहेको किराती समुदायमा कहिलेकाँही आगोको माउ मार्ने चलनपनि रहेको छ । आगोले कतै विध्वंस मच्यायो भने विगार ग¥यो भने आगोको माउ तुरुन्तै मार्ने चलन रहेको छ । यसरी आगोको माउ मार्दा जान्ने धामी नक्छुङको शाहारामा गाउँमा रहेको सबै दाजुभाईको घरमा भएको चुल्हाको खरानी जम्मा गरेर एकघरमा चिन्ता राख्ने र ठुलो आगो बालेर धामीले मुन्धुममार्फत आगोको माउ मार्ने गर्दछन् ।

अहिले विज्ञानको युगमा आगोको माउ हुन्छ र भन्नेहरुपनि हामी भित्रै छौँ । तर यसकालागि मेरा आफ्ना एकदुईवटा तथ्यले आगोको माउ हुनसक्छ भन्ने आकलन छ । कुरा धेरै बर्ष अगाडिको हो । म तत्कालिन समय ७ कक्षामा पढ्थे । मेरो गाउँमा भुनबहादुर राई भन्ने बडाको घरमा आगो लाग्यो । गाउँघरको दुईतले घर । घरको भुईतलामा चुला छ । रातको १२ बजे एक्कासी घरको पश्चिम धुरीमा आगो निस्कियो । सबै गाउँलेहरुले थाहा पाईयो हल्ला खल्ला भयो । निभाउन प्रयास गर्दा गर्दै सिरान तलाको केही निकाल्न पाईएन । तर भुँईतलाको समान भने सुरक्षित रहयो । पछि गाउँका सबै अग्रज पुर्खाहरुले आगोको माउ खेल्दै आएको बताए । त्यसकै केही महिनापछि फेरी त्यही नजिकै नन्दराज राई भन्ने मेरो आफ्नै बढाको घरमा ठिक त्यसैगरी आगो सल्कियो । भुनबहादुर राईको घरमा जसरी आगो सल्केको थियो उहि दिशाबाट उस्तै गरी ।

यसपछि हाम्रा अग्रज पुर्खाहरुले आगोको माउ गाउँमा धेरै खेलेकाले मार्नु पर्ने निष्कर्षमा पुग्नु भयो । अन्तत गाउँभरीका मानिस जम्मा भएर मुन्धुममार्फत आगोको माउ मार्ने काम भयो । आज लगभग ३० बर्ष यता त्यस क्षेत्रमा आगलागी भएर कुनै घर जलेका छैनन् । यसको अर्थ के भने जन विश्वास एउटा कुरा होला तर यर्थातपनि त छ । अहिले खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा बार बार भईरहेको आगोलागि विद्युत सर्ट भएकैले मात्र हो त ? कसरी हुन्छ बारम्बार विद्युत सर्ट । प्राविधिक हिसाबले सबैको घरमा जसरी वाईरिङ गरिएका छन् । एमसिवि जोडिएका छन् । त्यसैले आगो प्राविधिक कारणमात्र होईन प्राकृतिक कारणलेपनि लागेको हुन सक्छ । यसलाई कि किरात संस्कृति अनुसार आगोको माउ मार्नै पो पर्ने हो की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार