खोटाङको बाक्सिलामा दुमी भाषामा पढाई शुरु

दुमी किरात राईहरुको उद्गम स्थलका रुपमा रहेको खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा दुमी भाषाको आधारभुत कक्षा संचालन गरिने भएको छ । दुमी किरात राई फन्सिक्किम दुमकिम बाक्सिलाको अगुवाईमा स्थानीय श्री शिक्षाजयन्ती आधारभुत विद्यालय हल्खुममा दुमी भाषाको पढाई शुरु गरिने भएको हो ।

दुमी किरात राई भाषाको पाठ्यक्रममा आधारित पुस्तक गतबर्ष नै आईसकेको भएपनि आन्तरिक व्यवस्थापनको अभावले कक्षा संचालन गर्न रोकिएकोमा यस पटक गाउँले अभिभावकहरु मिलेर दुमी भाषाको कक्षा शुरु गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुुर्गाबहादुर राईले जानकारी दिनु भयो ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई भाषा पढाउन स्थानीय कमला राईलाई विद्यालय व्यवस्थापन समितिले नियुक्ती समेत गरिसकेको छ । हाललाई अर्को व्यवस्था नभएसम्म विद्यालयका अभिभावकहरुले चन्दा संकलन गरेरै भएपनि पढाई शुरु गर्ने राईले जानकारी दिनु भयो ।

उहाँले सरकारले स्थानीय तहमा मातृभाषाको पढाई संचालन गर्न सक्ने प्रावधान रहेको बताउँदै राईले चाँडै शिक्षिकालाई गाउँपालिकाले सम्बोधन गर्ने आशा राखिएको बताउनुु भयो । विद्यालयको कक्षा कोठा बालमैत्री बनाउन सम्बन्धित विद्यालयका प्रधानाध्यापक र सहयाक शिक्षकले १०÷१० हजार रुपैयाँ चन्दा सहयोग गरेका छन् ।

विद्यालयको कक्षाकोठाको अवस्था नाजुक देखेपछि शिक्षकहरुले चन्दा दिएको र बाँकी सबैकाम जनश्रम मार्फत गरिएको राईले जानकारी दिनुभयो । राईका अनुसार हाल केपिलासगढी ४ बाक्सिलामा प्रत्येक शनिबार श्रमशिविर संचालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार