किकोस
बुधबार, २१ बैसाख । आचारसंहिता उलंघन गर्दै वितरण गर्न लागिएको पाइप र पाल तरुणदल र वाईसियल कब्जामा लिएर प्रहरीलाई बुझाएका छन् । निर्वाचन आचारसंहिता बिपरीत खोटाङमा वितरण गर्न लागिएको विभिन्न समानहरु प्रहरीलाई बुझाईएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार र मंगलबार दुईस्थानबाट आचारसंहिता विपरित वितरण गर्न लागिएको सामग्री प्रहरीलाई बुझाइएको वाईसियल जिल्ला इन्चार्ज मिलन राईले जानकारी दिए । मंगलबार बेलुकी नगरपालिकाको वडा नंम्बर ९ निर्मलीडाँडा तर्फ वितरणका लागि लाँदै गरेको सामग्रीहरु स्थानीय यूवाहरुले नगरपालिकाको ८ दोर्पा बानाचुङमा रोकेका थिए ।
रातको समयमा अगाडि पछाडि फरक फरक नम्बर प्लेट रहेको ट्याक्टरमा निर्मलीडाँडा तर्फ लाँदै गरेको ४० थान प्लास्टिक सिलपोलिन युवाहरुले कब्जा गरेका हुन् । निर्वाचन परिणामलाई प्रभावित पार्न आचारसंहिता विपरित समान लैजाँदै गरेको जानकारी पाएपछि नेपाली कांग्रेस निकट नेपाल तरुणदल र नेकपा माओवादी केन्द्र निकट युवासंघ वाईसियल नेपालका युवाहरुले समान कब्जामा लिएर प्रहरीलाई खबर गरेका थिए ।
अमुक राजनीतिदलका निर्देशनमा उक्त सामग्रीहरु वितरणका लागि लैजाँदै गर्दा युवाहरुले जानकारी पाउनसाथ फलो गरेका उनिहरुले मंगलबार राती ११.०० बजे जिल्ला प्रहरी कार्यालयमा समान बुझाउँदै मुचुल्का गराउन प्रहरीलाई अनुरोध गरेका थिए । तर जिल्ला प्रहरी कार्यालयले रातको समय मुचुल्का गर्न नमानेपछि बुधबार बिहान सबैको उपस्थितीमा हेर्ने गरी युवाहरु फिर्ता भएका थिए । तर बुधबार पनि मुचुल्काका लागी खबर नआएको तरुणदलका जिल्ला अध्यक्ष भिषण राईले जानकारी दिएका छन् । उक्त गाडीमा केही थान जस्ता पाता, चाउ चाउँ, चामल तथा वियरका कार्टुनहरु समेत रहेको प्रहरी श्रोतले जनाएको छ ।
मंगलबार राती गाडी चालकसँग समानहरुको कुनै विल तथा भर्पाई नरहेको चालकले बताएका छन् । नम्बर समेत अगाडि र पछाडि फरक फरक रहेको ट्याक्टरले ढुवानी गरेको समानको विल बुधबार प्रहरीलाई बुझाईएको जनाइएको छ ।
बुधबार बिहान प्राप्त ४० थान प्लास्टिक सिलपोलिनको विल भने दिक्तेल स्थित खोटाङ जनरल अडर एण्ड सप्लायर्सको नाममा काटिएको छ । विल मध्ये निर्मली डाँडाको तारा थापाको नाममा ७ थान, मिलन ढकालको नाममा ३ थान, सविन विकको नाममा ४ थान, सुरेन्द्र राईको नाममा ३ थान, केशव बस्नेतको नाममा ३ थान, सुविन्द्र राईको नाममा ४ थान, रहन राईको नाममा २ थान र नाम नलेखिएको विलमा ७ थान गरि जम्मा ४० थान सिलपोलिनको विल रहेको छ । खोटाङ जनरल अडर सप्लायर्सका प्रोपाईटर मुकेश्वर पाण्डेले भने आफुले सो सामान नदिएको र विल समेत नक्कली रहेको बताए । उनले आफु विरुद्ध कसैले षडयन्त्र गरेर नक्कली विल दिएको बताए । खोटाङ जनरल अडर सप्लायर्सको ३० देखि ३९ सम्मको पान विलमा पान नम्बर भने कोरिएको छ । यस्तै २० हजार रुपैयाभन्दा माथिको विल भ्याट विल हुनु पर्नेमा २७ हजार रुपैयाको सामग्रीमा समेत साधरण विल वितरण गरिएको छ ।
एमालेका उम्मेद्वारको मातहतमा ट्याक्टर सामान लिएर गाउँ पसेको गठबन्धनका उम्मेद्वारहरुले आरोप लगाएका छन् । सामान बोकेर निर्मलीडाँडा पुगेको ट्याक्टरको नम्बर प्लेट समेत दुई वटा रहेको पाइएको छ । ट्क्याक्टरको इन्जीनमा को २ त ९३५४ नम्बर रहेको भने पिछाडी प्र २–०३–००१ त ४६६२ नम्बर रहेको छ ।
यसैगरी सोमबार बेलुकी पनि खाल्लेमा नेकपा एमालेकाकै उम्मेद्वारहरुको मातहतमा खानेपानीको पाइप बितरण गर्न भन्दै वडा सचिव पवन श्रेष्ठले १२ क्वाइल पायप लाँदै गर्दा त्यहाँका स्थानीयले कब्जामा लिएका थिए । पाईप कब्जा गरेर प्रहरीलाई खबर गरेपछि खानिडाँडा प्रहरी चौकीले पाइप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।