उपभोक्तालाई सहज बनाउन नगरपालिकाको नमुना काम : योजना कार्यान्वयन पुस्तिका

पुस, १२ दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपभोक्तालाई सहजताका लागि योजना कार्यन्वयन पुस्तिका कार्यान्वयनमा ल्याएको छ । योजना सम्झौता देखि योजना सम्पन्न गर्दा उपभोक्ता समितिलाई हुने झन्झटबाट मुक्त बनाउन नगरपालिकाले यस्तो नीति ल्याएको हो ।

नगरपालिकाले संचालन गर्ने योजनाहरुको कामभन्दा बढी कागजी प्रकृयामा देखिएका झन्झटबाट मुक्त गर्न योजना कार्यान्वयन पुस्तिका तयार पारिएको नगरपालिकाका उप–प्रमुख विसन राईले जानकारी दिनुुभयो । नगरपालिकाले उपभोक्ता समिति मार्फत संचालन गर्ने प्रत्येक योजनाहरुको फायल निर्माण गर्दा देखिएको समस्याहरुलाई सहज र सरल बनाउन यस्तो गरिएका उहाँले बताउनु भयो ।

योजना कार्यान्वयन पुस्तिकाले योजना संचालन गर्न आवश्यक सम्पुर्ण कागजातहरुलाई एकै ठाउँ संग्रहित गरेको छ । नगरपालिकाको प्रशासनिक सेवालाई चुस्त दुरुस्त बनाउन एउटै फायलमा सम्पुर्ण कागजातहरु समावेश गरिएका छन् ।

योजना सम्झौताको सिफारिस देखि योजना सम्झौता पत्र, उपभोक्ता समिति गठनको बैठक पुस्तिका, योजना सम्झौताको निवेदन, वडा कार्यालयले गर्ने सिफारिस, उपभोक्ता समितिले पेश गर्ने भर्पाई, सार्वजनीक सुनुवाई गरेको कागजात, डोर हाजिर फार्म तथा योजना हस्तान्तर सम्मका सबै कागज एउटै पुस्तिका भएपछि सर्वसाधरणलाई समेत सजिलो भएको छ ।

योजना प्राप्त गर्नु भन्दा पनि प्राप्त गरेपछि मिलाउनु पर्ने प्रकृयाले दिक्क जस्तै लाग्ने प्रशासनिक झन्झटबाट मुक्त गर्न यो पुस्तिका निर्माण गर्ने अवधारणा ल्याईएको नगरपालिकाको योजना शाखाको प्रमुख नारायण खवासले जानकारी दिनु भयो । उहाँले सेवाग्राहीलाई सजिलो बनाउन अब योजना सम्झौता र फस्र्यौटको काम समेत योजना शाखाबाटै गरिने तथा भुक्तानीका लागि मात्र प्रमुख तथा सम्बन्धित शाखा पठाईने व्यवस्था गरिएको समेत जानकारी दिनुभयो ।

खोटाङ जिल्लामा यसरी सेवाग्राहीको सहजताका लागि पुस्तिका नै निर्माण गरिएको सायद पहिलो स्थानीय तह भएको खवासले जानकारी दिनु भयो । यसबाट समयको बचत र प्रशासनिक सेवामा चुस्त दुरुस्त हुने विस्वास लिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार