सहकारी सङ्घ खोटाङ अध्यक्ष जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु

सहकारी सङ्घ

चौथोअंग
खोटाङ, १६ वैशाख । जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष तथा युवा व्यवसायी अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सहकारीको काम लिएर पोखरा पुगेका जोशीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि त्यहिको आम्दा अस्पतालमा आईसोलेसनमा राखिएको थियो ।

विराटनगरबाट गत चैत–२९ गते पोखरा पुगेका जोशीमा यहि वैशाख–५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख–६ गते अस्पताल भर्ना गरिएको थियो । मृतक जोशीको शव पोखरास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले आज (बिहीबार) नै व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ ।

चैत–२५ दिक्तेलबाट विराटनगर हुँदै पोखरा पुग्नुभएका जोशीमा विराटनगर हुँदा सामान्य रुघाखोकीको सङ्क्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार रुघाखोकीले च्याप्दै गएपछि पोखरामा स्वाब परीक्षण गर्दा जोशीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सहकारी अभियान्ता समेत रहेका अध्यक्ष जोशीे ४४ वर्षको उमेरमै कोरोना सङ्क्रमणबाट निधन भएपछि परिवार शोकमा डुबेको छ । दुई श्रीमती र एक छोराका बुबा अनिल लामो समयदेखि सहकारी संस्थामै क्रियाशील थिए ।

पोखरस्थित प्राइम सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका जोशी खोटाङमा सञ्चालित लालुपाते सहकारी संस्थाका अध्यक्ष एवम् सञ्चालक थिए । सरल स्वभाव तथा कुशल नेतृत्व गर्न सक्ने क्षमता भएका सहभारी अभियान्ता अध्यक्ष जोशीको कोरोना सङ्क्रमणबाट निधन भएपछि सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिनेहरुको संख्या बढेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका बुबा हरि जोशी तथा आमा रमा जोशीका तीन छोरामध्ये अनिल जेठा छोरा हुन् । दिक्तेल बजारका स्थानीय बासिन्दाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाइएको छ ।

यसैबीच, कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्ला विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको आकस्मिक बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्ने त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार यहि वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवम् तीर्थयात्रीको भीडले एक अर्कामा सङ्क्रमण फैलने खतरा बढेकाले १५ दिन हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको डिसिसिएमसिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । संयोजक शर्माका अनुसार कोभिड(१९ कै महामारी रोकथाम तथा न्यूनीकरण गर्न वि.सं. २०७७ चैत ८ गतेदेखि २०७७ साल मङ्सिर १६ गतेसम्म बन्द गरिएको हलेसी मन्दिर बुधबारदेखि पुनः वैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो ।
यसैगरी, राजधानी काठमाडौँ लगायत शहरबाट जिल्ला भित्रिने दर बढेसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्षित गर्दै ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । देशभर कोभिड–१९ को सङ्क्रमण फैलिन थालेसँगै गृह जिल्ला फर्कनेक्रम बढेपछि जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेको हो ।
कोभिड–१९ का सक्रिय सङ्क्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि आइसोलेसन सेन्टर निर्माण गरिएको नगरपप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र पाँच जना महिला सङ्क्रमित राखेर उपचार गराउन मिल्ने गरी बिनाअक्सिजनको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार