थार मारेको अभियोगमा वडा अध्यक्ष तामाङलाई ५ हजार जरिवाना


दिक्तेल
माघ २५, बुधबार । थारल (थार) मारेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका वडा नं २ बाकाचोलका वडाअध्यक्ष नन्दकुमार तामाङलाई जिल्ला अदालत खोटाङले पाँचहजार रुपैया जरिवाना तिराउने फैसला गरेको छ । एक बर्ष अगाडि बाकाचोल स्थित तामाङकै घरमा मारिएको अवस्था थारको बच्चा भेटिएको थियो ।

थारलाई नियन्त्रणमा लिई पालिराखेको भन्ने सूचनाका आधारमा गस्ती पठाउँदा थार मारिसकेको अवस्थामा भेटिएको थियो । जिल्ला अदालत खोटाङले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन अनुसार थार मारेको अभियोगमा तामाङलाई पाँचहजार रुपैया जरिवानाको फैसला ठिक एक बर्षपछि गरेको हो ।

थार मारेको अभियोग सव डिभिजन वन कार्यालय ऐसेलुखर्कका फरेष्टर पुष्पकुमार राई वादी भई जिल्ला अदालतमा मुद्धा परेको थियो । सव डिभिजन वन कार्यालयले तामाङ लगायत ८ जनालाई प्रतिवादी बनाई मुद्धा अगाडि बढाएको थियो ।

प्रतिवादीका रुपमा तत्कालिन सोही वडाका वडा अध्यक्ष सन्तवीर तामाङ, स्थानीय लोकबहादुर तामाङ, लोकेन्द्र तामाङ, प्रकाश तामाङ, विचारी तामाङ, मनिराज तामाङ र प्रकाश मोक्तान तामाङ रहेका थिए । अन्य सबै प्रतिवादीलाई भने अदालतले सफाई दिएको छ ।

थार उच्च पहाडी भेगमा पाइने स्तन्धारी तथा साकाहारी जंगली जनावर हो । कुनै पनि जंगली जनावरलाई नियन्त्रणमा लिने, दुःख दिने तथा मार्ने कार्य कानुनमा बर्जित छ । भबितब्य तथा अपवादमा नियन्त्रित हुन पुगे तत्कालै सम्बन्धित निकायलाई जानकारी गराई उनीहरुको रोहवरमा छोडिदिनुपर्ने उल्लेख छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार