अम होङ गिल फाउन्डेशनद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौं । अम होङ गिल फाउन्डेशनले नेपालको विभिन्न जिल्लामा शिक्षा क्षेत्रमा योगदान गर्दै आएको छ । विश्वका आठ हजारमीटरभन्दा अग्ला १६ भन्दा बढि हिमालको सफल आरोहण गर्नुभएका दक्षिण कोरियाली नागरिक अम होङ गिलको नाममा स्थापित फाउन्डेशनले एक दशकदेखि नेपालको शिक्षा क्षेत्रमा हात हालेको हो ।

नेपालको विभिन्न जिल्लामा १७ वटा विद्यालय निर्माण गरिसकेको फाउन्डेसनले काठमाडौंको शंकरापुर नगरपालिका ३ स्थित कालिका शरण माध्यमिक विद्यालयलाई फाउन्डेशसनको आर्थिक सहयोगमा निर्माण सम्पन्न भवन हस्तान्तरण गरेको छ। फाउन्डेशनले दश कोठे विद्यालय भवन र १४ कोठे छात्रबास विद्यालयलाई हस्तान्तरण गरेको हो ।
विद्यालय भवन हस्तान्तरण कार्यक्रममा फाउन्डेशनका संस्थापक अम होङ गिलले विद्यार्थीले आफ्नो सपना पढेर पुरा गर्नुपर्नेमा जोड दिनुभयो । ‘तपाइको सपना पढेर पुरा गर्नुहोस र देशको सेवा गर्नुहोस ।’ उहाँले भन्नुभयो ।

दक्षिण कोरिया छल्ला नाम–दो प्रदेशका शिक्षा उपनिर्देशक जङ् सक् उंङ ले उक्त विद्यालय भवन छल्ला नाम–दो प्रदेशका शिक्षा प्रेमीको न्यानो माया भएको बताउनुभयो । ‘प्रदेशको बजेट र एक एक व्यक्तिको सहयोगबाट विद्यालय बनेको हो । त्यसैले यसको विशेष महत्व छ ।’ उहाँले भन्नुभयो, ‘तपाइहरु खुशिले बढ्नुहोस, हाम्रो सम्बन्ध पुलको रुपमा रहोस म सधैं सहयोग र समर्थन गरिरहनेछु ।’
विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बधाई तथा शुभकामना दिनुहुदै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले फाउन्डेशनले निर्माण गरेको सुन्दर भवनको संरक्षण र व्यवस्थापनमा विद्यालय र स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले उक्त भवनमा विद्यार्थीले राम्रो अध्ययन गर्ने बताउनुभयो । ‘विद्यार्थीले मेहनत गरेर बढ्नेछन् भन्ने ठानेको छु ।’ उहाँले भन्नुभयो, ‘अम होङ गिलले गरेको राम्रो कामप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले अविभावक र विद्यार्थीको छनौट अब सरकारी विद्यालय बन्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पोखरेलले विद्यालय भवन निर्माणदाता फाउन्डेनप्रति धन्यवाद व्यक्त गर्नुहुदै भन्नुभयो । ‘गुणात्मक शिक्षामा हामीले जोड दिनुपर्दछ । शिक्षामा परिवर्तन र सुधार जरुरी छ ।’

फाउन्डेशनको चार करोड ५० लाख आर्थिक सहयोग तथा स्थानीयको योगदानमा सम्पन्न विद्यालय भवन हस्तान्तरणसगैं फाउन्डेशनले विद्यालयलाई २० वटा ल्यापटप हस्तान्तरण गर्यो । शैक्षिक सामाग्री, विद्यालय पोशाक, प्राथमिक उपचार सामाग्री लगायत हस्तान्तरण गरेको फाउन्डेशनले तीन वर्षमा शंखरापुर नगरपालिकाका सबै विद्यालयलाई ल्यापटप तथा शैक्षिक सामाग्री वितरण गर्ने जनाएको छ । कालिका शरण माध्यमिक विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत रहेका छन् । नवनिर्मित भवनबाट सबै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विद्यालयले जनाएको छ ।

विद्यालय भवन हस्तान्तण कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा कोरियाली र नेपाली विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार