फुसको छाना हटाउने कार्यक्रममा आलटाल, वडाको अन्य योजना समेत अपारदर्शी

बाकाचोल

माघ १३, खोटाङ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा सरकारले संचालनमा ल्याएको फुसको छाना हटाएर जस्तापाताको छाना लगाउने कार्यक्रममा आलटाल भई रहेको दावि गरिएको छ । नेकपा एमाले वडा कमिटि बाकाचोलले त्यस वडामा फुसको छाना हटाउने कार्यक्रममा मनपरी भएको दावी गरेको हो ।

नेपाल सरकारको निति तथा कार्यक्रम अनुसार सूचीकरणमा परेका ४१ लाभग्राहीमध्ये अधिकांशलाई रकम निकासा दिननै आलटाल भइरहेको एमाले वडा कमिटि विज्ञप्ती मार्फत जनाएको छ । एमाले वडा कमिटिका अध्यक्ष नन्दकुमार तामाङले बुधबार विज्ञाप्ती जारी गर्दै सूचीकरणमा परेका लाभग्राहीलाई ओझेलमा पारेर निकासा दिन विभिन्न बाहनावाजी गरिएको तर जस्ताको छाना हालिसकेका केही घरलाई रकम निकासा दिइसकेको दावी गरेका छन् ।

‘फुसको छाना हटाउ’ अभियानको सूचीकरणमा नपरेका घरलाई जस्ताको छाना हाल्नकालागि रकम दिएको खुलासा भएको भन्दै एमाले वडा कमिटिले सो बारेमा छानविन गरी वास्तविक लाग्राहीलाई तत्काल जस्तापाता उपलव्ध गराउन ध्यानाकर्षण गराएको छ ।

यस्तै, तीन वर्षअघि बगाले–सिरुडाँडा–पारा सडक निर्माणका लागि १० लाख बजेट छुट्याइएको भएपनि उपभोक्ता समितिका अध्यक्ष रमेश राई र वडाध्यक्ष सन्तबीर तामाङले ७÷८ लाखको काम गरेर बाँकी रकमको काम हालसम्म नगरेको एमाले वडा कमिटिका अध्यक्ष तामाङले बताए । बाँकी रकमको काम गर्न÷गराउन पालिकामा कबुलियतनामा गरे पनि सो अनुसार काम नगरिएको भन्दै विज्ञाप्तीमा ध्यानाकर्षण गराइएको छ ।

एमाले वडा कमिटिले अर्थमन्त्रालयको गत २५ कात्तिक र ऐसेलुखर्क गाउँपालिकाको २० पुसको पत्र अनुसार वडाका विपन्न परिवारलाई समावेसी र समान किसिमले कोभिड राहत वितरण गर्न माग गरेको छ । अर्थमन्त्रालय र गाउँपालिकाको पत्र अनुसार हालसम्म वडाबासीलाई सूचना नदिइ कोभिड राहत वितरणमा आलटाल भइरहेको एमालेको आरोप छ ।

यस्तै, बादेल–बिस्काम जोड्ने सडक जोड्नका लागि आर्थिक वर्ष २०७७÷०७८ मा संघीय संसद विकास कोषबाट १० लाख विनियोजन गरिए पनि वडाध्यक्ष तामाङले सिफारिस नदिँदा सो काम हुन नसकेको उल्लेख गर्दै एमाले वडा कमिटिले सो सडकलाई चालु आर्थिक वर्षभित्रै जोड्नका लागि विचार–विमर्श गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार