-भिम राई
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा असोज १७ गतेबाट शुरु हुने मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला गोष्ठिको तयारी लगभग सकिएको छ । चित्रकला कार्यशालामा छिमेकी १४ देशका ख्याति प्राप्त चित्रकारहरुको उपस्थिति हुने छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बन्दोवस्त मिलाएको चित्रकला कार्यशाला लगातार २० गते सम्म हुने जनाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामात्र होईन सिँगो खोटाङ जिल्लालाई नै विश्व चिनाउने महत्वपूर्ण अवसरको रुपमा यस कार्यक्रमलाई लिइएको भएपनि यसका उपलब्धीहरुको खास हिसाब किताब भने कार्यक्रम सम्पन्न भएपछि नै हुनेछ । जुनकुरा हामीले प्रतिक्षा गर्नै पर्छ ।
नगरपालिकाको आर्थिक चाँजोपाँजो र व्यवस्थापनमा विशेष चासो राखेर शुरु गरिएको यो कार्यक्रममा अन्य विभिन्न संघ संस्थाहरु समेत जोडिएका छन् । निकै ठुलै तामझामका साथ हुन लागेको चित्रकला सम्बन्धि यस कार्यशाला एक महत्वकांक्षी कार्यक्रम हो । अन्य भौतिक पूर्वाधार निर्माण तथा अन्य विकासे कार्यक्रम जस्तो यसको दुरुस्त परिणाम यस्तो कार्यक्रमले खास दिदैन । तत्काल यस्तो कार्यक्रमको प्रभावकारीता खोज्न थालेमा त्यो पनि मुर्खता शिवाय केही हुँदैन तर कुरा यतिचाँही फेरी के सत्य हो भने आशा गरिए जस्तो खास समयमा खास उपलब्धी भएन भनेपनि यसको दोष बोक्नै पर्ने हुनसक्छ ।
चित्रकला आफै विशिष्ट विधा हो । यो विधामा हतपत मानिसहरु छिरि हाल्दैनन् । विद्यालय स्तरमा हुने छिटपुट कार्यक्रमहरु बाहेक यो व्यवसायीक हिसाबले अन्य विधाहरु जस्तो चल्तिमा छैन । कलाक्षेत्रमा रहेको गीत, गायन, नृत्य तथा साहित्यका विधा जस्तो यो चल्तिमा रहेको छैन । त्यस मध्येपनि यसपटक खोटाङमा हुन लागेको चित्रकला प्लेन एअर कार्यशाला निकै नौलो रहेको छ । धेरैलाई चित्रकला प्लेन एअर कार्यशालाको खास अर्थ समेत नबुुझ्दा के के न हुने होला भन्ने पनि लागेकै छ । यद्यपी चित्रकलामा प्लेन एअर कार्य भन्नाले स्थलगत चित्र निर्माण हो । कलाकारले स्थलगत जुन ठाउँमा पुुग्छ त्यहिँको प्राकृतिक रंगमा रमाएर जस्ताको तस्तै चित्र उतार्नु प्लेन एअर चित्रकला हो । यदि यसो हो भने यस पटक दिक्तेल रुपाकोट मझुवागढीमा आउने विदेशि ख्याति प्राप्त चित्रकारहरुले खोटाङ्कै माटो कोर्ने निश्चित छ । यसमा आयोजकले पाहुुना चित्रकार तथा रैथाने चित्रकारहरुलाई कता कता कसरी कुन कुन ? प्राकृतिक सौँदर्यतामा पुु¥याउने हो त्यसमा भर पर्नेछ ।
कुरा सौँदर्यता सँगै यहाँको कुरुपताको पनि आउने अपेक्षा गर्नु पर्दछ । हामीले सबै राम्रैमात्र भन्दापनि हाम्रा नराम्राहरुको पनि ख्याल राख्नै पर्ने हुन्छ । हामीले देखाउने सभ्यता, हाम्रो मौलिकता, परम्परागत शैलि र सिपहरु यी सब हामीले जोगाएका छौँ की छैनौ यतापनि ध्यान दिनै पर्ला । चित्रकला सम्बन्धि अन्तर्राष्टिय ख्याति प्राप्त कलाकारहरु आउँदा चाहिने देखाउने रैथाने हाम्रो संस्कार, संस्कृति, परम्परागत उत्पादन जोगाउन र बचाउन हामीले कतिको ध्यान दिएका छौँ । यस पटक यसको पनि जवाफ आउने संभावना छ । नाचमा साकेला, लाखे, बालन, सेलो, स्याब्रुहरु देखाईरहँदा यसको संरक्षणमा हामी कति जुटेका छौँ । यसको जवाफपनि देखिने छ । रैथाने उत्पादनहरु कति जोगाईरहेका छौँ । हामीसँग अहिले कागुनी, जुनेलो जस्ता अन्नहरु छन कि छैनन ? खोज्नु पनि पर्दो हो ।
परेको र चाहेको बेलामा खोजि गरिने र अरुबेला वास्ता नगरिने हाम्रो आम नेपाली बानिको शिकार भएका हामी नगर तथा जिल्लावासीहरुले स्थानीय, प्रदेश तथा संघीय सरकारसँग रैथाने उत्पादनका बारेमा प्रश्न तथा जिज्ञासाहरु उमार्न थाल्नुु पर्दछ । अझ मुख्यत आयोजकहरुले नगरवासी सामन्य किसान तथा नागरिकहरुलाई यो अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशालाको औचित्य पुुष्टि गर्न सक्नु पर्दछ । हिजो यहि नगरका पुर्व स्थानीय सरकारलाई केही विषय वस्तुुहरुले अहिले पनि निरन्तर लखेटिरहेको छ । आँखा पोखरी, पेनटावर जस्ता विषयहरुले उनिहरुलाई लखेटिरहँदा अहिलेको सरकालाई अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशालाले छोडि हाल्ला भन्ने मलाई लाग्दैन । त्यसैले यसको सक्दो पुुष्ट्याईँ हुने गरी कार्यक्रम सम्पन्न होस । पुर्ण सफलताको कामना सहित ।