निःशुल्क अभ्यास पुस्तिका वितरण सँगै गृहकार्य परिक्षण गर्दै केपिलासगढी गाउँपालिका


केपिलासगढी, १२ मंसिर / सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण नियमित गर्न गाउँपालिकाले अध्यास पुस्तिका वितरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । केपिलासगढी गाउँपालिकाले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियासिल गराउन निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी पुनः चेकजाँच गर्ने कार्यक्रम लागू गरेको हो ।

कक्षा–१ देखि कक्षा–३ सम्मका विद्याथीलाई आफैले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ पालिकाले आज सोमबार निःशुल्क वितरण गरेको छ । गाउँपालिकाले कक्षा कार्य र गृहकार्य चेक गर्नेगरी प्रथम चरणमा कार्यक्रम संचालनमा ल्याएको हो । पृष्ठभूमीमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यास पुस्तिका’ आइतबार औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकलाई हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले गाउँपालिकाभरीका ३७ वटा सामुदायिक विद्यालयका कक्षा–१ देखि ३ सम्मका ९४९ विद्यार्थीलाई मङ्सिर महिनाका लागि चार÷चार वटाका दरले तीन हजार ७९६ वटा अभ्यास पुस्तिका वितरण गरेको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए । यस शैक्षिक सत्रका लागि गाउँपालिकाको लगानीमा १६ हजार कापी छापिएको जानकारी दिँदै उनले पुस, माघ र फागुन महिनाका लागि प्रतिविद्यार्थी चार वटाका दरले वितरण गर्नेगरी अन्य अभ्यास पुस्तिका भण्डारण गरेर राखिएको बताए ।

पहिलो पृष्ठमा मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख भएको ‘अभ्यास पुस्तिका’ वितरणपछि विद्यार्थीले अन्य कापी प्रयोग गर्न पाउने छैनन् । अभ्यास पुस्तिकाको पछाडिपट्टिको अन्तिम पृष्ठमा विद्यार्थी, शिक्षक र अभिभावकले पालन गर्नुपर्ने नियम उल्लेख गरिएको छ ।

कक्षा कार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रअले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षणिक क्रियाकलाप बारे गाउँपालिकालाई जानकारी हुने जनाइएको छ ।

विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रअले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले चेक गर्ने गाउँपालिकाका उपप्रमुख गुरुराज राईले जानकारी दिए । कार्यक्रम विद्यार्थीलाई सक्रिय बनाउन मात्र नभएर केही कामचोर शिक्षकमाथिको निगरानी गर्न पनि ल्याइएको उनको भनाई रहेको छ । ‘कतिपय शिक्षकले नपढाउने, पढाए पनि कक्षा कार्य र गृहकार्य गराउन पर्याप्त ध्यान नदिएकाले निःशुल्क कापी उपलब्ध गराउने र चेक गर्ने रणनीति अघि सारिएको हो । यसले शिक्षकमाथि विद्यार्थीलाई कक्षा र गृहकार्य गराउन दबाब सिर्जना हुने अपेक्षा गरेका छौँ ।’ उपप्रमुख राईले भने ।

विद्यार्थीको कापी चेक गर्ने नीतिले गाउँपालिकाभरीका विद्यालयमा कोर्सलाई एकै समयमा पुरा गर्न दबाब पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । कापी अभावमा गृहकार्य (होमवर्क) नगर्ने विद्यार्थीले पनि नियमित होमवर्क गर्ने वातावरण बन्ने गाउँपालिकाको अपेक्षा छ ।

गाउँपालिकाले लागू गरेको यो कार्यक्रमले फर्जी विद्यार्थीको संख्या देखाउने परिपाटीसमेत नियन्त्रण हुने गाउँपालिकाका प्रमुख समिर राईको भनाई रहेको छ । विद्यार्थीलाई लेख्न नलाएर वा अभ्यास नगराएकै कारण सामुदायिक विद्यालयको गुणस्तर खस्किएको बुझाइ रहेको बताउँदै प्रमुख राईले शिक्षकले पढाउने मात्रै अभ्यास नै नगराउने समस्या देखिएको पनि बताए । ‘विद्यार्थीको बेस बनाउन तल्लो कक्षाको कापी चेक गर्ने रणनीति बनाइएको हो । पढ्नु पर्छ, पढाउनुपर्छ भन्ने मानसिकता विकास गरिदिन खोजिएको हो । यसले शिक्षकलाई जिम्मेवार बन्न दबाब पुग्छ । विद्यार्थीलाई अभ्यासमा अग्रसर गराउँछ । यसबाट विद्यार्थी, शिक्षक र विद्यालयबीच प्रतिष्पर्धा पनि हुन्छ ।’ प्रमुख राईको भनाई छ ।

शैक्षिक गुणस्तर सुधारका लागि प्रअ तथा शिक्षा शाखाले विषय शिक्षक र कक्षा शिक्षकलाई लिखित सुझाव दिने ठाउँ बनाइएको छ । अभ्यास पुस्तिका प्रयोगका क्रममा विद्यार्थीले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गराउनुपर्ने, कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्ने र अभ्यास पुस्तिकाको सम्पूर्ण पाना लेखिसकेपछि विद्यालयमा बुझाउनु पर्नेछ ।

शिक्षकले प्रत्येक दिन कक्षा कार्य र गृहकार्य दिने र रातो मसी प्रयोग गरी जाँच गर्नुपर्ने, विद्यार्थीले सम्पूर्ण पेज लेखिसकेपछि प्रअबाट प्रमाणित गराएर विद्यालयमार्फत शिक्षा शाखामा पठाउनुपर्ने छ । यस्तै, अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिए÷नदिएको जाँच गर्नुपर्ने, आफ्नो छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्य रुपमा गर्न लगाउनुपर्ने नियम राखिएको छ ।

आगामी शैक्षिक–सत्रदेखि कक्षा–४ र कक्षा–५ मा पनि ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रम प्रभावकारी देखिए कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अंग्रेजीको कापी चेक गर्ने अवधारणा बनाइएको गाउँपालिका प्रमुख राईको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार