महेन्द्रदय मावि वाप्लुखाको ६० औँ स्थापना दिवस (हिरक जयन्ति) सम्पन्न

खोटेहाङ
फागुन, ११ मंगलबार / खोटेहाङ गाउँपालिका वडा नम्बर महेन्द्रदय मावि वाप्लुखाको ६० औँ बार्षिक स्थापना दिवस सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) पोलिटव्युरो सदस्य तथा प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङको प्रमुख आथित्य समारोह सम्पन्न भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पासाङले सामुदायीक विद्यालयको स्तर नउकासी शिक्षा क्षेत्रको सुधार हुन नसक्ने बताउनु भएको छ । अभिभावकहरुलाई अंग्रेजीको मोह जागेर सरकारी विद्यालय हेलामा पर्दै आएको उहाँको भनाई रहेको छ । उहाँले नीजि विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्ने अभिभावकले नियमित खाजा पु¥याउने देखि होमवर्क गरे नगरेको चेक गर्ने, होमवर्क गर्नकालागि खबरदारी गर्ने जस्ता कामहरु गर्ने गरेको बताए । सरकारी विद्यालयमा जाने बालबालिकाको लागि भने अभिभावकले बेवास्ता गर्ने गरेको गुनासो गर्नु भयो ।

आफु सरकारी विद्यालयको जागिर खाने तर छोराछोरी बोर्डिङमा लगााउने प्रवृत्ति हावि रहेको भन्दै सांसद राईले यस्तो बिकृतिको अन्त्य हुनु पर्ने बताउनु भयो । फरक प्रसँगमा सांसद राईले निर्वाचन अगाडि आफ जुन सुकै पार्टीको उमेद्वार भएपनि अहिले जनताको प्रतिनिधि भएको भन्दै विकास निर्माणको हरेककाममा आफ्नो पुर्ण सहयोग रहने बताउनु भयो । उहाँले वर्तमान राष्ट्रिय राजनीतिको बारेमा बोल्दै अहिलेको विकल्प भनेको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुने बताउनु भयो ।

कार्यक्रमको विशेष अतिथि खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राई मुक्तिले गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकतामा राखेको बताउनु भयो । विद्यालय क्षेत्रलाई सुधार गरेर खोटेहाङ गाउँपालिका भित्रको विद्यालयलाई सुधार गर्दै सबै किसिमको सहयोग उपलब्ध गराउने उहाँको भनाई रहेका थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्याक्ष रुपेश राई, पालिका प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई, विद्यालयका पूर्व प्रधानध्यापकहरु, शिक्षक, खोटेहाङ गाउँपालिका वडा नं २ वाप्लुखाका वडा अध्यक्ष पारस राई लगायतले शिक्षा क्षेत्रको बारेमा आफ्नो बुझाईका साथ विद्यालयको ६० औ हिरक जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रमको विचमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत बनेको दुईकोठे भवनको समेत प्रमुख अथिति राईले रिवन काटेर उद्घाटन गर्नु भएको छ ।

गत फागुन ०७ गतेबाट शुरु भएको हिरक जयन्तीको अवसरमा विभिन्न किसिमका अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु भएका थिए । विद्यालयको अन्तर सदनात्मक हाजिर जवाफ प्रतियोगिता, वाप्लुखा भित्र रहका साविक वडा स्तरीय भलिवल प्रतियोगिता, बेलुन फुटाउने खेल, स्मरण शक्ति मापन खेल जस्ता विभिन्न किसिमका प्रतियोगात्मक खेलहरु भएका थिए ।

समापन समारोहको अवसर प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको छ । यस्तै विद्यालयमा रहेको विभिन्न किसिमका अक्षय कोष दाताहरु मार्फत विद्यालयको जेहेन्दार तथा उच्च अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । यसैगरी कार्यक्रममा विभिन्न टोलमा रहेको आमा समुहहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत भएकोमा सबै सहभागि आमा समुहलाई प्रशंसा पत्र सहित खाजा खर्च उपलब्ध गराईएको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि लगायतलाई मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन थुलुङले गर्नु भएको थियो । कार्यक्रममा विद्यालयले ६० औ बर्षको अवसरमा प्रकाशन गरेको स्मारिकाको सार्वजनीकीकरण समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार