दिक्तेल बजारबाट तीन महिनामा करिब ३ करोड रुपैयाँको कोक र डिउ विक्रि, कता जाँदैछ गाउँकाे पैसा ?

फोटो : सामाजिक सञ्जाल

सुवास खत्री/ महेश मिश्र
दिक्तेल, ८ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र पछिल्लो तीन महिनामा करिब तीन करोड रुपैयाँ बराबरको पेय पदार्थ भित्रिएको छ । विभिन्न बहानामा प्रयोग हुने कोकाकोला र डिउ जस्ता पेय पदार्थ मात्र जम्मा २ करोड ६९ लाख ७६ हजार रुपैयाँ बराबरको भित्रिने गरेको तथ्य खुलेको हो ।
दिक्तेल बजारमा संचालित कटारी डिस्ट्रीब्युट्स एण्ड स्पलायर्सका प्रोपाईटर धर्मेन्द्र दासका अनुसार पछिल्लो चैत्र, वैशाख र जेठ महिनामा जम्मा १६ गाडी सानो र ठुलो साईजको डिउ भित्रिएको छ । प्रति ट्रक ४ सय (काटुन) केस ढुवानी हुने डिउको मुल्य प्रति केस १ हजार नौसय ६५ रुपैयाका दरले ६ हजार चारसय केसको जम्मा १ करोड २५ लाख ७६ हजार रुपैया दिक्तेल बजारबाट बाहिर जाने गरेको हो ।
दासका अनुसार यो न्यूनतम रुपमा भित्रिने दर मात्र हो । अन्य कुनै महिनामा ८÷९ गाडी सम्म आउने गर्दछ । यो बर्ष भने गतबर्षहरु भन्दा एकदमै कम खपत भएको आफ्नो तथ्यांकमा रहेको उनले बताए ।
यता कोकाकोला भने विभिन्न साईजको बोत्तल गरेर मासिक ३ गाडी भित्रिने गरेका स्थानीय डिलर संचालकले जानकारी दिएका छन्् । कोकाकोला, फ्यान्टा र स्प्राईट गरेर आउने पेय पदार्थमा मासिक ४८ देखि ५० लाखको भित्रिने गरेको डिलर संचालक लियोना कोल्ड स्टोर दिक्तेलका प्रोपाईटर मिश्र मुगरातीले जानकारी दिए ।
यसरी भित्रिने पेय पदार्थमा डिलरले ३.५० प्रतिशत नाफा राखेर होलसेल तथा खुद्रा व्यापारीहरुलाई बेच्ने गरेको छ । होलसेल व्यापारीले निश्चित नाफा राखेर खुद्रा व्यापारी सम्म पु¥याउँछन्् । खुद्रा व्यापारीसँग उपभोक्ताले खरिद गर्दा सम्म यसको मुल्य बजारमा २ सय ९० रुपैयाँ पर्ने गरेको छ ।
तीर्खा मेट्नका लागि भन्दै उपभोग गर्दै आएको विभिन्न किसिमको चिसो पेय पदार्थको यो बढ्दो खपत हेर्दा अवस्था निकै कहाली लाग्दो देखिन्छ । आर्थिक समृद्धि र स्वस्थ्य जीवनको कुरा गरेर नथाक्ने समाजमा पेय पदार्थको प्रयोग हेर्दा भयानक स्थीती पाईन्छ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । मानिसहरुले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेय पदार्थ सेवन गरिरहेको देखिन्छ । चिसो पेय पदार्थहरु अहिले गाउँघरमा छ्याप छ्याप्ती छन् । यस्ता वस्तुहरु अहिले शान, मान र सगुन सामग्री नै बनिसकेको देखिन्छ । यी पेय पदार्थहरुले मोही, सर्वतजस्ता नेपाली शैलीका कैयौँ पेय पदार्थलाई विस्थापन गर्दै लगिरहेका पनि छन् । अति गुलिया र रसायन मिसिएका यी पदार्थका कारण भविष्यमा उपभोक्ताहरुको दाँत, पेट, हाडजोर्नीलगायत शरीरका अन्य अङ्गहरुमा रोगहरुले घर बनाउँछ । यी पेयहरुले मोटोपनको समस्या निम्त्याउँछ । जतिजति यी पेय पदार्थहरुको उपभोग बढ्दै जान्छ, त्यति नै तिनीहरुको सेवनबाट हुने स्वास्थ्य समस्याहरु पनि थपिदै गएको छ तर उपभोक्ताहरु के कारणले आफूलाई स्वास्थ्य समस्या भइरहेको छ भन्ने कुरा खुट्याउन सकिरहेका हुँदैनन् ।
रेडियो, टेलिभिजन र ठाउँठाउँमा राखिएका विज्ञापन बोर्डहरुमा गरिएका भ्रम पार्ने विज्ञापनहरुका कारण उनीहरु त्यस्ता पेयले आफूलाई राम्रै गरिरहेको होला भन्ने विश्वास हुन्छन् । यसरी पिउँदा पिउँदै कतिपयलाई त नसालु पदार्थ जस्तै लत नै लागिसकेको हुन्छ । प्रसिद्ध खेलाडीले आफ्नो सफलतापछि विभिन्न ब्राण्डका पेय पदार्थ घ्वाट घ्वाट पिएर आनन्द लिएको देखाउने टेलिभिजनको आकर्षक विज्ञापनले युवायुवतीलाई हरेक खुसीमा यसै गर्न प्रेरित गरिरहेको हुन्छ । अर्धनग्न नर्तकीले डान्सवार वा डिस्को थेकमा पसिना पुछ्दै बोतलबाट पेय पिइरहेको देखेपछि यो पिउनै पर्ने पेय पदार्थ रहेछ भन्ने युवा मस्तिष्कमा छाप बस्छ । वास्तवमा उपभोक्तालाई आकर्षित गर्ने यस्ता चिसो पेयको विज्ञापनले धेरैलाई झुक्याइरहेको छ ।
बजारमा जताततै पाइने चिसो पेय अहिले यस नगरमा त्यस्ता दुर्गम स्थानहरुमा पनि पुगेका छन्, जहाँ दूधका पाकेट र औषधिहरु पनि पुग्न सकेका छैनन् । यी वस्तुहरुको तडकभडकयुक्त प्रचारप्रसार र पहुँचका कारण दुर्गम ग्रामीण क्षेत्रका मानिसले पनि वस्तुहरुलाई फेसन र आधुनिकताको प्रतीकका रुपमा स्वीकार गरिरहेका छन् । अधिकांश उपभोक्तालाई ती चिसो झोलमा भएका तत्वहरु र तिनीहरुले शरीरलाई पार्ने हानी वारे कुनै जानकारी हुँदैन । वास्तवमा यी पेय पदार्थहरु रङ्ग, वास्ना, गुलियो अमिलो स्वाद घोलेर फिँज उठ्ने बनाई आकर्षक बोतलमा बन्द गरिएका मात्र हुन् । जुन धेरै महङ्गा र हानीकारक हुन्छन् ।
यस्ता चिसो पेयमा चिनीको मात्र अति नै बढी हुन्छ । भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन् । ती तत्वहरुले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने, र क्यान्सरजस्ता रोगहरु लगाउन सक्छन् । अमेरिकन डायविटिज एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसनले चिनी भएको सोडाको हाल भइरहेको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायबिटिज एसोसिएसनले डायबिटिजको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा खाना नै भनेको छ । साथै, शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउनका लागि पेय पदार्थको भूमिका उत्तिकै हुन्छ । सो एसोसिएसनले यदि डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने पिउनका लागि पानी, बिनाचिनीको चिया, कफी वा अरु कुनै कम क्यालोरी भएको पेय पदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ ।
कोल्डड्रिङ्कसमा हुने हानीकारक तत्वहरु हेर्दा चिसो पेय पदार्थहरुमा स्वास्थ्यलाई हानि गर्ने विभिन्न तत्वहरु पाइएका छन् । यी पेयहरुमा एकक्षणका लागि मात्र स्फूर्ति दिने र लत बसाउने तत्वहरु पनि हुन्छन् । ती तत्वहरुले हाम्रो स्वास्थ्यमा दीर्घकालीन रुपमा विभिन्न असरहरु पार्छन् । केटाकेटीहरुलाई यस्तो पेय पदार्थ दिँदा यी झोलहरुमा हुने चिनीले मोटो बनाउँछ । चिसो झोलमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुन्छ र यस अम्लले केटाकेटीको हाडलाई कमजोर पार्छ ।
चिसो पेय पदार्थमा पाइने क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो । यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयको गती बढाउँछ । यस्तो उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको, र थकाई मेटिएको अनुभव हुन्छ । तर यस्तो अवस्था क्षणिक हुन्छ । यतिमात्र होइन, चिसो पेय पदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन् ।
चिसो पेयहरुलाई ताजा राख्न र स्वादिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्लहरु राख्ने गरिन्छ । यी अम्लहरुले झोललाई सड्नबाट रोक्दछन् र मिठासलाई सन्तुलनमा राख्ने मद्दत गर्छ । अम्लहरुको कारणले नै चिसो पेय पिउँदा तिर्खा मेटिएको महशुस हुन्छ । चिसो पेय पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छ । यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्वन डाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन् । यी तत्वहरुका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ । फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्याट्री सफा गर्न प्रयोग गरिन्छ । यो कुराले नै यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट गर्दछ । धातुको खिया पखाल्ने अम्लले हाम्रो शरीरको म मासुलाई सजिलै पोल्न सक्दछ ।

(सम्वाददाता दुवैजना दिक्तेल बुहुमुखी क्याम्पस दिक्तेलका पत्राकारिता विषयका प्रशिक्षार्थी पत्रकार हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार