उपयोग विहिन चिस्यान केन्द्रको निरिक्षण

खोटाङ
माघ, २४ मंगलबार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ बुईपामा उपयोग विहिन रहेको चिस्यान केन्द्र (कोल्ड स्टोर) को निरिक्षण गरिएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको टोलिले उक्त चिस्यान केन्द्रको निरिक्षण गरेको हो ।

निर्माण सम्पन्न भएको करिब एकबर्ष पुग्न लाग्दा सम्म चिस्यान केन्द्र उपयोग विहिन भएको गुनासोपछि जिल्ला समन्वय समितिले चासो बढाएको छ । जिल्ला समन्वय समितिका उप–प्रमुख सुरेश कुमार तामाङ, शैक्षिक अभियान्ता सुर्य राई लगायतका टोलिले चिस्यान केन्द्र पुगेर संभावना प्रयोगका बारेमा अध्ययन समेत गर्नु भएको हो ।

संघीय सांसद निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र उद्घाटन पछि प्राय बन्द रहेको छ । उद्घाटनमै सिमित बनेको चिस्यान केन्द्रलाई आलु, सुन्तला, किवी लगायतका कृषिजन्य सामग्री भण्डारण गर्न उपयोगमा ल्याउनका लागि समन्वय गर्ने जिल्ला समन्वय समितिका प्रमुख राईले जानकारी दिनु भयो । ३० टन भार क्षमताको चिस्यान केन्द्र २०७८ चैत २५ गते तत्कालिन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए ।

किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफुल लगायतका कृषि उपज भण्डारणका लागि बुईपाको पञ्चरदोबाटो नजिकै चिस्यान केन्द्र निर्माण गरिएको हो ।
सार्वजनिक दुई रोपनी जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रुपमा भण्डारण गर्न सकिन्छ ।

चिस्यान केन्द्र उद्घाटनका क्रममा किसानको तरकारी र फलफुल कुहिएर जाने समस्याको अन्त्य गर्न सघाउ पुग्ने भन्दै भाषण हुँदा किसानले हर्षले ताली पिटेका थिए तर हालसम्म उपयोगमा नआउँदा चिस्यान केन्द्रमा भएको सरकारी लगानी बालुवामा पानी झैं भइरहेको छ । जिल्लामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या छ ।

नगरपालिकाले कार्यविधि निर्माण नगरेका कारण चिस्यान केन्द्र हालसम्म सञ्चालनमा आउन नसकेको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । नगरपालिकाको स्वामित्वमा रहेको चिस्यान केन्द्रको रेखेदेख मात्र वडाको दायित्वभित्र पर्ने वडा कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार