सात महिनापछि हिमाल फर्किए आरोहीहरु

कोरोना भाइरस (कोभिड १९) महामारी सुरु भएपछिको ६ महिना पथप्रदर्शक प्रदीप तामाङ आफ्नो घरभित्रै रहे । कोरोना भाइरस नहुँदो हो त, उनका लागी यो निक्कै व्यस्त समय हुने थियो ।

उनी विदेशी वा स्वदेशी पर्यटक लिएर हिमालतिरै घुमिरहेका हुन्थे । कोरोना भाइरस फैलिएपछि गत ११ चैतमा सरकारले पहिलो पटक लकडाउनको घोषणा गरेदेखि नै उनी हिमालतर्फ त जान सकेनन् नै, घरबाटै बाहिर निस्कन नसक्ने अवस्था बन्यो ।

काठमाडौंमा भाइरस संक्रमण अझै बढ्दो छ । दैनिक सयौंको संख्यामा नयाँ संक्रमित देखिइरहेका छन् । तर, यही अवस्थामा पनि सरकारले आरोहण र पदयात्रा पर्यटन खुल्ला गर्ने निर्णय गरेपछि उनी केही स्वदेशी पर्यटक लिएर सगरमाथा बेसक्याम्पतर्फ लागेका छन् ।

झण्डै सात महिनापछि पहिलो पटक आफ्नो नियमित कर्मथाले फर्कदा उनले खुसीको अनुभती गरे । ‘हिमाल हाम्रो कर्म थाले हो । नियमित यतै भइरहने म झण्डै सात महिनापछि फेरि फर्किएको छुँ’, सगरमाथा बेस क्याम्पतर्फ पुग्नुअघि दिङ्बोचेबाट प्रदीप खुसी पोख्छन्, ‘लामो समयपछि आफ्नो कर्म थलो फर्कन पाउदाँ खुसीको सिमै रहेन ।’

कोरोना भाइरस संक्रमण फैलिएपछिको पीडादायी र अन्योलपूर्ण ६ महिनाको अवधिपछि सुरु भएको यो पहिलो यात्राले आगामी दिन सहज होला भन्ने आशा उनले गरेका छन् । यद्यपि, नेपालमा मात्रै हैन विदेशमा पनि भाइरस संक्रमण अझै नियन्त्रणबाहिर देखिएका कारण अवस्था चाढै उनले सोचे जस्तो बनिहाल्ला भन्ने अपेक्षा गर्न मुस्किल छ ।

लकडाउन र त्यसपछि घोषणा गरिएको निशेधाज्ञा पनि खुलेपछि ‘हाई प्रोफाइनल’ पर्यटकको रुपमा बहराइनका राजकुमारसहित राजपरिवारका सदस्यको टोली हिमाल आरोहणका लागि नेपाल आएको छ । नेपालको दुई हिमाल आरोहणका लागि आएका उनीहरुले सगरमाथा रेञ्जमा रहेको लोबुचे हिमाल आरोहण गरिसकेका छन् ।

लोबुचे आरोहणबाट फर्किएपछि उनीहरु गोर्खाको मनास्लु हिमाल आरोहणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरुको आरोहणमा सहयोग गरिरहेका सेभेन समिटका सञ्चालक एवं आरोही टाशी शेर्पा हाई प्रोफाइनल पर्यटक पाएर मात्रै हैन नेपालमा आरोहण खुलेकोमा खुसी व्यक्त गर्छन् ।

कोरोना संकटपछिको यो आरोहणले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो सन्देश दिएको उनले अनुभव गरेका छन् । ‘कोरोना संकटको यो समय हामीलाई व्यवसायको चिन्ता त छदै थियो । त्यसमाथि बढ्दो भाइरस संक्रमणका कारण चिन्ता थपिरहेको थियो’, बहराइनका राजकुमारको टोलीलाई लोबुचेको सफल आरोहण गराएर फर्किएपछि टाशी भन्छन्, ‘यो आहोहणले हामीलाई काममा फर्काएको मात्रै छैन, नेपाल आरोहणका लागि सुरक्षित छ भन्ने सन्देश पनि अन्तर्राष्ट्रिय क्षेत्रमा दिन सफल भएको छ ।’

उनको टोलीमा १८ जना विदेशी छन् । उनीहरुको सहयोगका लागी उत्तिकै संख्यामा नेपालीहरु पनि छन् । बहराइन राजपरिवारको टोलीलाई मनास्लुको पनि सफल आरोहण गराएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पर्वतीय पर्यटनबारे थप राम्रो सन्देश जाने उनको विश्वास छ ।

अर्का पथप्रदर्शक ङिमा शेर्पा पनि कोरोना भाइरस सुरु भएपछिको पछिल्लो सात महिनामा पहिलो पटक पर्यटक लिएर हिमाल पुग्न पाएका छन् । उनी दुई जना जर्मन पर्यटक लिएर सगरमाथा क्षेत्र पुगेका छन् । २० दिनको यात्रामा निस्किएका उनी पर्यटकलाई सगरमाथा बेस क्याम्प, काला पथ्थर, चोला पास, गोक्यो, गोक्योरी लगायत ठाउँ पु¥याएर फर्कदै छन् ।

उनले पनि झण्डै सात महिनापछिको यो पहिलो हिमाल यात्रामा अनौठो महसुस् गरे । उनी आफूले मात्रै हैन ती क्षेत्रका स्थानीयले पनि अनौठो महसुस् गरेको बताउँछन् ।

‘सिजनमा म आफै आठ वटासम्म ग्रुपलाई बेस क्याम्प पु¥याउथेँ । चार–पाँच पटक त आरोहणमै पनि जान्थे । यस पटक सात महिनापछि पहिलो पटक यो क्षेत्रमा आएको छुँ । आफैलाई अनौंठो लागिरहेको छ’, ङीमा भन्छन्, ’हामीलाई मात्रै हैन, पछिल्लो सात महिना नै विदेशी पर्यटक नदेखेका स्थानीय पनि अहिले अचम्वित परेको देखेँ । विदेशी पर्यटकलाई देख्दा सिजन सुरु भयो कि भन्ने आशा उनीहरुमा छ ।’

यो कोरोना भाइरस संक्रमण फैलिएको सात महिनापछि सरकारले पर्वतारोहण र पदयात्रा पर्यटन खेल्ने निर्णय गर्दा यस क्षेत्रमा भएका सीमित गतिविधी हुन् । यस बाहेक केही नेपालीहरुले पनि पर्वतारोहणका लागि अनुमति लिएका छन् ।

नेपालमा पर्वतारोहणका लागि अनुमति दिनेमध्ये पर्यटन विभागबाट बहराइनका राजकुमारको टोलीबाहेक अर्काे एउटा नेपाली टोलीलाई पनि अनुमति लिएको छ । उक्त टोलीले वरुण हिमाल आरोहणका लागि अनुमति लिएको छ ।

यस्तै, नेपाल पर्वतारोहण संघ (एनएमए) बाट पनि बहराइनको टोलीसँगै अरु तीन टोलीले हिमाल आरोहणका लागि अनुमति लिएको छ । बहराइनको टोलीले एनएमएबाट अनुमति लिएर लोबुचे हिमालको आरोहण गरेको हो ।

त्यसबाहेक मेरा पिक आरोहणका लागि नेपालीहरुको ६ जना र दुई जनाको दुई फरक टोलीले अनुमति लिएका छन् । यस्तै, लोबुचे र मेरा पिकसमेत आरोहण गर्ने गरी एक जना नेपालीले अनुमति लिएको छ ।

पर्यटन विभागअन्तर्गत माउन्टियरिङ शाखाकी निर्देशक मिरा आचार्य पर्वतीय र पदयात्रा पर्यटन खुलेपछि नेपाल भ्रमणका लागि धेरैले सोधपुछ गर्न थालेको बताउँछिन् ।

‘धेरैले फोन गरेर सोध्नु भएको छ’, निर्देशक आचार्य भन्छिन्, ‘सम्भवत अव विस्तारै नेपाल आउने पर्यटकको संख्या बढ्ने छ ।’

यी गतिविधिले नेपाली पर्वतीय र पदयात्रा पर्यटन लयमा फर्केकेको सङ्केत गरेको छ । तर, सम्बन्धित व्यक्तित्वको भनाईलाई विश्वास गर्ने हो भने कोरोना भाइरसले थलिएको नेपाली पर्वतीय र पदयात्रा पर्यटन लयमा फर्कन अझै लामै समय कुर्नुपर्ने छ ।

‘नेपालमा मात्रै हैन, नेपाल भ्रमणमा आउने पर्यटनको देशमै पनि कोरोना भाइरसले आर्थिक रुपमा ठूलो असर पारेको छ’, एनएमएका महासचिव कुलबहादुर गुरुङ भन्छन्, ‘त्यसमाथि भाइरस संक्रमण अझै नियन्त्रण बाहिर देखिएको छ । यसकारणले पनि नेपालको पर्वतीय र पदयात्रा पर्यटन चाढै पूरानै लयमा फर्कन समय लाग्ने छ ।’

उनी नेपाल भ्रमणमा आउने पर्यटकका लागि सरकारले तय गरेको सुरक्षा ‘प्रोटोकल’का कारण पनि समस्या पर्ने देखिएको बताउँछन् । ‘नेपाल भ्रमणमा आउने पर्यटकहरु छोटो समयका लागि आउँछन् । उनीहरुका लागि सात दिन क्वारिन्टिनमा बस्नु पर्ने नियम राखेको छ’, महासचिव गुरुङ भन्छन्, ‘व्यवसायीहरुले तीन दिनका लागी मात्रै क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न माग गरेका छन् । मिानस्थलमै पिसिआर परीक्षणको व्यवस्थासहित क्वारेन्टिनको समय घटाउँदा नेपाल आउने पर्यटकको संख्या बढाउन सकिन्थ्यो ।’

‘सहज व्यवस्था मिलाएर विदेशी पर्यटक भित्राउने कोसिस् गर्नुपर्छ’
कुलबहादुर गुरुङ, महासचिव
नेपाल पर्वतारोहण संघ

गत ६ असोजको मन्त्री परिषद्को निर्णयअनुसार अहिलेलाई पर्वतीय र पदयात्रा पर्यटन खुलेको छ । चाढै अरु पर्यटन पनि खुल्ने करा भएको छ । यो नेपाली पर्यटन क्षेत्रका लागी राम्रो कुरा हो । केही आरोहण पनि भएको छ । तर, नेपाली पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अझै केही समय कुर्नुपर्ने देखिएको छ । नेपालमा मात्रै हैन, नेपाल आउने चाहने पर्यटकको देशमै पनि भाइरसले आर्थिक नोक्सानी पु¥याएको छ ।

धेरैको जागिर गएको छ । त्यस कारणले पर्यटकलाई भित्राउन धेरै नै मेहनत गर्नुपर्ने अवस्था देखिएको छ । यो समय कम्तिमा उनीहरु आउने सहज व्यवस्था गर्नु पर्दछ । अहिले सरकारले नेपाल आउने पर्यटकलाई ७ दिन क्वारेन्टिममा बस्नु पर्ने भनेको छ । हामीले यस विषयमा पर्यटनसँग सम्बन्धित धेरै संस्थाहरुसँग छलफल गरेका छौं ।

सबैले कम्तिमा तीन दिनको क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । बरु, बिमानस्थलमै पिसिआर परीक्षण लिने व्यवस्था गर्नुपर्दछ । त्यसले सजिलो पनि हुन्छ । पर्यटकका लागि अनलाइन ‘भिजा’को व्यवस्था गर्नुपर्छ । त्यो पनि नभए ‘अन अराइभल’ भिजा दिने व्यवस्था गर्नुपर्छ भनेका छौं । सरकारले आन्तरिक पर्यटनको पनि प्रवद्र्धन गर्ने भनेको छ । त्यो पनि राम्रो हो । तर, विदेशी पर्यटन भित्राउन सके मात्रै पर्यटन क्षेत्र चल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार