खोटाङ, ११ असोज । महिला जनप्रतिनिधीहरुका लागि दलित महिला केन्द्रद्धारा निरन्तर तालिम संचालन भईरहेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई शि–लिड्स परियोजनाको मोड्युल १ को तालिम दिईएको हो ।
यस्तै अघिल्लो स्थानीय तहमा नेतृत्व गरेका महिला जनप्रतिनिधीहरुलाई पैरवी सम्बन्धी तालिम दिएको छ । अघिल्लो कार्यकालमा निर्वचित भएको भएपनि यस पटकको निर्वाचनमा दलहरुले टिकट नदिएका र टिकट पाएपनि पराजित भएका महिला प्रतिनिधीहरुलाई परियोजनाले पैरबी गर्न सक्ने बनाउन यो तालिम दिएको शि–लिड्सका जिल्ला संयोजक इन्दुकला राईले जानकारी दिनु भयो ।
शि–लिड्स परियोजनाको पहिलो मोड्युल तालिम असोज ५ गते शुरुभई ७ गते सम्म चलेको थियो । भने पैरबी सम्बन्धि तालिम असोज ९ गतेबाट शुरु भई ११ गते समापन भएको छ ।
खोटाङमा जन निर्वाचित महिला प्रतिनिधीहरुलाई दलित महिला केन्द्र नेपालद्धारा क्षमता विकास सम्बन्धि तालिम शि–लिड्स संचालन गर्दै आएको छ । स्वीस सरकार विकास सहयोग एसडिसी र अष्ट्रेलियन एडको आर्थिक सहयोग र इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम(IFES)को प्राविधिक सहयोगमा तालिम भईरहेको हो ।
जिल्लाको आठवटा स्थानीय तहमा संचालन भईरहेको दोस्रो चरणको तालिम अन्र्तगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थ भट्टराई र उपमेयर विसना राईको उपस्थितीमा असोज ५ गते बाट शुरु भएको तालिममा संविधान सभाका सदस्य दुर्गाजयन्ती राई र लक्ष्मिकुमार राईले सहजिकरण गर्नु भएको थियो । शि– लिड्सको मोड्युल १ तालिममा २१ जना महिला जनप्रतिनिधीहरु समावेश भएका थिए ।
खोटाङको केपिलासगढी र बाराहापोखरी गाउँपालिका बाहेक ८ वटा स्थानीय तहका १३९ जना निर्वाचित महिला प्रतिनिधीलाई तालिम दिन लागेको परियोजनाले संचालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्व जनप्रतिनिधीहरुलाई दिईने तालिमको सहजीकरण युवराज रिजाल र कान्ता केसीले गर्नु भएको छ । पैरवी सम्बन्धि तालिममा १५ जनाको सहभागिता रहेको थियो ।
दोस्रो चरणको प्रारम्भिक प्रशिक्षण मोड्यूल १ मा ८ पालिकाका १२४ जना महिला जनप्रतिनिधिहरु सहभागी हुने जिल्ला संयोजक राईले जानकारी दिनु भयो । यसअघि पहिलो चरणमा खोटाङको ५ ओटा पालिकाका ८९ जना निर्वाचित महिला सदस्यहरुले तालिम लिइसकेका छन् । नेतृत्व विकाससँग सम्बन्धित विभिन्न ८ ओटा विषयवस्तुमा सहजीकरण गरिने छ ।
जिल्लाको ऐसेलुखर्क, रावाबेसी, साकेला, दिप्रङ चुईचुम्मा, खोटेहाङ, जन्तेढुँगा गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संचालन हुने छ ।