तानको धागो जस्तै तन्कि रहेको आमाको जिन्दगी

भिम राई

यो के हो आमा ?
यसलाई कपडा बुन्ने तान भन्छन् नानी ।
कहिले देखि बुन्दै आउनु भएको नि ?
मैले त उहिले केटाकेटी सानै उमेर देखि नै बुन्दै आएको छु ।
यो बुन्ने समानहरु कल्ले बनाएको होला आमा ?
यो उहिले उहिले छेम्मा बजुहरुले चलाएको समान हो । मलाई पनि मेरो बजुहरुले दिनु भएको ।
यो सवांद हो दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खा रातमाटामा व्यस्त आमा चन्द्रकुमारी राई सँगको हो । दिक्तेल बजारबाट दिप्रुङ चुईचुम्मा जानेक्रममा सडक नजिकैको रातो घरको आगनमा उनको लामो तान देखेपछि एकछिन टक्क रोकिएर सोधिएको प्रश्नहरु हुन् यी माथिका ।

उमेरले ६० नाघ्नु भएको आमा चन्द्रकुमारीको टेठिलो आँखा धागोमा थियो । (दुमि राईभाषामा ङे ङे टिप्नु) भनिएको काम उहाँले गरिरहनु भएको थियो । यो काम धागोलाई एक एक गरेर टिप्नु पर्ने हुन्छ । उहाँले बढो मेहिनतका साथ रेलिको धागोमा हात चलाई रहनु भएको देखेर आफ्नै आमाको याद नआउने कुरै भएन । यसैले अरु अरुतीर कुरा मोडेर गफ गर्न बाध्य भईयो ।
कुरै कुरामा आमाले आफ्नो माईतिमा बुवा आमाले यस्तो सिप नगरेको भएपनि बजुहरुले गरेको देखेर सिकेको सुनाउनु हुन्छ । ‘खै आफ्नो भाग्य नै यस्तो होला बाबु आमाले त सिकाएनन् तर सानै देखि मैले बजुहरुले गरेको देखेर रहर पलायो । टोपिहरु बुन्नु थालेपछि यो त मेरो जीवननै पो बन्यो ’ आमाले सुनाउनु भयो । थोरै भेटमा लामो अर्थ बोकेको कुरा सुनाए जस्तो लाग्यो ।

चन्द्रकुमारी राईको माईति खोटेहाङ गाउँपालिका वडा नम्बर ७ खोटाङ बजार मुनि रातमाटा नै हो । उहाँले ‘मेरो माईति खोटाङ हो । खोटाङ बजारभन्दा तल पर्छ नि रातमाटा क्या ।’ भन्दा उच्च मनोभाव झल्किन्थ्यो । हुनपनि प्रत्येक चेलि तथा आमाहरुलाई आफ्नो माईति कति गौरवपूर्ण हुन्छ त्यहि देखिन्थ्यो आमाको आवाजमा ।
उहाँले चलाउने सामाग्रीहरु निकै पुरानो पनि भईसकेका रहेछन् । थुरी, राशी, चर्खा, ओईटा, जस्ता समानहरु चिल्लो बनिसकेका छन् । उनि यीनै समानसँग खेलेकोपनि निकै लामो समय भईसकेको उहाँले पहिले ढाका टोपी पनि बुन्नु भएको रहेछ । उहाँले बुनेको कपडा कता कता क–कसले लगाए उहाँसँग कुनै हिसाब छैन । तर निरन्तर बुनिरहनु हुन्छ ।

उँहाले आफुलेमात्र बुन्ने नभई अरुलाईपनि सिकाउनु भएको सुनाउनु हुन्छ । ‘महिले गाउँमापनि सिकाएँ ।’ आफैले कपास खेति लगाएर धागो ओईटाउने धागो कात्ने देखि लिएर त्यसलाई पकाएर कपडा बुनेको उहाँले कतिलाई दिनु भयो कुनै जवाफ छैन । ‘आ .. सक्नु पाईदैन को कोल्ले लान्छन । यसैले त मेरो जीवन चलेको छ ।’ आमाले भन्नु भयो, ‘अब अरु त जानिएन यहि त हो ।’
जीवनसँग आफुलाई कुनै विरह नभएको भन्दै आमाले भन्नु भयो,‘मेरो जिन्दगी त तानको धागो जस्तै लामो भईदिएको भए । अझै कतिलाई सेवा गर्न सक्थे ।’ उहाँको चाहाना सँग कसको के लाग्छ र ?
यसपछि हामिले बाटो लाग्ने थियो हिँडि हालियो फेरी भेटौँला आमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार