ईन्द्र नाराथुङ्गे, खाेटेहाङ
माघ,९ साेमबार । खोटेहाङ गाउँपालिकाको वडा नं ९ लिच्कीराम्चेका काकाकुल स्थानीय वासीहरुलाई दिप्रुङ चुईचुम्माकाे दिहुँले दया गर्ने भएकाे छ। खानेपानीको चर्काे समस्या झेल्दै आएका उनिहरुलाई दिहुँवासी उपभाेक्ताहरुले खानेपानीकाे मुहान दिएर दया गर्ने भएका हुन् ।
आपसी साइनो सम्बन्धले जाेडिएका यी दुई गाउँका उपभाेक्ता बीच आईतबार भएको बृहत छलफल पछि समाधान निस्किएकाे छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको दिहुँ खोलाबाट मुहान थापेर लिच्कीराम्चे पुर्याइने पानीको मुहानमा विवाद रहँदै आएको भएपनि सहमति जुटेकाे हाे ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं ५ वातिखुमका उपभोक्ताहरुले उक्त पानी सिञ्चाईको लागि उपभोग गर्दै आएका छन् । उनिहरुले उक्त पानी लिच्कीराम्चे लगेपछि सिञ्चाईमा समस्या हुने भन्दै पानी लगे पनि ४० एम.एम. को पायपमा मात्रै लानु पर्ने माग राखेका थिए ।
दुवै उपभाेक्ताहरु बिच छलफल पछि बैसाख, जेठ र असार तीन महिना ५० एम.एम. बराबरको पानी छोड्ने र बाँकी महिना ९० एम.एम. कै पायपमा पानी लाने गरि सहमति भएकाे छ । खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राई, सम्बन्धित वडाका वडाध्यक्षहरुसँगै चिप्रिङका वडाध्यक्ष, सप्तेश्वर छितापोखरीका निवर्तमान वडाध्यक्ष सहितको रोहवरमा दुवै पक्षको छलफल भएको थियो ।
खोटेहाङ गाउँपालिकाको सबैभन्दा सुख्खाग्रस्त क्षेत्र लिच्कीराम्चेको कालापानी गाउँमा दुई वर्ष अगाडि वर्तमान प्रदेश संसद भुपेन्द्र राईको पहलमा सुनकोशीबाट पानी पम्पिङ गर्ने योजना सम्पन्न भै सञ्चालनमा रहेको छ । उक्त योजनामा वर्तमान संघीय संसद रामकुमार राई “पासाङ” ले प्रदेश मन्त्री हुँदा सोलार जोडिदिएपछि बिजुलीको महंगो बिल तिर्नबाट उपभोक्ताहरु मुक्त भएका छन् ।
खोटेहाङ गाउँपालिका वडा नं ६ इन्द्राणीपोखरीको छरछरे खोलाबाट थोरै पानी लगेर प्यास मेट्दै आएका लिच्कीराम्चेवासीहरु अब भने काकाकूल जिन्दगीबाट मुक्त हुने भएपछि खुशी व्यक्त गर्न थालेका छन् ।