सिरुवासका चन्द्रले चम्काएको हतियार


भिम राई
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाको सिरुवास बस्ने चन्द्र बहादुर विक वरिपरिका नौ वटा गाउँको कृषि औजार बनाएर धान्ने एकमात्र व्यक्ति हुन् । उनलाई बेला बेलामा उनका दाजु पहलमान विकले सघाउँछन् । भर्खरै खुलेको कच्चि सडक भन्दा माथी दाजु पहलमान विकको घर छ । उनको भने सडकसँगै जोडिएको तर बाटोभन्दा तल्लोपटी पर्छ ।
सिरुवास स्थीत जालपा आधारभुत विद्यालयको नजिक उनिहरुको टोलमा जम्मा ३ घर दलित वस्ति छ । तीन घर मध्ये बिचघरमा रहेको चन्द्रले चम्काएको हतियारले पुरै नौवटा गाउँमात्र नभई बेला बेला पाथेकालाई समेत चम्काउने गर्दछ ।

त्यस क्षेत्रका सबैले कृषि पेशालाई मुख्य पेशा गरिरहेका छन् । उनिहरुको कृषि पेशाको सारथी बनेका चन्द्रबहादुरले भने फलामको कृषि औजार निर्माण गर्ने तथा त्यसलाई मर्मत गर्ने काम गरेर जीवन चलाईरहेका छन् । चन्द्रबहादुरका जम्मा ६ जना सन्तान मध्ये ४ छोरी २ छोरा बुवा हुन् चन्द्रबहादुर । गाउँघरमा चन्द्रे भनेर चिनिने उनको श्रीमत कुसुम विक नजिकैको जालपा आधारभुत विद्यालय व्यवस्थापन समितिको सदस्य छिन् ।

सिरुवास र वरिपरिका गाउँहरु चोखाने, दम्दि, स्वाजुङ, भाँगु, धाप, छोके, माङसाङ्गे देखी डढेली सम्मको कृषकहरुका लागि उनी एकमात्र सहयोगि हुन् । कोदालो, कचिया, फाली, करुवा, बन्चरो, खुकुरी लगायतका सामाग्री बनाउनु प¥यो वा अर्जाप्नु परेमा सबै उनकै घरमा आईपुग्नु पर्दछ ।

उनको घरमा रहेको ४ बहिनी छोरीहरु मध्ये कान्छि छोरी र दुई भाई छोराको विवाहा हुनु बाँकी रहेको चन्द्रले सुनाए । छोराहरु भर्खरै मात्र वैदेशिक रोजगारबाट फर्किएका छन् । उनिहरुको विवाहको तयारी भईरहेको उनको संकेत थियो ।

आफुले आफ्नो बावुबाजेले गर्दै आएको पुख्र्यौली पेशा गर्दै आएकोमा खुशी रहेको बताउने उनले अब भावि पुस्ताले यसलाई अुनसरण गर्न नसक्दा दिक्दारपनि मान्छन् । उनले आफ्नो छोराहरुले समेत यो सिप जानेको बताउँछन् । ‘तर अहिले यो मात्रै पेशाले गाउँमा टिक्न सकिदैन रहेछ । के गर्ने बाध्य भएर छोराहरुलाई विदेश पठाउनु परेको छ ।’

उनको श्रीमत कुसुम विकले पनि यस्तै गुनासो सुनाउछिन् । ‘गाउँमा बसेर के गर्नु ? अरु सबैले मिठो मसिनो खाएको देख्दा आफ्नो छोराछोरीलाई रोकेर राख्न सकिदैन रहेछ ।’ आरणमा बसेर फलाम पिटेरमात्र छाक टार्न मुस्किल छ । श्रमको मुल्य उठ्दैन । अहिले फलामको मुल्य आकाशिएको छ । आफुले किनेर आफ्नो खेलो गर्न पाए अलि आम्दानी हुने थियो होला । अरुको सामान अर्जाप उर्जुप गरेर मात्र त कति पो हुन्छ र ?

हुनपनि अहिले फलामको मुल्य बढेको छ । उनि फलाम खरिद गर्न पाथेका सम्ममात्र जान्छन् । त्यहाँ जुरे फलाम १ किलो दुईसय रुपैया पर्छ । त्यसबाट ६ वटा जति कचिया बनाउन सकिन्छ । यसलाई दुई अढाई सयमा बिक्रि गरिन्छ । तर बनाउन लाग्ने परिश्रमपनि उठे जस्तो लाग्दैन । उनको अनुभव छ ।

अझै अर्को समस्या त सबैतिर सामुदायीक वन भएपछि कोईला पाउनै मुस्किल छ । आरणमा बस्दा चाहिने कोईला बनाउने गोल बस्नु लेखतिर जानु पर्ने बाध्यता छ । ‘यसरी सबै दुःख सम्झिदा त गरिखान चर्को पो लाग्छ हौ ?’ उनले भने ।

आफुलाई उक्त आरण बनाउनपनि स्थानीय सरकारले दलित समुदायलाई दिने सुविधा मार्फत प्राप्त भएको बताए । ‘अहिले मेसिनले बनेको भाँडी भएकाले केही सुविधा त छ । नत्र त मरेको गोरुको छालाको बनाउनु पथ्र्यो । कम्ति चर्को हुन्थ्यो र !’ उनले गफै गफमा थपे ।

उनलाई यस्तो बेलामा सरकारले केही गर्दियोस भन्नेपनि मनमा नलागेको होईन । ‘सरकारले अलिकती व्यवस्थित आरण बनाईदिए हुन्थ्यो’ उनले थपे । तर उनलाई दैनिक आरण बस्ने फुर्सतपनि नहुनेपनि सँगै बताईरहेका थिए । कारण ‘खेतिपाती पनि गर्नै प¥यो हजुर’ उनले फिस्स हाँस्दै भनेका थिए । यसरी भनिरहँदा छोराहरुले भने अलिअलि मात्नुपनि पर्ने हैन भन्दै जिस्काउँदै थिए ।

उनलाई उनका दाजु पहलमानको पनि उतिकै सहयोग रहेको छ । पहलमान पनि उनि जस्तै हो मा हो मिलाउँछन् । ‘हाम्रा सबै विष्टहरु साझा हुन् ।’ भाई र आफु मिलेर एक प्रकारले गाउँको समाजसेवा गरेको उनिहरुको तर्क रहेको छ । ‘वास्तवमै हामीले लिएको पैसा भन्दा धेरै त गाउँकै सेवा गरेको जस्तो पो लाग्छ हौ सर !’ पहलमान विकले सुनाए ।

उता सिरुवास नै घर भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नं १० वडा अध्यक्ष मुगाधन राईले भने उनिहरुलाई व्यवस्थित हिसाबले काम गर्न सहयोग गर्ने योजना रहेको बताएका छन् । उनिहरुलाई व्यवसायीक सिप र क्षमता दिएर रोजगारीको सिर्जना हुने गरी काम गर्ने वडाको योजना रहेको वडाअध्यक्ष राईले जानकारी दिएका छन् ।

पहलमान बिक र चन्द्र बहादुर बिक ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार