– नाहिमा राई (जुनकला)
बोकेर सृष्टिको वरदान
हिँडेर ईतिहाँसको जर्जर बाटो
आधा आकाश समेटेर छातिमा
आईपुगेको हुँ
समयको यो बाटोमा ।
के सोचेका छौ हँ ?
त्यहि पुरानो नारी हुँ म ?
हैन !
म वर्तमानको आधा हिस्सा हुँ ।
सति प्रथामा जल्दै जल्दै
पति ब्रता बनेर ढल्दै ढल्दै
आँसुको बगैँचाबाट हुर्किएर
आईपुगेको छु यात्राको यो विन्दुमा
के सोचेको छौ ?
त्यहि पुरानो नारी हुँ म ?
हैन !
म यो पृथ्वीको आधा पाटो हुँ ।
जलेकै हुँ दाईजोको निहुँमा
कुटिएको हुँ नारी भएकै कारण
बलात्कृत भएको हुँ दिन दहाडै
दबाईएको नै हो मेरो आवाज
तर
अब म आएको छु यो समाजको निधारमा
मेरो पनि परिचय कोर्न ।
पासाङ ल्हामुकोजस्तै ओजिलो पाईलाहरूको साथ,
भृकुटीकोजस्तै गर्विलो कुटनैतिक दृष्टि बोकेर
के सोचेको छौ ?
त्यहीँ पुरानो नारी हुँ म ?
हैन !
यो समाजको आधा पाटो हुँ म ।
म मेरो लागि सपना हुँ
म मरो लागि बाटो हुँ
म मेरो लागि संकल्प हुँ
म मेरो लागि एक मानिस हुँ ।
हुनसक्छ
अब कसैको लागि म आँधि हुनसक्छु ।
कसैको लागि तुफान हुनसक्छु ।
किनकी
अब चुडाल्दैछु बन्धनहरूको सिक्रि
बिद्रोह गर्दैछु असमानताको बिरुद्ध
आवाज निकाल्दैछु सहअस्तित्वको पक्षमा
र
निस्कदैछु
स्वतन्त्रताको अन्तिम लडाइँका लागि
बिचारको हतियार बोकेर
आत्माविस्वासको बाटै बाटो ।
होस गर्नु
म चाँडै आईपुग्न सक्छु तिम्रो एकात्मक सोचको
जिर्ण साम्राज्यमा !
के सोचेको छौ ?
त्यहि पुरानो अवला हुँ म ?
हैन !
यो पृथ्वीको स्वतन्त्र प्राणि हुँ म !