कविता : किताबहरु

                   ✍️असल चरित्र
कुनै एक कालखण्डमा
पढेका किताबहरु सम्झन्छु
जुन किताबहरुमा पढेको थिएँ
क,ख,ग,घ, र ए,बि,सि,डि
सिकेको थिएँ साना तिना जोडघटाउहरु
केही गणितीय गुणन,भागा र सरलहरु
समयको एक कालखण्डमा
पढेका किताबहरु सम्झन्छु
जतिबेला पढेको थिएँ
आहुतीको नयाँ घर देखि
मार्क्सको पुजी -१ ,२ ,३ सम्म
भ्लाई लेनिनका संकलित रचनाहरुदेखी
माओका दुर्लभ रचनाहरुसम्म
स्टालिनको बायोग्राफी देखि
बिश्वविजेता अलेक्जेन्डर रोस्किन
अनि नेपोलियन बोनापार्टको
भयङ्कर विजयी युद्धकथाहरुसम्म
र,जसैबेला पढेको थिएँ
स्टेफिन हकिन्सको
‘अ ब्रीफ हिस्ट्री अफ टाइम’
जहाँ पृथ्वी हैन
ब्रम्हाण्डको बैज्ञानिक इतिहास थिए।
जीवनका कुनै कालखण्डमा
पढेका किताबहरु सम्झन्छु
जतिबेला पढेको थिएँ
अहिंसाका प्रणेता हिंसाका सिकार
गान्धीको जीबनी
पढेको थिएँ श्रीमदभागवत् गीता
महर्षी व्यासजीको महाभारत
र,
केही ठेली कुरान,बाइबल र त्रीपिटक पनि
अनि थोरै पढेको थिएँ
आफ्नै देशको मुलुकी ऐन
र, राज्यका नितिहरु
तर, किन सन्तुष्ट छैन म
ती कुनै स्कुले किताबहरु बाट?
किन अटाउन सकिन आफुलाई
मार्क्सका ती मोटा मोटा किताबहरुमा
किन आशा पलाउदैन
लेनिन,माओका दुर्लभ रचनाहरुमाथी ?
फगत
घोषणापत्र,आन्दोलनको इतिहास
र, युद्धका कथाहरू बाहेक
नित्तान्त पृथक पाउनै सकिन केही
स्टालिनको जीवनी
ट्राटस्किको सिद्धान्त उदेश्य
बोनापार्ट र रोस्किनका बायोग्राफिहरुमा
त्यसैले विश्वस्त छैन म
हकिन्सको ब्रम्हाण्डको बैज्ञानिक इतिहासबाट
गान्धीको हिंसाविरोधी यात्राबाट
बन्धित हुनै सकिनँ
कुनै मनुस्मृती,गीता,बाइबल
कुरान र त्रिपिटकका किताबका ठेलिहरुमा
वर्तमान समयमा
पढ्न चाहेको किताब सम्झन्छु
जसको पाण्डुलिपि
मुद्रणका निम्ति छापाखानामै छ
त्यही पाण्डुलिपिमा थियो
मेरो पहिचान र अस्तित्वको इतिहास
त्यसैमा लेखिएको थियो
सुम्निमा र पारुहाङको सुमधुर प्रेमकथा
तयामा खियामाको दुर्लभ सस्मरण
खोक्चिलिप्पाको दुखलाग्दो र
साहसिक आत्मपरक जीवनी पनि
अझ त्यही पाण्डुलिपिमा थियो
दैनिक जीवनको कखरादेखि
मृत्युसम्मका सांस्कृतिक नियम उपनियमहरु
त्यसैको अन्त्यमा
टिपिएका थिए साकेला सिलिहरु
खिपिएको थियो बचेका वेदहरु
छिपिएको थियो फेला परेका मुन्दुमहरु
आफ्नो अस्तित्व आफै भुलेर
वर्तमान पढ्न चाहेको किताब सम्झन्छु
जहाँ
कल्पनाका किताबहरुमा
स्वप्निल संघिय संरचना र
स्वायत्तता अक्षरका एजेन्डाहरु
अक्सर सुस्तरी पल्टन्छन्
फरर..फररर।।
                     साँझा बस्ती , खोटाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार