भिम राई
नेपाली राजनीतिमा एक कोशेढुंगा सावित हुने दिर्घकालिन जनयुद्धको परिकल्पना गर्दा मान्छेहरुले मृत्युको परिकल्पना सायदै गरेका थिएनन् होला तर नेतृत्व तहमा मृत्यु वा मुक्ती भन्ने स्पष्ट मार्गचित्र थियो । आन्दोलनको आँधीबेरी सिर्जना हुँदै गर्दा राज्यशक्तिको दमन कस्तो हुन्छ भन्ने परिकल्पना गरेरै जनयुद्धको बाटो खनिएको थियो ।
२०५२ सालको फागुन १ गते जनयुद्धको घोषणा हुँदैगर्दा दुईचार भरवा बन्दुक पड्काएर तर्साउन खोजेको आरोप खेपेका क्रान्तिकारीहरुले १० वर्षपछि जनयुद्ध भनेको केहो ? भन्ने पुष्टि गरेका थिए । यसविचमा धेरै किसिमका आरोह अवरोह आएका थिए । राज्यपक्ष र विद्रोही पक्षका कैयौँले आफ्नो जीवनको आहुती दिए । राज्यको भाषामा आतंककारीको बिल्ला भिरेर टाउकोको मुल्य तोकिने काम देखि विभिन्न नामका अप्रेशनहरु चलाउँदा समेत जनताको मुक्तिका ति गितहरु गुञ्जन छाडेन । एक पछि अर्को जनताको विचमा आगोको झिल्को झैँ सल्कि रहयो ।
तीन आगोको लप्काहरुमा तत्कालिन शासकहरुको मथिंगलहरु जल्दै रहयो । ती आगोका झिल्काहरु यत्र तत्र फिलुङ्गो बन्दै गयो । त्यस्तै आगोका झिल्काहरु हुन खोटाङ जिल्लाका ७२ जना शहिदहरुको नाम । ठुलकुमार श्रेष्ठ नामको झिल्कोबाट शुरु भएको शहिदहरुको नामको पंक्तिमा ७२ जनाले नेपाली जनताको मुक्तीका खातिर आफ्नो जीवनको बलिदानी दिएको त्यो समय र युगलाई सम्झनका लागि यसपटकको शहिद सप्ताहको अन्तिम दिन दिप्रुङ चुईचुम्मा गाउँपालिकाको स्यालगौँडेमा पुग्दा ‘ति शहिदहरुले जीवनको बलिदानी नदिएको भए यो दिन सायदै देखिन्न थियो ।’ भन्ने मनै देखि लागेर आयो ।
स्यालगौडे । जुन ठाउँमा तत्कालिन जनयुद्धमा होमिएका १२ जनाले शहादत प्राप्त गरेका स्थान । जसको शव गाडिएको समाधिस्थलहरु हेर्दा झलझली याद आयो ‘त्यो क्षण कति कहालि लाग्दो थियो होला ?’ टेम्माबाट पञ्चमी तर्फ जाने मुलबाटोमा स्यालगौडेको चौताराबाट तलतिर अलिकति पाखा परेको भु–भाग रहेको छ । नागढुँगा समुहको नाममा रहेको कबुलियती वनको क्षेत्रमा पुरिएका छन् १२ जना शहिद ।
खोटाङ जिल्लाको सीता आचार्य (कविता) देखि रेखा राई (स्मिृती) सम्मको लाश यहि माटोमा मिलेको ठाउँ हो यो । जुन ठाउँमा तत्कालिन माओवादीका योद्धाहरुलाई दोहोरो भिडन्तको नाममा हत्या गरिएको थियो ।
२०६० साल असोज १० गतेको घटना हो । जुनदिन खोटाङ जिल्लाका ७ जना जनयुद्धका सहयात्रीहरुको एक चिहान भयो । तत्कालिन डाडाँगाउँ ओख्रे र टेम्माको विचमा रहेको स्यालगौडेमा । सीता आचार्य (कविता), पर्शुराम भट्टराई (महाविर), बलराम ढुँगाना (महेश), उत्तर राई (संजिव), जीवन राई (अतित), रेखा राई (स्मृति) र तेजबहादुर खड्काको एक साथ तत्कालिन शाहीसेनाको गोलिले मृत्यु भएको दिन थियो । उनिहरु मध्ये, दिक्तेल रुपाकोट मझुवागढी दोर्पाकी सीता आचार्य, खोटेहाङ इन्द्रेणी पोखरीका पर्शुराम भट्टराई, खोटाङ सिम्पानीका तेजबहादुर खड्का, दिक्तेल रुपाकोट मझुवागढी विजयखर्कका बलराम ढुँगाना, उत्तर राई, जीवन राई, र साकेला ३ खिदिमाका रेखा राई हुन् । भने सिन्धुली जिल्लाका निश्चल राई, उदयपुर जिल्लाका क. बदला (वास्तविक नाम ??) लगायतको एकै ठाउँमा शहादत भएको थियो ।
जुन ठाउँमा समाधि रहेको छ । उनिहरुलाई फरक फरक ठाउँमा हत्या गरिएको र फरक फरक स्थानमा समाधिस्त गरिएको स्थानीयवासीले सुनाउँदा क्रुरताको कुनै सिमा हुँदैन भन्ने पाठ पाईएको छ । मुलबाटो भन्दा तल लक्ष्मण कटुवालको बारीको छेउमै राखिएको कमरेड कविताको समाधीस्थल हो भनेर चिनाउने तत्कालिन न्यायीक समितिका संयोजक रहेका बद्री कटुवालले चिनाउँदा झसंग नहुने कोही थिएनन् । उनै कटुवालले त्यसबेला सेनाले छाडेको शव व्यवस्थापन गरेका थिए । उनै कटुवालले बाटैमा एउटा शब व्यवस्थापन गरेको देखाए । यस्तै महाविर र महेशको शव सबै भन्दा माथी राखिएको स्मृति र अतितको एक ठाउँ, निश्चल र बदला को एकठाउँ राखिएको जानकारी दिएर आभारी बनाएका छन् ।
वर्तमान दिप्रुङ चुईचुम्माका वडा अध्यक्ष समेत रहेका कटुवालले शहिदहरुका बारेमा केही नया काम गर्न सुझाएको बताएका छन् । आफुले वडाको तर्फबाट सक्ने र हुने काममा सहयोग वचन दिएका अध्यक्ष कटुवालले भने, ‘पार्टी सत्तामा पुगेपछि शहिद बिर्सेकी जस्तो लागेको थियो । तर यस पटक सम्झेर आएछन् कमरेड हरु ।’ केही साल अगाडि स्थानीय माओवादीहरुले बर्षेनी शहिदहरुले सम्झने गरेकोमा केही बर्ष छुटेको स्थानीय माओवादी पार्टीका अध्यक्ष राजेन्द्र राईले सुनाए ।