बाम–लोकतान्त्रिक गठबन्धनको साझा प्रतिवद्धता : हरेक गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा

खोटाङ, २७ कातिक । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले हरेक गाउँपालिकामा एक÷एकवटा अस्पताल निर्माणगरी विशेषज्ञ डाक्टरसहितको स्वास्थ सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी गठबन्धन गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारहरुले संयुक्तरुपमा प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने, स्वास्थ्य हाल कार्यरत स्वयम्सेविकालाई उचित पारिश्रमिकको व्यवस्था गर्ने, प्रत्येक वडाका स्वास्थ्य संस्थामा अनिवार्य बर्थिङ सेन्टर सञ्चालन गरी २४ घन्टे सेवा प्रदान गर्ने, प्रत्येक पालिकामा एम्बुलेन्सको व्यवस्था गरी जनतालाई निःशुल्क सेवा दिने बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले प्रकाशन गरेका प्रतिवद्धतापत्रमा उल्लेख छ ।

हरेक स्वास्थ्य संस्थालाई आधुनिक उपकरण र पर्याप्त दक्ष जनशक्तिसहित स्तरोन्नति गर्ने, क्यान्सर, किडनी फेल, मुटु रोग जस्ता प्राणघातक रोगीहरुलाई सरकारबाटै आवश्यक सहयोग उपलब्ध गराउने, जनस्वास्थ्य कार्यालयलाई क्रियाशील गराएर चेतनामूलक स्वास्थ्य सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका बुँदाहरु स्वास्थ्य सेवा शीर्षकको प्रतिवद्धतापत्रमा समेटिएका छन् ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (क)मा नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तीनैजना उम्मेदवारहरु यतिबेला आ–आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावीसभामा व्यस्त छन् ।

एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा बाम(लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रनुभएको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (क)मा स्वतन्त्रसहित आठ÷आठ तथा प्रदेशसभा (ख)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार