केपिलासगढीको कोशेली भिर मौरीको मह बनाए हुन्न ?

भिम राई

केही समय अगाडि काम विशेषले केपिलासगढी गाउँपालिका पुुग्ने अवसर मिल्यो । आफ्नो आँखाले सँधै फरक खोज्ने बानी नै परेको छ । केही समय अगाडि केपिलासगढीको फेदी र सुुङ्देल क्षेत्रको भिर–मौरीको निकै कथाहरु समाचार पढिएको थियो । भिडियोहरु हेरिएको थियो । त्यहि बेला मनमा लागेको केही कौतहुलता थियो । सामाजिक सञ्जालमा भिर–मौरीको पाइन्छ भनेकै आधारमा महको मागहरु बढेको थियो ।

यो अभ्यासलाई हेर्दा मनमा केही कुरा उठेका थिए । केपिलासगढी गाउँपालिकाको १ फेदीको कति ठाउँमा भिर–मौरी बस्दा हुन् । केपिलासगढी कै वडा नम्बर ७ सुुङ्देलका कतिठाउँमा होलान् ? यस पटकको यात्रामा केही सोधखोज गरि हेर्दा केही प्रारम्भिक जानकारी त प्राप्त भएकै छन् । यो अधुरो र अपुरो त छ नै ।

फेदीको तेराभिर, माखाम्लाभिर, बर्खेभिर र सुुङदेलको प्लाप्चुु, ङजापुु तल र माथी, धुरुखुम, होरु ल गुदुुखोला आसपास, त्रिवेणी महभिर र रावाखोलाको शिर क्षेत्रमा विशेष भिर–मौरी बस्ने ठाउँ रहेका रहेछन् । भिर मौरीको मह काट्न सामुुदायीक वनलाई रोयल्टी तिर्नु पर्ने रहेछ । गाउँका मानिसहरु महको शिकार गर्न पुजा आजा गरेर जाँदा रहेछन् । गाउँलेहरुले ठुलो डोरीको मद्यतले भिरमा झुुण्डिएर जोखिम मोल्दा रहेछन् । खोटाङको अन्य क्षेत्रमा पनि भिरमह कमैमात्रमा पाइने कुरा पनि थाहा भयो । विशेष पाउने भनेको केपिलासगढी नै हो भन्नेपनि जानकारी प्राप्त भयो ।

फोटो : पत्रकार डम्बर सिँ राईको फेसबुक बाट

यतिका धेरै स्थानमा पाईने भिरमह थुप्रै प्रकारको जडिबुटीको फूलका रसहरुबाट बनेकाले विशेष औषधीय गुणहरुले भरिपुुर्ण रहेको छ । यो मौरीको वैज्ञानिक नाम ‘एपीस लाबोरियसा’ हो भने अंग्रेजी नाम ‘क्लिफ बी’ हो । भीर मौरी विश्वमै दुर्लभ र लोपोन्मुख सूचीमा पर्छ ।

भिर मौरीको मह शक्तिवद्र्धक, यौनवद्र्धक हुनुका साथै औषधिका रूपमा विशेषतः बाथरोगीका लागि बहुपयोगी हुने जनविश्वास छ । महलाई कम्पाउन्ड मेडिसिन पनि भनिन्छ । बर्षमा उधौली र उभौलीको समयमा दुई पटक मह काट्ने गरिन्छ । यो मह धेरै सेवन गरिएमा यसले शरीरलाई असर पनि पु¥याउँन सक्दछ । यसको मात्रा मिलाएर खान नजानेमा यसको मात लाग्दछ । यसको बढी सेवनले लठ्याउने, बेहोससमेत हुन सक्ने जोखिम पनि रहन्छ । नेपालमा मह व्यवसाय प्रवद्र्धनलाई लक्षित गरी यस महलाई हिमालयन वाइल्ड हनी वा मायड हनीको संज्ञा दिईएको छ ।

नेपालका अन्य थुप्रै पहाडि जिल्लाहरुमा समेत पाईने भिर मौरीको महलाई अहिले विदेशमा समेत पैठारी गर्न थालिएको छ । यस्तो बहु उपयोगी भिर मौरीको महलाई अब व्यवस्थीत बनाउन सकेमा एउटा राम्रो कोशेली बनाउन सकिन्छ । भोजपुरे खुकुरी, इलामको चिया, रुम्जाटारको राडी, खोटाङ दिक्तेलको लौरो प्राय त्यहाँ पुग्ने पाहुनाले किनेर लैजाने कोशेली हुन् । यदि यसो हो भने खोटाङको केपिलासगढी आउने पाहुनाहरुलाई सानो कोशेलीका रुपमा भिर मौरीको मह दिन पाए के हुन्छ होला ?

अहिले पाईने भिर मौरीको महलाई मात्र संकलन गरी व्यवस्थीत हिसाबले बोत्तलहरुमा प्याक गरेर पाहुनाहरुलाई कोशेलीका रुपमा वित्रि गर्दा पालिकाको समेत प्रचार तथा यहाँको भिर मौरीको शिकार गर्ने आम मानिसहरुलाई समेत सम्मान मिल्ने छ । यसका बारेमा पालिका प्रमुख, उप प्रमुख तथा यस क्षेत्रका नेता ज्युहरुले ध्यान दिने की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार