निर्माण कम्पनिलाई भुक्तानी नदिँदा मध्यपहाडी लोकमार्गमा सर्वसाधरणलाई सास्ती

भिम राई
खोटाङ, १ असोज÷ मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा निर्माण व्यवसायीले गरेको थप कामको भुक्तानी सडक विभागले नदिँदा सर्वसाधरणलाई सास्ती थपिएको छ ।। लोकमार्गको छेपेखोला मोटरेवल पूल निर्माणको ठेक्का लिएको सगरमाथा सजिव जेभि निर्माण सेवाले छेपेखोला वरिपरि गएको पहिरो सफा गरेको भुक्तानी नपाउँदा सर्वसाधरणले थप सास्ती भोग्नु परेको हो ।

निर्माण कम्पनीले तोकेको मापदण्ड भन्दा बाहिरपनि विभागको आग्रहमा पटक पटक काम गरेको भएपनि भुक्तानी नपाएपछि निर्माण कम्पनी सगरमाथ सजिव जेभिले काम रोकेपछि समस्या आएको निर्माण कम्पनीका कृष्ण घिमिरे जानकारी दिए । छेपेखोला मोटरेपुल भएको स्थानमा समेत शुरुमा खन्ने र पुर्ने कामबाहेकको कुनै सम्झौता नभएकाले समेत समस्या भएको घिमिरेको भनाई रहेको छ ।

मध्यपहाडी लोकमार्गको यस सडक खण्डका फिल्ड भिजिट समेत गरेका पुष्पलाल लोकमार्ग सडक खण्डका आयोजना प्रमुख तथा विभागका डिई दिपेश पाण्डेले भने निर्माण व्यवसायीहरुले ठेक्का सम्झौता गर्दा पहिरोको सम्भवना नदेखेको र बिओकेमा उल्लेख नभएको बताए । उनले न्युनतम दररेटमा ठेक्का सम्झौता भएकाले निर्माण कम्पनीले खन्ने र पुर्ने कामका लागि सम्झौतामा उल्लेख गरेको बताए ।
पहिरो सोर्नेकामका लागि सम्झैता नभएकाले सो कामका लागि थप सम्झौता हुनुपर्नेमा सो समेत हुन नसकेकाले समस्या भएको उनको भनाई रहेको छ । ‘अब विभाग आफैले मेसिन पठाएर उक्त क्षेत्रको पहिरो सोर्न लगाईने छ ।’ डिइ पाण्डेले भने ।

उता निर्माण कम्पनीले भने आयोजना प्रमुख हरि पोख्रेलले बाँकी पहिरो सोर्ने कामको सम्झौता गर्न नमानेकाले समस्या आएको बताएका छन् । आयोजना प्रमुख पोख्रेलले फिल्डभिजिट सम्म नगरेकाले भुगोलको बारेमा थाहा नपाएको उनिहरुको आरोप छ । यसका बारेमा प्रमुख पोख्रेलसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
पर्यटकीयस्थल चखेवाभञ्ज्याङ हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ४६ किलोमिटर लामो सडकखण्डको करिब ३५ किलोमिटर कालोपत्र सम्पन्न भएपनि बीच भागमा पर्ने खोलाहरु सँगै ९ किलो मिटरमा कालो पत्रे हुन बाँकी छ ।

नेपाल सरकारको करिब रु एक अर्ब लगानीमा छ वर्षअघि कालोपत्र शुरु गरिएको उक्त दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको खोटाङस्थित पङ्खुखोला, मेवाखोला, छेपेखोला र भालुखोलामा पक्की पुल निर्माण भएको छैन । कालोपत्रको काम सम्पन्न भइसकेको बाँझेच्यानाँडा–दिक्तेल सडकखण्डमा पर्ने पङ्खुखोला र छेपेखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल अहिले अलपत्र अवस्थामा रहेका छन् ।

बगुवा माटो (पहिरो झरिरहने) रहेको छेपेखोलामा मोटरेबल पक्की पुल निर्माण गर्न जग खनिएको खाल्डोका कारण माथिल्लो भागबाट निरन्तर पहिरो झर्दा पटक–पटक यायायात अवरुद्ध हुँदै आएको छ । सगरमाथा सजिव जेभिले निर्माणको जिम्मा लिएको उक्त छेपेखोलाको मोटरेबल पक्की पुलका लागि एउटा पिलरमात्र ठड्याएर अलपत्र अवस्थामा छ ।

पङ्खुखोलामा निर्माणाधीन पक्की पुल वि.सं. २०७५ असार मसान्तभित्र सम्पन्न गर्नेगरी सिरुवा कन्ट्रक्शन प्रा.लि.ले वि.सं. २०७२ साल असोजमा ठेक्का सम्झौता गरेको थियो । पन्ध्र मिटर लामो उक्त मोटरेबल पक्की पुलको लागि दुवैपट्टि पिलर ठड्याइए पनि लामो समयदेखि ठेकेदार सम्पर्क बिहिन बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

यता, मेवाखोला र भालुखोलामा निर्माण गरिने मोटरेबल पक्की पुलको ठेक्का लागेको लामो समय बितिसके पनि अहिलेसम्म निर्माणको काम शुरु भएको छैन । पक्की पुल अभावमा खोलामाथि बगर बिच्छ्याएर यातायात सञ्चालन गर्दै आइएको उक्त सडकखण्ड अवरुद्ध भएको समयमा पटक–पटक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जेसिबी प्रयोग गरेर अवरुद्ध सडक खुलाउने गरिएको छ ।

ठेकेदारको लापरबाहीले पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्न तथा यातायात सञ्चालनमासमेत समस्या भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाध्यक्ष माधव राईले बताउनुभयो । “पुल निर्माण नहुँदा वडा नं.–६ नेर्पा, वडा नंं. ८ दोर्पाचिउरीडाँडा र वडा नंं. ९ निर्मलीडाँडा तथा छिमेकी जिल्ला भोजपुरका स्थानीय बासिन्दा मर्कामा परेका छन्”, उहाँले भन्नुभयो, “पक्की पुल अभावमा विद्यार्थीहरु जोखिम मोलेर खोला तर्न बाध्य छन् । कुनै दिन दुःखद घटना हुन सक्छ । यसप्रति सम्बन्धित निकायले बेलैमा चासो दिन जरुरी छ ।”

पक्की पुल नहुँदा पटक–पटक अवरुद्ध हुँदै आएको दिक्तेल–चखेवाभञ्ज्याङ सडक नियमित सञ्चालनमा ल्याउन शुक्रबार नगर प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको टोली अनुगमनमा पुगेको थियो । प्राविधिकसहित अनुगमनमा छेपेखोला पुगेको टोलीले पटक–पटक अवरुद्ध हुँदै आएको सडकलाई तत्काल बाह्रै महिना सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

दिक्तेल–चखेवा सडकखण्डमा पर्ने खोलाहरुमा चाँडोभन्दा चाँडो पक्की पुल निर्माण सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गरिएको नगर प्रमुख भट्टराईले बताउनुभयो । “पुल निर्माणमा भएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित ठेकेदार कम्पनी र सडक बिभागसँग निरन्तर सम्पर्क भइरहेको छ । ठेकेदार कम्पनीले हिउँद् लागेपछि निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ । यदि तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न नगरे कानूनी कारबाही गर्छौँ ।”

छिमेकी जिल्ला भोजपुरसँग जोडिएको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोला लगायतमा भने यसअघि नै पक्की पुल तयार भइसकेको छ । बाँकी चारवटा खोलाहरुमा पक्की पुल नबनेसम्म वर्षाद्को समयमा नियमित यातायात सञ्चालन हुने अवस्था छैन ।

पाँच खण्डमा विभाजन गरेर वि.सं. २०७२ चैतबाट दिक्तेल–चखेवाभञ्ज्याङ सडकको विभिन्न खण्डमा कालोपत्र गर्न थालिएको थियो । सेखुवा–दिक्तेल ३६ किलोमिटरमा रमन–गोल्डेन गुड जेभी र चखेवाभञ्ज्याङ–सेखुवा दश किलोमिटर सडकखण्ड भरत–मैनाचुली–सिद्धिसाई जेभीले कालोपत्रको जिम्मा लिएको थियो ।

चखेवाभञ्ज्याङदेखि सेखुवासम्मको दश किलोमिटर तथा पुल निर्माण गर्न बाँकी ठाउँको सडक कालोपत्र भएको छैन । चखेवाभञ्ज्याङदेखि सेखुवासम्म कालोपत्रका लागि सडक फराकिलो पार्ने तथा नाली र पर्खाल लगाउने काम सम्पन्न भए पनि चिसो मौषमका कारण कालोपत्र गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार