उम्मेदवारीमा दोहोरिएकी दलित महिला सदस्य गंगा : नाम जस्तै काम

भिम राई
खोटाङ, २५ आईतबार । सानो परिवार सँधैको मेलापात र घरको शुसेधन्दा यो भन्दा केही गर्न सक्ने न अवसर थियो ? न कुनै चेतना ? विद्यालयमा गएर अध्ययन गर्ने अवसरपनि कम थियो । यसै त दलित परिवारमा जन्मेका त्यसमाथी गरिबिको उस्तै चटारो । यस्तै दुःख झ्याउलो खेप्दै कक्षा– ५ सम्म मरितरि पढ्न पुगेकी गंगा विक २०७४ सालको स्थानीय निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १३ नुनथलाको दलित महिला सदस्य बन्न पुगिन् । उमेरले ३३ बर्ष पुगेकी गंगा यसै नगरपालिकाको वडा नम्बर – १५ वियखर्कमा जन्मेकी हुन् । घरको आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मेकी उनले कलिलै उमेरमा विवाह गरेर नुनथला आएकी थिईन् ।

माईतिमा रहँदै राजनीति चेतनाको विजारोपण भएको बताउने उनलाई समाजमा हुने गरेको विभिन्न किसिमका विभेदबारे सुन्दा अचम्म लाग्ने गरेको उनको अनुभव रहेको छ । उनी माईतिमै हुँदा जातिय छुवाछुत, महिलामाथीको हिँसा जस्ता कुराले उनलाई पोल्ने गरेको थियो । मुलुकमा राजनीतिक परिवर्तन भएपनि समाजमा रहेको सामाजिक विभेदको अन्त्य नभएको देखेपछि उनलाई आफ्नो वर्ग र समुदायका लागि केही न केही गर्नै पर्छ भन्ने प¥यो । यस्तै सोच र चिन्तनमा रहँदै गर्दा परिवारले उनको विवाह गरेर नुनथला पठाईदिए ।

शुरुमा त उनी नया ठाउँमा यी सबै कुरा खुलेर राख्न सक्ने वातावरण बनेन् । पछि विस्तारै उनलाई यी सबै खाले विभेदको अन्त्यगर्न राजनीतिक व्यवस्था नै परिवर्तन गर्नुपर्ने रहेछ भन्ने लाग्न थाल्यो । उनलाई पहिले पहिले राजनीतिक कुरा केही थाहा नपाएपनि विस्तारै राजनीतिक कार्यक्रमहरुमा सहभागि हुने र कुरा सुन्ने बानी प¥यो । आफुले विद्यालयको औपचारिक रुपमा राम्रो शिक्षा लिन नसकेपनि राजनीतिले नया शिक्षा र उर्जापनि दियो । गंगा भन्छिन्, ‘राजनीतिले मलाई विस्तारै समाज चिनायो ।’

यसरी राजनीति कार्यक्रमहरुमा सहभागि हुन गालेपछि २०७४ सालमा गण्तन्त्र स्थापना पछिको पहिलो स्थानीय निर्वाचनमा उनलाई तत्कालिन नेकपा माओवादी केन्द्रले वडामा दलित महिला सदस्यको उम्मेद्वार बनायो । उनी अरु पुरुष तथा महिला उम्मेद्वारहरुसँगै भोट माग्न जनताको घरदैलोमा पुगिन् । समाजलाई कसरी अगाडि बढाउने । आफु र आफ्नो समुदायले सदियौँ देखि भोग्दै आएको विभेदको कसरी अन्त गर्न सकिन्छ भन्ने विषयमा बहस र छलफलमा सहभागी हुन थालिन् । यसै शिलसिलामा उनलाई वडाभरीका मतदाताहरुले विस्वास गरे । उनि दलित महिला सदस्यमा निर्वाचित भईन् ।

राजनीतिक हिसाबले नगरको कार्यपालिका सदस्यमा निर्वाचित भएपछि अझ उत्साहित र खुशी भएपनि आफुहरुलाई थप चुनौती थपिएको उनलाई लागेको थियो । यसैपनि आफुले रोजेको राजनीति दलले सुम्पिएको जिम्मेवारी एकातिर थियो, अर्कोतिर ‘आफुले लिएको औपचारिक शिक्षाको प्रमाण पत्र नभएको एउटी दलित महिला थिएँ म’ उनले विगतलाई सुनाईन् । तर एकलै जितेको नभई आफ्नो विचार समुहको सबैले जितेपछि उनलाई थप उर्जा भने रहेकै थियो ।

स्थानीय तहको पहिलो निर्वाचित पदाधिकारीको समुहमा काम गर्न नीति निर्माण र विकास निर्माणको काम एकसाथ गर्न पक्कैपनि आफुहरुसँग अनुभव भने कमै थियो । तर अनुभव कम भएपनि काम गर्न सिक्ने जाँगर र राजनीति प्रतिको बुझाईको कारण गाउँको टोल टोलमा पुगेर समिति निर्माण गर्ने तथा विकास निर्माणको काममा सहजीकरण गर्न उनलाई हिम्मत बढेर आयो । गंगा आफैले कतिपय ठाउँमा पुगेर स्थानीय विकास निर्माणको काममा उपभोक्ता समिति गठन गर्ने देखि लिएर न्यायीक कुराको छलफलमा समेत भागलिन थालिन् । यसले उनलाई सिक्ने अवसरपनि प्राप्त भयो अनुभवपनि उतिकै बटुल्न सकेको उनको भनाई रहेको छ ।

शुरुमा गाउँका एकदुई जना मान्छे भेला भएको ठाउँमा बोल्न समेत धकलाग्ने उनलाई सयौँ मानिसहरुको भिडमा गएर बोल्नपनि सहज लाग्न थालेको थियो । तर कतिपय व्यवस्थापीय कुरा र नेतृत्व गर्ने शैलिहरु भने सिक्न जरुरी रहेको उनले महशुस गरिन् । यसै बेला दलित महिला केन्द्र नेपालले खोटाङमा एउटा कार्यक्रम ल्यायो । महिलाहरुको क्षमता विकास गर्ने उद्येश्य सहित आएको दलित महिला केन्द्र नेपालले खोटाङमा ल्याएको कार्यक्रम अन्र्तगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकापनि कार्यक्षेत्रमा परेपछि उनले महिला नेतृत्वको सवालमा तालिमहरु लिन पाईन् । यसले उनको झन आत्मविस्वास बढेर गयो । उनले पटक पटक भएका तालिमहरुबाट अझै महिला शसक्त भएर राजनीतिमा सहभागी हुनुपर्ने रहेछ भन्ने बुझिन् । राजनीतिमा सहभागी नभई समाजको दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्न भन्ने बुझाईमा पुगेपछि राजनीति संगठनमा पनि उतिकै लगनशिल भएर काममा जुटेको उनको भनाई रहेको छ ।

‘गाउँ, टोल, सभा, बैठक र छलफल भन्दा भन्दै पाँच बर्ष वितेको पत्तै पाईएनछ’ उनले कार्यकाल सकिन लाग्दा यस्तो अनुभुति गरेको सुनाउँदै अब फेरी एक पटक जनताको सेवामा आफुलाई समर्पित गरौँ गरौँ लागि रहेको आफ्नो राजनीति दलमा कुरा राखिन् । खुलेर आफ्नो विचार राखेपछि गँगालाई फेरी दलले पार्टीको टिकट दियो । उनलाई हुनसम्म खुशी लागेको बताउँछिन् ।

‘मेरो पार्टीले मलाई विस्वास गरेर गाउँका सबै इष्टमित्रले माया गरेर फेरी एक पटक जनताको सेवा गर्नेगरी चुनावी मैदानमा पठाएका छन् । हेरौँ यसपटक पनि मलाई मेरो नुनथलाको आम जनताले विस्वास गर्ने छन् र विजयी बनाउने छन् ।’ उनलाई आफु फेरीपनि निर्वाचित हुनेकुरमा विस्वस्त देखिन्छन् । निर्वाचित भईसकेकपछि के गर्ने भन्नेबारे आगामी योजना समेत निर्माण गरिसकेकी गँगाले भन्छिन्, ‘सबै भन्दा पहिले त समाजमा रहेको विविध किसिमका विभेदहरुको अन्त्य गर्नु पर्दछ । यसका लागी जनचेतना मुलुक कार्यक्रम संचालन गर्ने योजना छ । गएको पाँचबर्ष धेरथोर सिकाईकै क्रममा विताईयो । अब हामीलाई सिक्ने कुनै अवसर छैन । अब काम गर्ने हो । त्यसैले भौतिक पूर्वाधारको विकास सँगै सबैभन्दा बढी सामाजिक विकासमा मेरो ध्यान जानेछ ।’ उनले आफ्नो वर्ग र समुदायलाई राज्यले आरक्षण दिएर नेतृत्व गर्ने अवसर दिलाएको भएपनि अझै माथी कार्यकारी भुमिकामा पुग्न केही समय लाग्ने बताउँछिन् ।

मुलु्कामा देखिएको जातीय, क्षेत्रिय, लिङगीय विभेदहरुको अन्त्य नै आजको मुख्य समस्या रहेकाले समाजलाई समृद्ध बनाउनका लागि विभेदहरुको अन्त्य गर्ने अभियानमा सबै जुट्नलाई आग्रह समेत गरेकी छन् । गंगा जस्तै सफा, सरल र सुन्दर समाज निर्माण गर्न आफ्नो नाम जस्तै काम गर्न आफुले समाजको अगुवाईका लागि अगाडि बढेको समेत सुनाउ भ्याईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार