‘नेपालमा चाढै नै हाई प्रोफाइल पर्यटक आउने छन्’

काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड १९) महामारीका कारण ठप्प प्रायः बनेको नेपाली पर्यटन क्षेत्रमा चाढै ‘हाई प्रोफाइल’ पर्यटक भित्रिने बताउनु भएको छ ।

उहाँले कतारका राजकुमार पनि नेपालमा आरोहणका लागि आउने निश्चित भएको जानकारी दिनुभयो । ‘कोरोना महामारी सुरु भएपछिको यो अवधिमा पनि केही हाई प्रोफाइल पर्यटक नेपालमा आरोहणका लागि आएका छन् । बहराइनका राजकुमारले आरोहण गरेका छन् । यसले गर्दा नेपाल आरोहणका लागि सुरक्षित छ भन्ने सन्देश पनि गएको छ’, मन्त्री भट्टराईले भन्नुभयो, ‘कतारका राजकुमार पनि आरोहणका लागि नेपाल आउँदै छन् । त्यसका लागि प्रकृया अघि बढेको छ । यो संकटपछि चाढै नै नेपालमा हाई प्रोफाइल पर्यटक भित्रिने छन् ।’

मन्त्री भट्टराईले कोरोना कहरकै बीच पनि पर्वतीय र पदयात्रा पर्यटन खुलेको बताउनुभयो । नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७औं स्थापना दिवसको अवसरमा मन्त्री भट्टराईले कोभिड संकटपछि नेपाली पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन एनएमएले सकारात्मक भुमिका खेलिरहेको बताउनुभयो ।

‘एनएमए गैरसरकारी संस्था भए पनि यो सरकारको एउटा जिम्मेवार साझेदार हो’, मन्त्री भट्टराईले भन्नुभयो, ‘एनएमएले नियमित रुपमा राम्रो काम गरिरहेको छ । कोरोना संकटको समयमा पनि नेपाली पर्यटन क्षेत्रलाई लयमा फर्काउन प्रशंसनीय काम गरिरहेको छ ।’

मन्त्री भट्टराईले आरोही र पर्वतीय पर्यटनमा सक्रिय रहेका व्यक्तीहरुको भविश्य सुरक्षित गर्ने सम्बन्धमा प्रयास भइरहेको पनि बताउनुभयो ।

एनएमएले आफ्नो ४७औं स्थापना दिवस मनाउन आइतबार जुममार्फत कार्यक्रमको आयोजना गरेको थियो । नेपालको पर्वतारोहणको क्षेत्रमा काम गर्दै आइरहेको एनएमएले नेपालको पर्वतीय पर्यटनको प्रवद्र्धनदेखि यस क्षेत्रमा संलग्न व्यक्तीहरुको हक हितमा काम गर्दै आइरहेको छ ।

अध्यक्ष शन्तवीर लामाले एनएमएलाई यो स्थानसम्म ल्याउन योगदान दिनुहुने ब्यक्तित्वको चर्चा र स्मरण गर्नुभयो । अध्यक्ष लामाले कारोना कहरले थिलोथिलो भएको पर्यटन क्षेत्र, आरोही र व्यवसायीको हकहितका लागि ‘बास्केट फण्ड’को व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि उहाँले एनएमएले व्यवस्थापन हेर्दै आइरहेको हिमालको शुल्कबाट १० प्रतिशत र सरकारले हिमाल आरोहणबाट उठाएको शुल्कबाट १० प्रतिशत रकम जम्मा गर्ने गरी बास्केट फण्डको व्यवस्था गर्ने प्रस्ताव गर्नुभयो । ‘कोरोनाले थलिएको आरोही र पर्यटन व्यवसायीका लागि यो फण्ड स्थापना गर्न सकिए केही हदसम्म भए पनि राहत पुग्ने थियो’, उहाँले भन्नुभयो ।

संघका महासचिव कुलबहादुर गुरुङले संघको संरचना र संघले गर्दै आएको गतिविधीबारे जानकारी दिनुभएको थियो ।

यसैबीच पोखरामा पनि संघको स्थापना दिवस मनाइएको छ । पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा संघको संस्थापक अध्यक्ष खड्गविक्रम शाह, पूर्व अध्यक्ष दावानोर्वु शेर्पा र संघका पुर्व प्रमुख सल्लाहकार स्वर्गीय डाक्टर हर्क गुरुङको शालिकमा माल्यार्पण गर्नुका साथै बृक्षारोपण गरी स्थापना दिवस मनाएको हो ।

संघका केन्द्रीय महासचिव कुलबहादुर गुरुङको प्रमुख आतिथ्यतामा मनाइएको स्थापना दिवसमा संग्रहालयका सदस्यहरु, सल्लाहकारहरु,संघको गण्डकी प्रदेश समिति लगायत पोखराका पर्यटनसंग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार