काठमाडौंको फेमली अस्पताल खोटाङमा

फेमली अस्पताल खोटाङ

चौथो अंग
खोटाङ, २५ फागुन । काठमाडौंको ललितपुर ठेँचोेमा संचालित ५० शैयाको फेमली अस्पताल खोटाङमा स्थानन्तर गरिएको छ । जिल्ला सदरमुकाम दिक्तेलको रत्नपार्क दानबहादुर मार्गमा मंगलबार एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आकस्मिक उपचार विभागको सेवा शुरु भएको हो ।

आगामी दिनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ मुडेमा ५० शैयाको क्षमता हुनेगरि स्थापना गरिएको अस्पतालमा पहिलो चरणमा १५ शैयाबाट आफ्नो सेवा शुरु गरिएको सञ्चालक समितिका अध्यक्ष डा. कृष्णकुमार राई (केके) ले जानकारी दिएका छन् । उनले अधिकांश रोगको यही र गम्भीर किसिमका बिरामीलाई राजधानी काठमाडौँमा सञ्चालित अस्पतालसँगको सहकार्यमा उपचार गर्नेगरि दिक्तेल बजारमा फेमिली अस्पताल स्थापना गरिएको बताएका छन् । जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालसँग प्रतिस्पर्धा गर्न नभइ सहकार्य गरेर अगाडि बढ्ने योजनाका साथ अस्पताल स्थानन्तर गरिएको उनको भनाई रहेको छ ।

स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर सञ्चालन गरिएको अस्पतालमा आकस्मिक सेवा तथा हाडजोर्नी, दाँत, प्रसुति, बाल रोग, जनरल सेवा लगायत सबै किसिमको उपचार सेवा उपलब्ध गराइएको छ । संचालक समितिका अध्यक्ष डा. केके राईले भने, ‘अस्पतालको विभिन्न सेवाहरु मध्ये तत्काललाई आकस्मिक उपचार विभाग अन्तर्गतका सम्पुर्ण सेवाहरु शुरु भएको हो । आकस्मिक उपचारमा ट्रमा र ननट्रमा दुवै उपचार सेवा अब यस अस्पतालबाट लिन सकिने छ ।’

‘अस्पतालका लागि स्थानीय चन्द्रबहादुर केसी र उहाँकै श्रीमती सीता केसीले दुई रोपनी नौँ आना तथा मगनबहादुर कार्कीले पाँच आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।’ उनले भने, ‘ आकस्मिक उपचारका लागि खोटाङे जनता तत्काल काठमाडौं कुद्न नपरोस्’
आगामी दिनमा मेडिकल तथा नर्सिङ कलेज समेत सञ्चालन गर्ने लक्ष्यका साथ स्थापना गरिएको फेमिली केयर अस्पतालका लागि अहिले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको सञ्चालक समितिले जनाएको छ । कान्तिपुर दैनिकमार्फत विज्ञापन प्रकाशन गरेर एम.डी.जी.पी. एक, अर्थो सर्जन एक, गाईनाकोलोजिस्ट एक, पिडियट्रिसियन एक, डेन्टल सर्जन एक, मेडिकल अफिसर तीन, हेल्थ असिस्टेन तीन, स्टाफ नर्स तीन, फार्मेसिस्ट दुई, रेडियो ग्राफर एक, ल्याब टेक्निसियन एक, ए.एन.एम. तीन र ल्याब टेक्निसियन एक जना आव्हान गरिएको जनाइएको छ ।

मेडिकल तथा नर्सिङ कलेज सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा ५० रोपनी जग्गा व्यवस्थापन गरिएको सञ्चालक समितिका सदस्य जेपी राईले जानकारी दिए । काठमाडौँमा कार्यरत डाक्डर तथा खोटाङ जिल्लावासीको शेयर लगानीमा स्थापना गरिएको अस्पतालमा हालसम्म रु पाँच करोड भन्दा बढी लगानी भइसकेको अस्पताल सञ्चालक समितिले जनाएको छ ।

सुविधा सपम्नन्न अस्पताल सञ्चालनका लागि राजधानी काठमाडौँ र खोटाङ जिल्लामा छुट्टाछुट्टै दुई वटा सञ्चालक समिति गठन गरिएको छ । खोटाङमा स्थानीय मकरध्वज राईको अध्यक्षतामा गठन गरिएको सञ्चालक समितिले भौतिक निर्माण, जग्गा व्यवस्थापन तथा शेयर सङ्कलनको काम गरिरहेको छ ।

जटिल किसिमका बिरामीको समेत जिल्लामै उपचार गर्नेगरि स्थापना गरिएको फेमिली केयर अस्पताल सञ्चालनमा आएपछि जिल्लावासी हर्षित बनेका छन् । जिल्लावासीको आफ्नै शेयर लगानीमा शल्यक्रिया सहितको उपचार हुनेगरि स्थापना गरिएको अस्पताल सञ्चालनमा आएपछि हर्षित भएका हुन् ।

अस्पताल सञ्चालनमा ल्याइएको पहिलो दिन अस्पतालकै खर्चमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । काठमाडौँबाट विशेषज्ञ डा.सहितको टोली ल्याएर आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा जिल्लाका १८३ जना बिरामीले निःशुल्क सेवा लिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा अहिले १५ शैयाको एउटा सरकारी तथा दुई वटा सामुदायिक अस्पताल सञ्चालनमा छ । जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालमा उपयुक्त भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई उपचारका लागि बाहिरी जिल्ला रिफर गर्नुपर्ने बाध्यता छ ।
वि.सं. २०४८ सालमा स्थापना गरिएको सरकारी जिल्ला अस्पतालमा अहिले प्रसुति सेवा सम्बन्धी मात्र शल्यक्रिया हुने गरेको छ । जटिल किसिमका बिरामीलाई लाखौँ खर्चेर हेलिकोप्टर तथा गाडी रिजर्भ गरेर थप उपचारका लागि राजधानी काठमाडौँ लगायत बाहिर जिल्ला लानुपर्ने बाध्यता छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार