चाैथाे अंग
खोटाङ, ३० असार । खाेटाङकाे बुवालुङ र निर्मली जाेड्ने मोटरेवल पुल समयमा नबन्दा सर्वसाधरणलाई सास्ती थपिएको छ । पूर्वपश्चिम जोडने मध्यपहाडी लोकमार्गमा पर्ने पंखुखोला पुल ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले बेवास्ताका कारण नबन्दा सास्ती भएकाे हाे ।
साँढे ५ बर्ष अगाडि सम्झौता गरेको पुल हाल अलपत्र परेकाे छ । बर्षायामको मौसममा यातायातको साधन वारपार गराउन सक्नु त परको कुरा मानिसलाई आवत जावत गर्न समेत समस्या रहेको छ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ८ बुवालुङमा पर्ने पंखुखोलाको मोटरेवल पुल बनाउन साँढे पाँच वर्षअगाडि सम्झौता भएको हो । खोटाङको दिक्तेलदेखी भोजपुर सम्म जानका लागि प्रमुख तथा छोटो दुरीको सडकमा पर्ने पुल नबन्दा यात्रुहरुले आवतजावत गर्न जोखिम मोल्नु परेको छ ।
बर्षायाममा भल बाढि तर्न नसकेर स्थानीय विद्यार्थीहरु विद्यालय सम्म पुग्न नसक्ने पिडा रहेको त्यहाँका अविभाबकहरु बताउँछन् । स्थानीय अभिभावक रुपक बुडाथोकीका अनुसार खोलामा पुल निर्माण नभएपछि बर्षा याममा बिरामीहरुलाई अस्पताल जानसमेत कठिनाई हुने गरेको छ । वडा स्वास्थ्य प्रमुख समेत रहेका रुपक बुढाथोकिले गतवर्ष स्थानीय एक सुत्केरी महिलालाई खोला तार्न नसक्दा आपत परेको बताए । उनले भने, ‘ गएको बर्ष खोलापारी एकजना महिलालाई सुत्केरी बेथाले समस्या पारेको खबर आयो । अस्पताल ल्याउन भनेको तर खोला तार्न नसकेर घरमै फर्काउनु पर्यो ।’
सरकारले राखेको राष्ट्रिय गौरवको आयोजना मध्येको एक पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत सडक बिभाग कार्यालय धुलिखेलको २ करोड २९ लाख ३८ हजारको लागतमा १५ मिटरको मोटररेवल पुल बनाउने योजना रहेको छ । ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले २०७३ साल असारमा निर्माण कार्य सक्नेगरी २०७२ साल असोज सात गत्ते ठेक्का सम्झौता गरेको थियो । सुरुको सम्झौता अबधिभित्र ठकेदारले पुल निर्माण कार्य सम्पन्न गर्न नसकेपछि पटक पटक म्याद थप गरेपनि काम हुन सकेको छैन । अन्तिम पटक थप गरिएको म्याद २०७७ साल असोज ३० गते सम्मको रहेको थियो ।
पंखुखोला पुल निर्माणका लागि ठेकेदार कम्पनिले ९१ लाख ३८ हजार रकम भुक्तानी लिइसकेको विभागले जनाएको छ ।
स्थानीय युवा नेता दिलचक्र राईका अनुसार हालसम्म पुलको भौतिक प्रगति करिव ४० प्रतिशत मात्र सम्पन्न भएको छ । उनले दुईदुई पटक म्याद थप गर्दा पनि पुलको फाउन्डेसन र सब-इस्ट्रक्चरका केहि प्रतिशत मात्र काम भएको बताए ।
पुल अलपत्र छाडेर सम्पर्कविहिन भएको ठेकेदार कम्पनीलाई सडक विभागले खोजीगरी कारबाहीको प्रकृयामा लगिने चेतावनी दिएपछि कम्पनीले पुल निर्माणलाई निरन्तरता दिने प्रतिवद्धता गरेको थिए । केही समय अगाडि ठेकेदार कम्पनीका प्रतिनिधिलाई सम्पर्क गरेर प्रतिबद्धता गराएपनि थप प्रगति हुन नसकेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलीखेलका इन्जिनियर विश्व विजयलाल श्रेष्ठले जानकारी दिएका छन् । ठेकेदार कम्पनिलाई आयोजनाले बारम्बार ताकेता गरेपनि कम्पनिले बेवास्था गरेको इन्जिनियर श्रेष्ठको भनाई रहेको छ ।
यता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि निर्माण कम्पनिलाई बारम्बार ताकेता गर्दै आएको नगर उपप्रमुख विणादेवि राईले बताईन् । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङ भोजपुर सडक खण्डमा अधिकांस स्थानमा आबश्यक संरचना निर्माण हुन बाँकी रहेको छ । यो सडक खण्ड हिँउदभर यातायात जबरजस्त सञ्चालन भएपनि बर्षाको समयमा जोखिम मोलेर यात्रा गर्न स्थानीय वासिन्दाहरु बाध्य भएका छन् ।
पंखुखाेलामा मोटरेवल पुल नबन्दा सर्वसाधरणलाई सास्ती
पंखुखाेला