नेकपा माओवादी केन्द्र खोटाङले चलाएको कार्यशाला र उठेका केही सवालहरु

भिम राई
नेकपा माओवादी केन्द्र खोटाङले जनयुद्ध दिवसको अवसर पारेर स्थानीय तहमा निर्वाचित आफ्ना प्रतिनिधीहरुलाई कार्यशाला गोष्ठी मार्फत प्रशिक्षण दिएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको नौ महिना पछि संचालन गरेको गोष्ठी फागुन १ गते देखि ३ गते सम्म दिक्तेल स्थीत जिल्ला समन्वय समितिमा चलेको थियो । संविधान सभा सदस्य तथा खोटाङ जिल्लाका पुरानो कम्युनिष्ट नेता एवं बाम अर्थराजनीतिक विश्लेषक हरि रोका, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार भवानी बराल, कानुनविद हरिन्द्र राई लगायतले सहजीकरण गर्नु भएको कार्यशालामा नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोग अध्यक्ष टंक राई, पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य रामकुमार राई पासाङ, केन्द्रिय सदस्य दुर्गा जयन्ती राई लगायत पार्टीका पालिका स्तरीय इन्चार्ज तथा पदाधिकारीहरुको समेत उपस्थिति निकै उत्साहपूर्ण देखियो ।

कार्यशालाको शुरुवातमा केही आशा लाग्दो तर भर नपर्दो अनुहार लिएर सहभागिहरु गोष्ठीमा आईपुगेका थिए । कतिपयले पार्टीले बोलाई हाल्यो जाउँ न त, भन्ने मनशाय तथा कतिको उहि पुरानै कुराहरु त होलान् भन्ने लागेको अवश्य थियो । हुन पनि कार्यक्रमको चाँजोपाजो मिलाउँदै गर्दा बखत नै कार्यशालामा के के विषय आउने भन्ने कुनै तालिका कसैलाई खबर गरिएको थिएन । मात्र फागुन १ गतेबाट ३ गते सम्म दिक्तेलमा पार्टीले हरी रोक्का लगायतको मान्छे राखेर गोष्ठी गर्ने भएकाले उपस्थित भईदिन भन्ने थियो । प्रशिक्षकहरु को को आउने भन्ने कुरा आईपुगेकै दिन थाहा पाएका सहभागीहरुलाई अरु शंका गर्ने सुविधा मनग्गे थियो ।

फागुन १ गते ११.०० बजेको समय सिमा तोकिएको भएपनि केही अबेर कार्यक्रम शुरु भएको थियो । कार्यक्रमको पहिलो चरणमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम पार्टीका नेता टंक राईको प्रमुख आथित्यतामा शुरु भएको थियो । शहिदहरुको तस्विरमा माल्यर्पण गर्दै शुरु भएको कार्यक्रममा राष्ट्रिय राजनीतिका केही चर्चा तथा परिचर्चाहरु भए । नेपाली जनताले उपभोग गर्दै आएको वर्तमान राजनीतिक प्रणालीको शुत्रधारी आन्दोलनका रुपमा रहेका शसस्त्र संघर्ष र यसले जन्माएको शासन व्यवस्थाको बारेमा छलफलहरु भए ।

पहिलो चरणको कार्यक्रम पछि दोस्रो चरणको कार्यक्रम शुरुवात भयो । शुरुमा सहजकर्ताहरुलाई परिचित गरिसकेपछि कार्यशालाको उदेश्य, महत्व र आचारसंहिताको बारेमा रामकुमार राईले जानकारी गराउँदै कार्यक्रममा ग्रामिण विकासको सन्दर्भ, स्थानीय तहमा विकासको सवाल, संचारमाध्याम र जनप्रतिनिधीहरुको सम्बन्ध तथा स्थानीय तहका अधिकार र कानुनी व्यवस्थाको विषयमा छलफल हुने जानकारी दिईयो ।

विषय प्रवेश सँंगै ग्रामिण विकासको अवधारणा आवश्यकता र औचित्यको सन्दर्भमा माओवादी केन्द्रका नेता टंक राईले सहजीकरण मनतव्य राखेर विषयलाई बाटो देखाए । उनले ग्रामिण विकास भनेको गाउँको उन्नती गर्ने कार्य हो भन्दै तर अहिले गरिरहेको परम्परागत विकास भन्दा बढी आधुनिकिकरणको आवश्यकता रहेको बताए । उनले विकासलाई व्यवसायसँग जोड्नु पर्ने बताउँदै सरकारले गर्नुपर्ने नीतिगत सुधारहरुको बारेमा समेत सुझाए । यस पछि सहजकर्ताको तर्फबाट विज्ञ हरि रोकाले कार्यशालाको ढाँचा पहिले सबै सहभागीहरुबाट समस्या सुन्ने र यसका बारेमा विश्लेषण गर्ने रहेको जानकारी दिँदै शुरुवात भयो ।

सहभागिहरुले विषयलाई भने परम्परागत ढाँचा बुझ्दा केही असहजता भएको महशुस गरिएको कार्यशालामा निकै राम्रा र गहन विषयहरु उदृत भए ।

शुरुवातमा ऐसेलुखर्क गाउँपालिका बाट सवालको शुरुवात भएको थियो । सबै पालिका तथा नेकपा माओवादी केन्द्रले चुनाव जितेका वडाका प्रतिनिधीहरुबाट लिइएको सुझावहरुमा विशेषत सबैतिरबाट कृषि प्रणालीको बारेमा केन्द्रित रहेको पाईएको छ । साझा विषयका रुपमा कृषिक्षेत्रमा यान्त्रिकरण गर्ने देखि आधुनिक खेति प्रणालीलाई अपनाउने गरी कार्यक्रमको बारेमा सोचिएको पाईएपनि स्थान विशेष अन्य उत्पादनका बारेमा त्यति धेरै गम्भिर्यता भने भेटिएन । ऐसेलुखर्कले कृषि क्षेत्रमा उत्पादन गरेर बाहिर बजार सम्म के लैजाने भन्ने बारेमा अन्यौलता रहेको छ । भने केपिलासगढीमा समेत अलमलको अवस्था भेटियो । केपिलासगढीले सुङदेल फेदीको माथिल्लो भेगमा पाईने मालिङ्गो महत्व उठाएन । रावावेसीले रावाखोलाको धानको बजारीकरणको योजना देखाउन सकेन । भने हलेसी सुक्खा क्षेत्रमा उत्पादन हुने गहत तथा बदाम जस्तो खेतिको बारेमा योजना कमै उठे ।

सबैतीर जोडतोडले ‘विकास माने सडक’ भन्ने किसिमका तर्क र योजनाहरु प्रस्तुत भए । कतिपय समस्या विजुली र पुलको बाहेक अन्य ग्रामिण विकास र सामाजिक आर्थिक जीवनस्त र सुधारका प्रस्तावहरु ओझेलमै परेको पाईए । जनताबाट चुनिएका नेतृत्वले जनताको इच्छा र चाहानासँगै सिँगो परिवर्तनको अनुभुत गर्न सक्ने आफ्नो पालिका वा वडालाई कसरी बनाउने भन्ने बारेमा प्रष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता तडकारो देखियो ।

नेता र नेतृत्वले समेत निर्वाचनको बेलामा जे बोलियो त्यसलाई कार्यन्वयन गराउन खेल्नुपर्ने भुमिकालाई अझ थप शसक्त बनाउन आवश्यक रहेको महसुस गराएको कार्यशालामा समग्रतामा उत्कृष्ट रहेको थियो । सहजकता भवानी बरालको संचारमाध्याम र जनप्रतिनिधी सम्बन्धी विषय र हरिन्द्र राईको स्थानीय तह र वर्तमान कानुनी विषेशताको विषयले निकै चिन्तनको द्धार खोलेको छ । बाँकी आगामि दिनमा यस्तो कार्यक्रम निरन्तर भएमा निकै उपलब्धी मुलक हुने विस्वास सबैलाई जगायो । यति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार