कपासे भञ्ज्याङमा राष्ट्रिय विभुति पार्क र बस्ति बसाउने सपना

दिक्तेल, १६ फागुन । खोटोहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखको कपासे भञ्ज्याङमा १८ राष्ट्रिय विभुतीहरुको शालिक राखेर पार्क निर्माण कार्य धमाधम भईरहेको छ । भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिकासँग जोडिएको भञ्ज्याङमा बस्ति बसाएर बजारीकरण गर्नकालागि विभुतीपार्क निर्माण गर्न लागिएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै पहिलो पटक भएको स्थानीय तहको निर्वाचन २०७४ सालमा भयो । यहि निर्वाचनमा खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाको वडाअध्यक्षमा युवा नेता दिपेन थुलङ राई निर्वाचित भएसँगै उनले यो सपना देखेका थिए । नेपालको इतिहाँसमा महत्वपुर्ण योगदान दिएका ऐतिहासिक व्यक्तिहरुलाई नेपाल सरकारले राष्ट्रिय विभुतीका रुपमा सम्मान गर्दै आएको छ । जसमा गौतम बुद्ध देखि जयपृथ्विबहादुर सिँह सम्म पर्नेछन् । उनिहरुको नाममा पार्क बनाएर किन सम्मान नगर्ने ? उनले यसै सपना लिएर योजना बनाउन थाले ।

खोटेहाङ गाउँपालिका वडा नम्बर २ का पूर्व वडाअध्यक्ष दिपेन थुलुङको परिकल्पनामा निर्माण कार्यशुरु भएको पार्क निर्माण अभियानको ५० प्रतिशत काम सकिसकेको छ । वर्तमान वडा अध्यक्ष पारस राईका अनुसार केही बर्षभित्रै आकर्षक पार्क निर्माण सकिने छ । यो पार्क निर्माण भईसकेपछि खोटाङ र भोजपुरका मानिसहरु यस ठाउँ सम्मा घुम्न आउने वातावरण बन्ने छ ।

‘सडकको पहुँच पुगिसेकेकाले आउन जान समस्या छैन । सडकहरु छन् स्तरउन्नती गर्दै लैजाने हो ।’ पारसले भने, ‘कपासे भञ्ज्याङबाट मुलडाडाँ हुँदै सेल्मे, तावा भञ्ज्याङ, टेम्के हुँदै मुन्धुम ट्रेलमा हामी सिधा जोडिने छौँ ।’

‘केही बर्ष अगाडिमात्र कपासे भञ्ज्याङमा एक जना शेर्पा दाईको पसल घर बाहेक कुनै घर थिएन । यसलाई विशेष बनाउन कै लागि विभुती पार्क आवश्यक भयो ।’ पूर्व वडाअध्यक्ष दिपेन राईले भने, ‘यसपछि हामीले व्यक्तीको जग्गा एकमुष्ट लिएर साना साना घडेरी हुनेगरी सबैले बाँढी रहेका छौँ । अहिले कपासे भञ्ज्याङ ६ वटा त घर नै भईसकेको छ ।’ कपासे भञ्ज्याङ भोजपुर र खोटाङको सिमाना पर्ने भएकाले यहाँ बजार विस्तार हुने र थप आकर्षणको केन्द्रहरु बनाउन सकिनेमा आशावादी रहेको उहाहरुले सुनाउनु भयो ।

राष्ट्रिय विभुतीहरुको नाम :–
१) गौतम बुद्ध
२) अंशुवर्मा
३) सीता
४) जनक
५) अरनिको
६) रामशाह
७) अमरसिंह थापा
८) पृथ्वीनारायण शाह
९) भानुभक्त आचार्य
१०) भीमसेन थापा
११) बलभद्र कुँवर
१२) श्री ५ त्रिभुवन
१३) मोतीराम भट्ट
१४) शङ्खधर शाख्वा
१५) पासाङ ल्हामु शेर्पा
१६) महागुरु फाल्गुनन्द
१७) भक्ति थापा
१८) जयपृथ्वीबहादुर सिंह

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार