आप्रवासी श्रमिक दिवसमा बचत गर्ने बानी बसाउन खुत्रुके वितरण


दिक्तेल
पुस,४ आईतबार /  विश्व आप्रवासी श्रमिक दिवसकाे अवसर पारेर खाेटाङमा आप्रवासी श्रमिककाे परिवारलाई खुत्रुके बितरण गरिएकाे छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)  दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे पहलमा खुत्रुके वितरण गरिएकाे हाे ।

हरेक बर्ष डिसेम्बर १८ मा मनाइने विश्व आप्रवासी दिवसकाे अवसरमा सामीले दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकामा दुईदिने दिवस मनाएकाे छ । पालिकाकाे वडा नं. १२ जालपा र वडा नम्बर १३ नुनथलामा सामी कार्यक्रम अन्तर्गत संचालन भइरहेको रेमिट्यान्स सदुपयोग र व्यवस्थापन कक्षामा सहभागी आप्रवसीका परिवारहरुसंग याे दिवस मनाईएकाे हाे ।

कार्यक्रममा सहभागीहरुले घरमा एक्लै हुँदा भोग्नु परेका समस्या र चुनौतीहरु साथै अनुभवहरु सुनाएका छन् ।
उनिहरुले विदेशमा रहेका परिवारको सदस्यलाइ चाँडै घर फर्काउने र अब फेरि विदेश नजानका लागि आफुले पनि आम्दानीमुलक काम सुरु गरिसकेको बताएका छन्  । कार्यक्रममा दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाेभाकर पाैडेलले आप्रवासीका परिवारले आम्दानीमुलक काम गर्न चाहेमा सीपमुलक तालिम लगायत अन्य जीविकाे पार्जनका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्नु भएकाे कार्यक्रमका संयाेजक ओजाेनबाबु आचार्यले जानकारी दिनुभयाे ।

वडाहरुमा मनाईएकाे दिवसमा वडा न. १२ जालपाका वडा अध्यक्ष दानबहादुर राई, वडा न. १३ नुनथलाका वडा अध्यक्ष भगेश्वर राईले वैदेशिक राेजगार बाध्यता भएकाे बताउनु भएकाे छ । उहाँहरुले गाउँमै राेजगार गर्न सकिने प्रशस्त संभावना भएर पनि लगानीकाे अभावका  कारण विदेशिनु बाध्य हुनुपरेकाे बताउनु भएकाे छ ।

यस्तै आईतबार साँझ सदरमुकाम दिक्तेलमा सामी कार्यक्रमले वैदेशिक राेजगारमा गई ज्यान गुमाएका श्रमिकहरुकाे सम्झनामा दिप प्रज्वलन समेत गरेकाे छ । यसैगरि दिवसै अवसरमा आप्रवासीका परिवारलाई बचत गर्ने बानीकाे विकास हाेस भन्ने नमुनाको रुपमा खुत्रुके बाँडिएको आचार्यले जानकारी दिनुभयाे  । संयुक्त राष्ट्र संघको महासभाले सन् २००० को डिसेम्बर १८ मा  आप्रवासीको सरोकारको दस्तावेज पारित गरेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार